दुइ निर्जीवन बीमा कम्पनी एकिकरण भइ सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको नाममा कारोबार शुरू भएको छ ।‘विश्वासको सम्बन्ध, एकताको प्रतिक’ भन्ने नारासँगै सलिको ब्राण्डमा कम्पनीले गतिविध गर्ने भएको छ।
२०५३ साल देखि सञ्चालनमा आएको सगरमाथा इन्स्योरेन्स र २०६२ सालदेखि निर्जीवन बीमा सेवा दिँदै आएको लुम्बिनी जनरल एक आपसमा मर्ज भएका हुन् । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको नामबाट फागुन २९ गतेदेखि औपचारिक रुपमा एकीकृत कारोबार शुरु गरेका हुन् ।
सबल पुँजी, प्रयाप्त शाखा सञ्जाल, दक्ष जनशक्ति भएको एक उत्कृष्ट निर्जीवन बीमा कम्पनीको रुपमा स्थापित गर्ने उद्देश्य भएको कम्पनीको मर्जरसँगै चुक्ता पुँजी २ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ ।
बीमा प्राधिकरणले पुँजी वृद्धिको लागि हकप्रद सेयर जारी गर्न नदिने भएसँगै मर्जरको लागि लुम्बिनी जनरल इन्स्योरेन्सलाई छनोट गरेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स ९साविकको सगरमाथा इन्स्योरेन्स०का सीईओ चंकी क्षेत्रीले बताए ।
‘सगरमाथा इन्स्योरेन्सको यो ऐतिहासिक क्षण हो, २७ वर्षको सगरमाथा र १८ वर्षको लुम्बिनी जनरलबीचको सहकार्यले बीमा क्षेत्रमा एउटा मार्ग बनाई विश्वसनीयताका साथ काम गर्नेछौं, हामी सहरमात्र केन्द्रित नभई गाउँमा पनि बीमाको पहुँच बढाउने छौं, नयाँ नयाँ प्रडक्टहरु बजारमा ल्याउने छौं,’ सीईओ क्षेत्रीले भने । उनले यो एउटा अवसरसँगै चुनौति रहेको बताए । हालको लागि मानव संसाधनलाई व्यवस्थापन गर्नु मुख्य चुनौति रहेको उनको भनाई छ ।