केही समयदेखि चरणवद्ध सडक आन्दोलन गर्दै आएका देशभरका उद्योगी व्यवसायीहरुले आज बालुवाटारस्थित नेपाल राष्ट्र बैंक घेराउ गरेका छन् । उद्योगी व्यवसायीहरुले अर्थतन्त्र संकटपूर्ण अवस्थामा रहेको अवस्थामा बैंकहरुले व्यवसायीहरूमाथि चर्को ब्याज लिएको, कर्जामा ठूलो परिमाणमा प्रिमियम चार्ज लगाएको र कर्जा भुक्तानीको समय समेत नदिएले सडक संर्घषमा उत्रिएको जनाएका छन्।
प्रधानमन्त्रीले चासो देखाएर बैंकको ब्याजदर एकल अंकमा ल्याउन पहल तत्काल गर्नुपर्ने व्यवसायीको भनाई छ । ब्याजदर कायम गर्ने विषयमा नीतिगत स्थायीत्व आवश्यक रहेको भन्दै उनीहरुले अर्थतन्त्र संकटमा रहेकाले व्यवसायीहरुले चैत महिनामा पनि ब्याजदर र किस्ता तिर्न सक्ने अवस्था नभएको जनाए । एक वर्षदेखि व्यवसायीहरू बैंकको ज्यादतीबिरुद्ध आन्दोलनमा रहेपनि राष्ट्र बैंकले कुनै सुनुवाइ नगरेपछि बाध्य भएर केन्द्रिय बैंक घेर्न बाध्य भएको व्यवसायीहरुले बताए ।
आन्दोलनमा नेपाल उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्स, उद्योग परिसंघ लगायतका केन्द्रिय महासंघहरूसँग आवद्ध भएका वस्तुगत संघहरु आन्दोलनमा सहभागिता रहेको छ । आन्दोलनमा व्यवसायीहरुले बैंकिङ आतंक बन्द गर,ब्याजदरमा स्थिरता कायम गर,चालु पुँजीकर्जा मार्ग निर्दशन स्थगन गर,ब्याजदर हामीलाई चर्को भो,गरिखान गाह्रो भयो,उच्च सेवा शुल्क बन्द गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर बिरोध जनाएका छन् ।