शुक्रबार, कार्तिक ७ गते २०८३

गणतन्त्र

फाल्गुण २८, २०७९ आइतबार
गणतन्त्र
IN Subedi.jpg
इन्द्रनारायण सुबेदी
(इन्द्रवज्रा)
बेची युवाको पसिना असुल्छ
डुब्दै त्यसैमा गणतन्त्र खुल्छ
रित्तो बनायो घर खेतबारी
देखाउने दाँत छ क्रातिकारी ।१।
 
दायित्व बोक्ने दरकार छैन
आफ्नो बुताको सरकार छैन
देखिन्छ निर्वाचन ढोँग खालि
छानेर लाने भतिजा र साली ।२।
 
छोड्दैन कुर्सी बरु मर्नसक्छ
जे भन्छ साहु त्यति गर्नसक्छ
छन् नग्नताका नमुना चरित्र
स्वार्थीहरूका गणतन्त्र भित्र।३।
 
हेर्दैन भोका जनता मरेको
चेली बलात्कार हुने गरेको
कुत्ता भुकेझैंँ गणतन्त्र भुक्छ
मारेर निर्धा गणतन्त्र लुक्छ । ४।
 
तिर्छन् फिरौती उपहार ढोयो
वाराङ्गनाको गणतन्त्र हो यो
सर्दैन बित्ता पछि सर्छ गाडी
हाँक्नेहरू छन् ननिका अनाडी ।५।
 
छन् प्रश्नका खात अखण्डतामा
स्वाधीनता मूल्य र मान्यतामा
फोहोरका डङ्गुर छन् विचित्र
के पाक्छ खोटो गणतन्त्र भित्र ।६।
( लेखन अभ्यास प्रतिभा निकुञ्ज)