नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ, नेफ्स्कुनको आयोजनामा साकोस व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी हालै सम्पन्न भएको छ । काठमाण्डौ २ दिनसम्म चलेको गोष्ठीमा देशभरबाट ४०० भन्दा बढी व्यवस्थापन प्रमुखहरुको सहभागिता रहेको थियो । गोष्ठीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयविज्ञहरुद्वारा विभिन्न कार्यपत्र प्रस्तुत भएको थियो । गोष्ठीमा सहभागि व्यवस्थापकहरुसँग सिकाइ कस्तो रह्यो र सिकेका कुरालाई कार्यान्वयन गर्ने सम्भावना के छ भन्ने विषयमा उहाँहरु गरिएको कुराकानीः
सहकारीको छवि निर्माणमा टेवा पुर्याउँछ
पुष्कर बस्नेत, सिइओ, किसान कल्याण साकोस, इटहरी
अहिले सहकारी क्षेत्रमा नकारात्मक कुराहरु बढी प्रचार भइराखेका छन् । असल अभ्यास गर्ने र राम्रो काम गर्ने सहकारी पनि नभएका होइनन् । तर तिनको प्रचार गर्नुभन्दा पनि नकारात्मक कुराहरु बढी आइरहेको सन्दर्भमा राष्ट्रिय स्तरको वर्कसप आयोजना भएको छ । वर्कसपमा अन्तर्राष्ट्रिय क्षेत्रका प्रतिनिधिहरुको समेतले हामीलाइ ज्ञान दिनुभएको छ । यसले सहकारीको सकारात्मक सन्देश लैजान्छ भन्ने मेरो विश्वास छ । जतिपनि कार्यकारी प्रमुखहरु वर्कसपमा सहभागी हुनुभयो यहाँबाट नयाँ उर्जा लिनुभएको छ । नयाँ सिकाइ प्राप्त भएकाले सहकारी अभियानलाई एउटा उचाईमा लैजान्छ नै ।
एउटा सहकारकिो व्यवस्थापन राम्रो हुनु र नहुनुमा ९० प्रतिशत भूमिका सिइओको हुन्छ । ४५० जना सिइओहरु भेला भएर वर्कसपमा धेरै कुरा सिकेका छौं र यो वर्कसपले सहकारी अभियानलाई निकै माथि पु¥याउँछ भन्ने मैले आशा गरेको छु । हामी सदस्यमुखी भएर कारोबार गर्दै आएका छौं । सदस्यलाई कसरी सहकारीबारे बुझाउन सकिन्छ भनेर हामीले कार्यक्रम बनाएका छौं । यो गोष्ठीले साकोसको छवि निर्माण गर्ने, सदस्यमाझ पुग्ने र नाफालाई भन्दा पनि सदस्यको जीवनस्तर उकास्न र उनीहरुको व्यवसाय प्रवद्र्धनमा सहकारीले खेल्नुपर्ने भूमिकाका विषयमा छलफल भयो छ । सिकेको कुरा कार्यान्वयन गर्न सके धेरै नै टेवा पुग्छ । जति पनि विषयवस्तु प्रस्तुत भए, समसामयिक विषयहरु नै आएका छन् । उठ्नुपर्ने विषय नै गोष्ठीमा उठे । एक दुई दिनको समय बढाएर थप विषयवस्तुमा छलफल गर्न पाएको भए राम्रो हुन्थ्यो होला भन्ने लाग्छ । जेजति विषयमा छलफल भएको छ यो आफैंमा सराहनिय छ । कुनै रोग लागे पछि खर्च हुन्छ भनेर उपचार नगर्ने भन्दा पनि न्यून शुल्कमा राम्रो उपचार गर्नेतर्फ लाग्नुपर्छ । अहिले सहकारीहरु के कारणले विरामी भइराखेका छन् भन्ने कुरा पत्ता लगाउन जरुरी छ । अन्य क्षेत्रबाट नकारात्मक ढंगले आक्रमण भइराखेको छ । यो सन्दर्भमा भएको वर्कसपले सहकारी क्षेत्रको सकारात्मक सन्देश दिएर सहकारीलाई बचाउने काम गरेको छ ।
वर्कसपबाट जुन उपलब्धी हामीले हासिल गरेका छौं, त्यसको तुलनामा यो लागत त्यति ठूलो होइन । सबैको सहभागिताले गर्दा वर्कशप सफल भएको छ । यसले आर्थिक रुपमा संस्थालाइ ठूलो असर पार्छ जस्तो मलाई लाग्दैन । यो वर्कसपले धेरै कुरा सिकाएको छ र धेरै उपलब्धी ल्याउन सहयोग पुर्याउँछ भन्ने मेरो विश्वास छ ।
डाटालाई कसरी सुरक्षित गर्ने विषय हुनुपर्थ्याे
प्रमिला न्यौपाने, व्यवस्थापक, अष्टसिद्धि साकोस, धापासी,
नेफ्स्कुनले आयोजना गरेको गोष्ठीमा पहिलोपटक सहभागी भएकी हुँ । मैले धेरै आशा बोकेर गोष्ठीमा आएको थिएँ र धेरै कुरा पाएको पनि छु । धेरै संस्थाका सीइओेहरुसँग चिनजान भयो । नयाँ कुरा सिक्ने मौका मिल्यो छ । मलाई महिला व्यवस्थापकहरु कति नै छौं होला र भन्ने मनमा लागिरहन्थ्यो । तर मैले यहाँ थुप्रै महिला व्यवस्थापकहरु भेट्न पाएँ । सिद्धिगणेश साकोसकी व्यवस्थापक म्याडमको प्रस्तुतिले अत्यन्त खुसी भएँ । भोलिका दिनमा त्यसले हामीलाई हौसला नै दिन्छ । अग्रज सिइओहरुको कुरा सुन्दा र उहाँहरुले गरेको प्रगति देख्दा छुट्टै इनर्जी प्राप्त भएको छ । अझै अग्रसर भएर लाग्न र उहाँहरुबाट नजानेका कुरा सिकेर अगाडि बढ्न हौसला मिलेको छ ।
गोष्ठीमा सहभागि हुँदा एकदुइवटा कुरा नपुगेको मलाई महशुस भएको छ । हामी व्यवस्थापकहरुलाई संस्थामा काम गर्दा सञ्चालकहरुबाट एक प्रकारको दवाव हुन्छ । के कस्ता खालका दवाव आउँछन्, त्यो कुरा सहभागिहरुबाट सुन्न चाहेको थिएँ । त्यो कुरा आएन । सुशासनमा रहन हामीले के गर्नुपर्छ, संस्थालाई राम्रो बनाउन के गर्ने भन्नेबारे सबैबाट आयो । तर सहकारीमा भएका जल्दाबल्दा समस्याहरुबारे कुरा नआएको हो कि भन्ने भान मलाई भएको छ । सहकारी विभागले हामीलाई कति संस्था छन् भनेर सोध्ने भन्दा पनि उसले कति संस्था छन् भनेर वास्तविक तथ्यांक हामीलाई दिनसक्नुपर्छ जस्तो मलाई लाग्छ । अर्को कुरा प्रविधिको थियो । प्रविधिमा जानु पर्छ भनियो, तर हामीले प्रयोग गरिराखेको डाटालाई कसरी सुरक्षित गर्ने, डाटा बैंक कस्तो छ ? आइक्लाउडमा कतिवटा संस्था आवद्ध भएका छन् ? र आइक्लाउड कत्तिको सुरक्षित छ ? भन्ने विषयमा छलफल भएको भए राम्रो हुन्थ्यो । भुकम्प आउँदा हाम्रो संस्था बसेको घर जोखिममा पर्यो, मैले पहिलो काम कम्प्युटरको सीपीयु झिकेर घर लगेँ । किनकि कम्प्युटरमा सबै डाटा थियो र अरु लिन मसँग समय थिएन । आजभोलि म्यानुअल हटिसकेको छ । डाटालाई कसरी सुरक्षित गर्ने भन्ने विषयमा एउटा कक्षा भएका भए राम्रो हुन्थ्यो । समग्रमा गोष्ठी राम्रो भयो । धेरै सिइओहरुको अनुभव सुनियो । सदस्यलाई खुसी पानुपर्छ र उहाँहरु खुसी नभएसम्म हामीले जतिसुकै मेहनत गरे पनि सफल हुन सक्दैनौं । सदस्यले सहयोग गरे भने राम्रो ब्यालेन्स सिट बनाउन सक्छौं ।
हाम्रो संस्था समुदायमा आधारित छ । यो वित्तीय संकटले पनि हामीलाई असर पुगेको छैन । सदस्यको सपोर्ट सहकारीमा छ । सहकारीको मेरुदण्ड भनेको व्यवस्थापकहरु नै हुन् । सञ्चालकहरुसँग भेट नै हुँदैन । हामी व्यवस्थापकलाई भेट्न सदस्य आउने हो । म संस्थामा कहिलेपनि ढोका बन्द गरेर बस्दिन । जुनसुकै सदस्यले पनि मलाई भेट्न आउन सक्नुहुन्छ । र मलाई भेट्न कुर्नु र समय लिनु पर्दैन । त्यसले गर्दा सदस्यहरु खुसी छन् ।
दक्षता अभिवृद्धि गर्न सहयोग पुग्छ
विश्वराम कार्की, व्यवस्थापक, प्राकृतिक साकोस, चापागाउँ
यो कार्यशाला गोष्ठी समग्रमा उपलब्धमिूलक नै रह्यो भन्नुपर्छ । विषयवस्तुमा अन्तक्र्रिया गर्न भने त्यति मौका मिलेन । सबैजनालाई अन्तक्रिर्या गर्न मन लाग्छ, नजानेको कुरा सोध्ने इच्छा हुन्छ । त्यसको लागि प्ल्याटफर्म त दिइयो तर समय पुगेन । आवासीय तालिम थियो भने समय व्यवस्थापान गर्न आयोजकलाई सजिलो हुन्थ्यो होला । अहिलेको चरम आर्थिक संकट र तरलता अभावले संस्थाहरु शिथिल भएका छन् । अहिले लगानी गर्न संस्थाहरुसँग लगानीयोग्य पुँजीको अभाव छ । लगानीमा रहेको रकम सोचे अनुरुप उठ्न सकिरहेको छैन । तरलता व्यवस्थापन एकदम जटिल बनेको छ । सहकारी संस्थाहरुलाई कसरी टिकाइराख्ने र संस्थाहरु रहलान् कि नरहलान् भन्ने चिन्ता अहिले छ । यस विषयमा राज्यको ध्यान जान जरुरी छ । नियामक निकाय मुकदर्शक भएर बसको जस्तो देखिन्छ ।
बैंकहरुमा तरलता अभाव हुँदा राष्ट्र बैंकले रिपोमार्फत बजारमा पैसा पठाउँछ । त्यसैगरी बैंकहरुमा अधिक तरलता रह्यो भने बैंकहरुले राष्ट्र बैंकमा पठाउन सक्छन् । तर सहकारीका लागि त्यो सुविधा छैन । अर्थतन्त्रका ३ मध्ये एक खम्बाको रुपमा सहकारीलाई लिएपनि हामी अर्कै आमाबुवाको सन्तानको रुपमा व्यवहार गरिएको जस्तो लाग्छ । दुई दिनको कार्यशाला गोष्ठी विषयविज्ञ सरम्याडमहरुले कार्यपत्र प्रस्तुत गर्नुभयो र नयाँ कुरा सिक्ने अवसर हामीले प्राप्त गर्यौं । सिकेका कुरा आफ्नो संस्थामा लगेर लागु गर्न सकियो भने पक्कै पनि संस्थालाई अर्को उचाइमा पुर्याउन सकिन्छ । आफुले सिकेका कुरा संस्थाका अन्य २०–२५ जनालाई सिकाउन सकियो भने पनि त्यो प्रभावकारी हुनेछ । यस्ता गोष्ठी तथा तालिम कार्यक्रम गर्न आवश्यक छन् । यस्ता कार्यक्रममार्फत दक्ष जनशक्ति उत्पादन गरे अगाडि बढ्न सकेको खण्डमा संस्थाहरुको विकासमा महत्वपूर्ण टेवा पुग्छ ।
नयाँनयाँ विचार र सोचहरु थाहा पाइयो
महेशकुमार श्रेष्ठ, अध्यक्ष, नवचौतर्फी साकोस, जोरपाटी
७७ जिल्लाका सिइओसँग भेटघाट गर्ने अवसर जुटेको छ । साकोसहरुमा आएका नयाँ विषयवस्तु, बजारमा आएका समस्या र तिनको समाधानका बारेमा केहि भएपनि सिक्न पाइयो । सहकारी किन समस्यामा पर्छन् र समस्यामा पर्न नदिन कस्ता टुल्सहरु अपनाउनुपर्ने रहेछ भन्ने विषयमा पनि जान्न पाइयो । अहिले बचतको सीमा २५ लाख तोक्ने कुरा आएको छ । यो विषय पनि गोष्ठीमा उठान भएको छ । त्यसको विरोध भएको छ । संशोधनका लागि गोष्ठीले दवाव दिएको छ ।
यस्ता गोष्ठीमा आउँदा नयाँनयाँ विचार र सोचहरुका बारेमा सुन्ने मौका मिल्छ । यसले काम गर्ने वातावरणमा परिवर्तन ल्याउँछ । अहिले सबै कुरा डिजिटलतर्फ गएको छ । दुर्गम भेगमा रहेका सहकारीहरुलाई डिजिटलमा लैजान तत्काल सम्भव नभएकाले उनीहरुलाई सञ्चालनमा गाह्रो हुनसक्छ । शहरी क्षेत्रमा त सबै सुविधा छ । तर यहाँ सदस्यताको डुब्लिकेशन धेरै भएकाले त्यसलाई पनि हटाउनपर्छ । कर्जा सूचना केन्द्र स्थापनाको विषय पनि जोडदार रुपमा उठेको छ । यसलाई कार्यान्वयनमा ल्याउन थप दवाव दिनुपर्छ । म २०४८ सालदेखि सहकारी आन्दोलनमा छु । यस्ता वर्कसपहरु हुुनपर्छ तर साना सहकारीका लागि लागत महँगो भयो । सोल्टी होटलको साटो अन्यत्र गरेको भए अन्य धेरैजना सहभागि हुन पाउँथे । यो नेफ्स्कुनले बुझ्नुपर्ने कुरा हो ।
सिकाइका साथै यस्ता गोष्ठीले रिफ्रेसमेन्ट दिन्छ
रमिता महर्जन, व्यवस्थापक, थेचो महिला जागरण साकोस
प्रविधिलाई आत्मसात गरेर सहकारी संस्था सञ्चालन गर्नुपर्ने कुरा आएको छ । हामी समुदायमा आधारित संस्था हौं । तर धेरैजना सदस्य राम्रोसँग मोबाइल चलाउन पनि जान्नुहुन्न । उहाँहरुलाई प्रविधिमैत्री सेवा दिन हामीले निकै संघर्ष गर्नुपर्ने हुन्छ । प्रविधिलाई जोड्नु राम्रो कुरा हो अहिले बजारमा पैसा हराएको कुरा उठेको छ । हामीले पनि त्यो विषयमा बुझ्ने मौका पायौं । यो सेसन राम्रो लाग्यो । संस्थामा तरलता व्यवस्थापन कसरी गर्ने भन्ने कुरा पनि सिक्ने मौका मिल्यो । व्यवस्थापकले कसरी कर्मचारीलाई आफुसँगै लैजाने र संस्थाको उद्देश्य प्राप्ति गर्ने भन्ने कुरा सिक्न पाइयो ।
दुई दिनको कार्यक्रममा उत्कृष्ट संस्थाका सिइओहरुले आफ्नो अनुभव हामीहरुबीच बाँड्नुभयो । अर्थतन्त्रका बारेमा बहस भयो । राष्ट्रबैंक, सरकारी निकायका प्रतिनिधि एवं राजनीतिज्ञहरुले अहिलेको अवस्थाका बारेमा परिचर्चा गर्नुभयो । त्यहाँबाट पनि धेरै कुरा जान्न सकियो । समयसमयमा यस्ता वर्कसपहरु हुनुपर्छ । यसले रिफ्रेसमेन्ट पनि हुन्छ । एकैनास संस्थामा काम गर्दा माइन्ड डल भएको हुन्छ । कति कुरा अपडेट नै हुँदैन । यस्तो कार्यक्रमबाट नयाँ विषयवस्तुहरु थाहा पाइन्छ । सिकेका कुरा लागु गर्ने सम्भावना धेरै हुन्छ । व्यवस्थापकले संस्थाका धेरै कुराको जिम्मेवारी लिएर बसेको हुन्छ । कर्मचारी र तरलता व्यवस्थापन, प्रविधिमा कसरी अगाडि बढ्ने जस्ता उपयोगी विषयमा यहाँबाट सिकियो ।
विषयवस्तु राम्रा तर छलफलका लागि समय अपर्याप्त भयो
सूर्य थिङ, व्यवस्थापक, निश्चित साकोस भारदेउ, ललितपुर
नेफ्स्कुनले आयोजना गरेको २ दिने वर्कसप धेरै प्रभावकारी भएको छ । जति पनि विषयमा रहेर कार्यपत्र प्रस्तुत भएका छन्, त्यसबाट हामीले धेरै कुरा सिक्न पाएका छौं । सहकारी संस्थामा भएका समस्याहरुका बारेमा लक्षित गरेर कुराहरु सेयरिङ गर्न र सिक्न पायौं । तर समय अभावका कारण अन्तक्र्रिया गर्न भने पाइएन ।
धेरै टपिकमा छलफल भएको छ । हामीले त्यसबाट पूरा सिक्न भन्दा पनि चाखेको जस्तो मात्र अनुभव मैले गरेँ । मानव संशाधन, फाइनान्स र टेक्नोलोजीका बारेमा छोटोछोटो कुरा गरियो । एउटै टपिकमा वृहत रुपमा छलफल गर्न र लामो समय दिन पाएको भए धेरै कुरा सिक्न सकिन्थ्यो । अहिले तरलताको अभाव सहकारीमा छ । यस्तो बेलामा वर्कसपमा सहभागी हुँदा संस्थाको लागत बढेको छ । पाँचतारे होटलमा वर्कसप गर्नुभन्दा धेरै सहकारीलाई समेटेर सस्तो मुल्यमा गरेको भए अझ प्रभावकारी हुन्थ्यो जस्तो मलाई लाग्छ ।