बुधबार, भाद्र ३ गते २०८३

सीइओ वर्कसपले दियो ताजगीः सहभागी

फाल्गुण २९, २०७९ सोमबार
सीइओ वर्कसपले दियो ताजगीः सहभागी

नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ, नेफ्स्कुनको आयोजनामा साकोस व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी हालै सम्पन्न भएको छ । काठमाण्डौ २ दिनसम्म चलेको गोष्ठीमा देशभरबाट ४०० भन्दा बढी व्यवस्थापन प्रमुखहरुको सहभागिता रहेको थियो । गोष्ठीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयविज्ञहरुद्वारा विभिन्न कार्यपत्र प्रस्तुत भएको थियो । गोष्ठीमा सहभागि व्यवस्थापकहरुसँग सिकाइ कस्तो रह्यो र सिकेका कुरालाई कार्यान्वयन गर्ने सम्भावना के छ भन्ने विषयमा उहाँहरु गरिएको कुराकानीः 


सहकारीको छवि निर्माणमा टेवा पुर्‍याउँछ

पुष्कर बस्नेत, सिइओ, किसान कल्याण साकोस, इटहरी

अहिले सहकारी क्षेत्रमा नकारात्मक कुराहरु बढी प्रचार भइराखेका छन् । असल अभ्यास गर्ने र राम्रो काम गर्ने सहकारी पनि नभएका होइनन् । तर तिनको प्रचार गर्नुभन्दा पनि नकारात्मक कुराहरु बढी आइरहेको सन्दर्भमा राष्ट्रिय स्तरको वर्कसप आयोजना भएको छ । वर्कसपमा अन्तर्राष्ट्रिय क्षेत्रका प्रतिनिधिहरुको समेतले हामीलाइ ज्ञान दिनुभएको छ । यसले सहकारीको सकारात्मक सन्देश लैजान्छ भन्ने मेरो विश्वास छ । जतिपनि कार्यकारी प्रमुखहरु वर्कसपमा सहभागी हुनुभयो यहाँबाट नयाँ उर्जा लिनुभएको छ । नयाँ सिकाइ प्राप्त भएकाले सहकारी अभियानलाई एउटा उचाईमा लैजान्छ नै ।

एउटा सहकारकिो व्यवस्थापन राम्रो हुनु र नहुनुमा ९० प्रतिशत भूमिका सिइओको हुन्छ । ४५० जना सिइओहरु भेला भएर वर्कसपमा धेरै कुरा सिकेका छौं र यो वर्कसपले सहकारी अभियानलाई निकै माथि पु¥याउँछ भन्ने मैले आशा गरेको छु । हामी सदस्यमुखी भएर कारोबार गर्दै आएका छौं । सदस्यलाई कसरी सहकारीबारे बुझाउन सकिन्छ भनेर हामीले कार्यक्रम बनाएका छौं । यो गोष्ठीले साकोसको छवि निर्माण गर्ने, सदस्यमाझ पुग्ने र नाफालाई भन्दा पनि सदस्यको जीवनस्तर उकास्न र उनीहरुको व्यवसाय प्रवद्र्धनमा सहकारीले खेल्नुपर्ने भूमिकाका विषयमा छलफल भयो छ । सिकेको कुरा कार्यान्वयन गर्न सके धेरै नै टेवा पुग्छ । जति पनि विषयवस्तु प्रस्तुत भए, समसामयिक विषयहरु नै आएका छन् । उठ्नुपर्ने विषय नै गोष्ठीमा उठे । एक दुई दिनको समय बढाएर थप विषयवस्तुमा छलफल गर्न पाएको भए राम्रो हुन्थ्यो होला भन्ने लाग्छ । जेजति विषयमा छलफल भएको छ यो आफैंमा सराहनिय छ । कुनै रोग लागे पछि खर्च हुन्छ भनेर उपचार नगर्ने भन्दा पनि न्यून शुल्कमा राम्रो उपचार गर्नेतर्फ लाग्नुपर्छ । अहिले सहकारीहरु के कारणले विरामी भइराखेका छन् भन्ने कुरा पत्ता लगाउन जरुरी छ । अन्य क्षेत्रबाट नकारात्मक ढंगले आक्रमण भइराखेको छ । यो सन्दर्भमा भएको वर्कसपले सहकारी क्षेत्रको सकारात्मक सन्देश दिएर सहकारीलाई बचाउने काम गरेको छ ।

वर्कसपबाट जुन उपलब्धी हामीले हासिल गरेका छौं, त्यसको तुलनामा यो लागत त्यति ठूलो होइन । सबैको सहभागिताले गर्दा वर्कशप सफल भएको छ । यसले आर्थिक रुपमा संस्थालाइ ठूलो असर पार्छ जस्तो मलाई लाग्दैन । यो वर्कसपले धेरै कुरा सिकाएको छ र धेरै उपलब्धी ल्याउन सहयोग पुर्‍याउँछ भन्ने मेरो विश्वास छ । 

 

डाटालाई कसरी सुरक्षित गर्ने विषय हुनुपर्थ्याे

प्रमिला न्यौपाने, व्यवस्थापक, अष्टसिद्धि साकोस, धापासी,

नेफ्स्कुनले आयोजना गरेको गोष्ठीमा पहिलोपटक सहभागी भएकी हुँ । मैले धेरै आशा बोकेर गोष्ठीमा आएको थिएँ र धेरै कुरा पाएको पनि छु । धेरै संस्थाका सीइओेहरुसँग चिनजान भयो । नयाँ कुरा सिक्ने मौका मिल्यो छ । मलाई महिला व्यवस्थापकहरु कति नै छौं होला र भन्ने मनमा लागिरहन्थ्यो । तर मैले यहाँ थुप्रै महिला व्यवस्थापकहरु भेट्न पाएँ । सिद्धिगणेश साकोसकी व्यवस्थापक म्याडमको प्रस्तुतिले अत्यन्त खुसी भएँ । भोलिका दिनमा त्यसले हामीलाई हौसला नै दिन्छ । अग्रज सिइओहरुको कुरा सुन्दा र उहाँहरुले गरेको प्रगति देख्दा छुट्टै इनर्जी प्राप्त भएको छ । अझै अग्रसर भएर लाग्न र उहाँहरुबाट नजानेका कुरा सिकेर अगाडि बढ्न हौसला मिलेको छ ।

गोष्ठीमा सहभागि हुँदा एकदुइवटा कुरा नपुगेको मलाई महशुस भएको छ । हामी व्यवस्थापकहरुलाई संस्थामा काम गर्दा सञ्चालकहरुबाट एक प्रकारको दवाव हुन्छ । के कस्ता खालका दवाव आउँछन्, त्यो कुरा सहभागिहरुबाट सुन्न चाहेको थिएँ । त्यो कुरा आएन । सुशासनमा रहन हामीले के गर्नुपर्छ, संस्थालाई राम्रो बनाउन के गर्ने भन्नेबारे सबैबाट आयो । तर सहकारीमा भएका जल्दाबल्दा समस्याहरुबारे कुरा नआएको हो कि भन्ने भान मलाई भएको छ । सहकारी विभागले हामीलाई कति संस्था छन् भनेर सोध्ने भन्दा पनि उसले कति संस्था छन् भनेर वास्तविक तथ्यांक हामीलाई दिनसक्नुपर्छ जस्तो मलाई लाग्छ । अर्को कुरा प्रविधिको थियो । प्रविधिमा जानु पर्छ भनियो, तर हामीले प्रयोग गरिराखेको डाटालाई कसरी सुरक्षित गर्ने, डाटा बैंक कस्तो छ ? आइक्लाउडमा कतिवटा संस्था आवद्ध भएका छन् ? र आइक्लाउड कत्तिको सुरक्षित छ ? भन्ने विषयमा  छलफल भएको भए राम्रो हुन्थ्यो । भुकम्प आउँदा हाम्रो संस्था बसेको घर जोखिममा पर्‍यो, मैले पहिलो काम कम्प्युटरको सीपीयु झिकेर घर लगेँ । किनकि कम्प्युटरमा सबै डाटा थियो र अरु लिन मसँग समय थिएन । आजभोलि म्यानुअल हटिसकेको छ । डाटालाई कसरी सुरक्षित गर्ने भन्ने विषयमा एउटा कक्षा भएका भए राम्रो हुन्थ्यो । समग्रमा गोष्ठी राम्रो भयो । धेरै सिइओहरुको अनुभव सुनियो । सदस्यलाई खुसी पानुपर्छ र उहाँहरु खुसी नभएसम्म हामीले जतिसुकै मेहनत गरे पनि सफल हुन सक्दैनौं । सदस्यले सहयोग गरे भने राम्रो ब्यालेन्स सिट बनाउन सक्छौं ।

हाम्रो संस्था समुदायमा आधारित छ । यो वित्तीय संकटले पनि हामीलाई असर पुगेको छैन । सदस्यको सपोर्ट सहकारीमा छ । सहकारीको मेरुदण्ड भनेको व्यवस्थापकहरु नै हुन् । सञ्चालकहरुसँग भेट नै हुँदैन । हामी व्यवस्थापकलाई भेट्न सदस्य आउने हो । म संस्थामा कहिलेपनि ढोका बन्द गरेर बस्दिन । जुनसुकै सदस्यले पनि मलाई भेट्न आउन सक्नुहुन्छ । र मलाई भेट्न कुर्नु र समय लिनु पर्दैन । त्यसले गर्दा सदस्यहरु खुसी छन् । 

 

दक्षता अभिवृद्धि गर्न सहयोग पुग्छ

विश्वराम कार्की, व्यवस्थापक, प्राकृतिक साकोस, चापागाउँ

यो कार्यशाला गोष्ठी समग्रमा उपलब्धमिूलक नै रह्यो भन्नुपर्छ । विषयवस्तुमा अन्तक्र्रिया गर्न भने त्यति मौका मिलेन । सबैजनालाई अन्तक्रिर्या गर्न मन लाग्छ, नजानेको कुरा सोध्ने इच्छा हुन्छ । त्यसको लागि प्ल्याटफर्म त दिइयो तर समय पुगेन । आवासीय तालिम थियो भने समय व्यवस्थापान गर्न आयोजकलाई सजिलो हुन्थ्यो होला । अहिलेको चरम आर्थिक संकट र तरलता अभावले संस्थाहरु शिथिल भएका छन् । अहिले लगानी गर्न संस्थाहरुसँग लगानीयोग्य पुँजीको अभाव छ । लगानीमा रहेको रकम सोचे अनुरुप उठ्न सकिरहेको छैन । तरलता व्यवस्थापन एकदम जटिल बनेको छ । सहकारी संस्थाहरुलाई कसरी टिकाइराख्ने र संस्थाहरु रहलान् कि नरहलान् भन्ने चिन्ता अहिले छ । यस विषयमा राज्यको ध्यान जान जरुरी छ । नियामक निकाय मुकदर्शक भएर बसको जस्तो देखिन्छ ।

बैंकहरुमा तरलता अभाव हुँदा राष्ट्र बैंकले रिपोमार्फत बजारमा पैसा पठाउँछ । त्यसैगरी बैंकहरुमा अधिक तरलता रह्यो भने बैंकहरुले राष्ट्र बैंकमा पठाउन सक्छन् । तर सहकारीका लागि त्यो सुविधा छैन । अर्थतन्त्रका ३ मध्ये एक खम्बाको रुपमा सहकारीलाई लिएपनि हामी अर्कै आमाबुवाको सन्तानको रुपमा व्यवहार गरिएको जस्तो लाग्छ । दुई दिनको कार्यशाला गोष्ठी विषयविज्ञ सरम्याडमहरुले कार्यपत्र प्रस्तुत गर्नुभयो र नयाँ कुरा सिक्ने अवसर हामीले प्राप्त गर्यौं । सिकेका कुरा आफ्नो संस्थामा लगेर लागु गर्न सकियो भने पक्कै पनि संस्थालाई अर्को उचाइमा पुर्‍याउन सकिन्छ । आफुले सिकेका कुरा संस्थाका अन्य २०–२५ जनालाई सिकाउन सकियो भने पनि त्यो प्रभावकारी हुनेछ । यस्ता गोष्ठी तथा तालिम कार्यक्रम  गर्न आवश्यक छन् । यस्ता कार्यक्रममार्फत दक्ष जनशक्ति उत्पादन गरे अगाडि बढ्न सकेको खण्डमा संस्थाहरुको विकासमा महत्वपूर्ण टेवा पुग्छ । 

 

नयाँनयाँ विचार र सोचहरु थाहा पाइयो

महेशकुमार श्रेष्ठ, अध्यक्ष, नवचौतर्फी साकोस, जोरपाटी

७७ जिल्लाका सिइओसँग भेटघाट गर्ने अवसर जुटेको छ । साकोसहरुमा आएका नयाँ विषयवस्तु, बजारमा आएका समस्या र तिनको समाधानका बारेमा केहि भएपनि सिक्न पाइयो । सहकारी किन समस्यामा पर्छन् र समस्यामा पर्न नदिन कस्ता टुल्सहरु अपनाउनुपर्ने रहेछ भन्ने विषयमा पनि जान्न पाइयो । अहिले बचतको सीमा २५ लाख तोक्ने कुरा आएको छ । यो विषय पनि गोष्ठीमा उठान भएको छ । त्यसको विरोध भएको छ । संशोधनका लागि गोष्ठीले दवाव दिएको छ ।

यस्ता गोष्ठीमा आउँदा नयाँनयाँ विचार र सोचहरुका बारेमा सुन्ने मौका मिल्छ । यसले काम गर्ने वातावरणमा परिवर्तन ल्याउँछ । अहिले सबै कुरा डिजिटलतर्फ गएको छ । दुर्गम भेगमा रहेका सहकारीहरुलाई डिजिटलमा लैजान तत्काल सम्भव नभएकाले उनीहरुलाई सञ्चालनमा गाह्रो हुनसक्छ । शहरी क्षेत्रमा त सबै सुविधा छ । तर यहाँ सदस्यताको डुब्लिकेशन धेरै भएकाले त्यसलाई पनि हटाउनपर्छ । कर्जा सूचना केन्द्र स्थापनाको विषय पनि जोडदार रुपमा उठेको छ । यसलाई कार्यान्वयनमा ल्याउन थप दवाव दिनुपर्छ । म २०४८ सालदेखि सहकारी आन्दोलनमा छु । यस्ता वर्कसपहरु हुुनपर्छ तर साना सहकारीका लागि लागत महँगो भयो । सोल्टी होटलको साटो अन्यत्र गरेको भए अन्य धेरैजना सहभागि हुन पाउँथे । यो नेफ्स्कुनले बुझ्नुपर्ने कुरा हो । 

 

सिकाइका साथै यस्ता गोष्ठीले रिफ्रेसमेन्ट दिन्छ

रमिता महर्जन, व्यवस्थापक, थेचो महिला जागरण साकोस

प्रविधिलाई आत्मसात गरेर सहकारी संस्था सञ्चालन गर्नुपर्ने कुरा आएको छ । हामी समुदायमा आधारित संस्था हौं । तर धेरैजना सदस्य राम्रोसँग मोबाइल चलाउन पनि जान्नुहुन्न । उहाँहरुलाई प्रविधिमैत्री सेवा दिन हामीले निकै संघर्ष गर्नुपर्ने हुन्छ । प्रविधिलाई जोड्नु राम्रो कुरा हो अहिले बजारमा पैसा हराएको कुरा उठेको छ । हामीले पनि त्यो विषयमा बुझ्ने मौका पायौं । यो सेसन राम्रो लाग्यो । संस्थामा तरलता व्यवस्थापन कसरी गर्ने भन्ने कुरा पनि सिक्ने मौका मिल्यो । व्यवस्थापकले कसरी कर्मचारीलाई आफुसँगै लैजाने र संस्थाको उद्देश्य प्राप्ति गर्ने भन्ने कुरा सिक्न पाइयो ।

दुई दिनको कार्यक्रममा उत्कृष्ट संस्थाका सिइओहरुले आफ्नो अनुभव हामीहरुबीच बाँड्नुभयो । अर्थतन्त्रका बारेमा बहस भयो । राष्ट्रबैंक, सरकारी निकायका प्रतिनिधि एवं राजनीतिज्ञहरुले अहिलेको अवस्थाका बारेमा परिचर्चा गर्नुभयो । त्यहाँबाट पनि धेरै कुरा जान्न सकियो । समयसमयमा यस्ता वर्कसपहरु हुनुपर्छ । यसले रिफ्रेसमेन्ट पनि हुन्छ । एकैनास संस्थामा काम गर्दा माइन्ड डल भएको हुन्छ । कति कुरा अपडेट नै हुँदैन । यस्तो कार्यक्रमबाट नयाँ विषयवस्तुहरु थाहा पाइन्छ । सिकेका कुरा लागु गर्ने सम्भावना धेरै हुन्छ । व्यवस्थापकले संस्थाका धेरै कुराको जिम्मेवारी लिएर बसेको हुन्छ । कर्मचारी र तरलता व्यवस्थापन, प्रविधिमा कसरी अगाडि बढ्ने जस्ता उपयोगी विषयमा यहाँबाट सिकियो । 

 

विषयवस्तु राम्रा तर छलफलका लागि समय अपर्याप्त भयो

सूर्य थिङ, व्यवस्थापक, निश्चित साकोस भारदेउ, ललितपुर

नेफ्स्कुनले आयोजना गरेको २ दिने वर्कसप धेरै प्रभावकारी भएको छ । जति पनि विषयमा रहेर कार्यपत्र प्रस्तुत भएका छन्, त्यसबाट हामीले धेरै कुरा सिक्न पाएका छौं । सहकारी संस्थामा भएका समस्याहरुका बारेमा लक्षित गरेर कुराहरु सेयरिङ गर्न र सिक्न पायौं । तर  समय अभावका कारण अन्तक्र्रिया गर्न भने पाइएन ।

धेरै टपिकमा छलफल भएको छ । हामीले त्यसबाट पूरा सिक्न भन्दा पनि चाखेको जस्तो मात्र अनुभव मैले गरेँ । मानव संशाधन, फाइनान्स र टेक्नोलोजीका बारेमा छोटोछोटो कुरा गरियो । एउटै टपिकमा वृहत रुपमा छलफल गर्न र लामो समय दिन पाएको भए धेरै कुरा सिक्न सकिन्थ्यो । अहिले तरलताको अभाव सहकारीमा छ । यस्तो बेलामा वर्कसपमा सहभागी हुँदा संस्थाको लागत बढेको छ । पाँचतारे होटलमा वर्कसप गर्नुभन्दा धेरै सहकारीलाई समेटेर सस्तो मुल्यमा गरेको भए अझ प्रभावकारी हुन्थ्यो जस्तो मलाई लाग्छ ।