दक्षिण कोरियाले यही फेब्रुअरीबाट मासिक रुपमा दुई हजार युवालाई कोरिया पठाउने तयारी गर्न नेपाललाई पत्र पठाएको छ । रोजगार अनुमति प्रणाली (ईपिएस) अन्तर्गत हुने परीक्षा पद्धतिमा सुधार र श्रमिक पठाउने विषयमा छिटोछरितो काम गरेका कारण कोरियाले नेपालबाट प्रतिमहिना दुई हजार श्रमिक लैजाने भएको हो ।
यो वर्षदेखि कोरियाले १६ देशलाई निश्चित कोटा नछुट्याई छिटो श्रमिक आपूर्ति गर्ने मुलुकबाट धेरै श्रमिक लैजाने नीति लिएको छ । यही नीतिअनुसार नेपालबाट पनि धेरै श्रमिक लैजान लागेको हो ।
ईपीएस कोरिया शाखाका अनुसार विगतमा उत्पादनमूलक क्षेत्रमा काम गर्न झन्डै १२ हजार श्रमिक सूचीकृत भएका छन्। त्यस्तै कृषि तथा पशुपालन तर्फ पालो पर्खेर बसेका र पछिल्लो परीक्षा उत्तीर्ण भएर बसेकाहरूको सङ्ख्या झन्डै ३२ सय छ। पछिल्लो पटक परीक्षा उत्तीर्ण गरेकाहरूको स्वास्थ्य परीक्षण सम्पन्न गर्न भने बाँकी छ।
शाखाका अधिकारीहरूका अनुसार मार्च महिनाको तेस्रो साता कोरिया जान चाहने कामदारका लागि श्रम सम्झौता जारी हुनेछ। त्यसले धेरै नेपाली कामदारहरूका लागि कोरिया जाने ढोका खुला गरिदिने ठानिएको छ।
वैदेशिक रोजगार विभाग ईपीएस शाखाका अनुसार नेपालले छिटोछरितो श्रमिक पठाएको र परीक्षा पद्धतिमा समेत सुधार गरेका कारण यहाँबाट धेरै श्रमिक लैजान कोरिया सकारात्मक देखिएको हो ।
२०२२ मा नेपालबाट १५ हजार युवा कोरिया गएका थिए । अब कोरियाले भनेअनुसार प्रतिमहिना दुई हजारका दरले नेपाली पठाउन सके वार्षिक २४ हजार नेपाली कामका लागि कोरिया पुग्नेछन् । खाडी मुलुकहरु र मलेसियाका तुलनामा सुरक्षित र पारिश्रमिक पनि आकर्षक रहेकोले नेपाली कामदारका लागि कोरिया लोकप्रिय गन्तब्य रहँदै आएको छ ।
हाल रोष्टरमा रहेका क्षेत्रमध्ये उत्पादनमूलक क्षेत्रका १ हजार ६ सयमध्ये १ हजार २ सय युवा कोरिया जाने प्रतीक्षामा छन् । यसैगरी कृषि क्षेत्रमा ३ हजार २ जना पास भएका र उनीहरुको रोजगार आवेदन फारम खुला गर्ने तयारी भइरहेको शाखाले जनाएको छ । हाल रोष्टरमा रहेका नेपाली युवाको संख्याका आधारमा आगामी वर्ष कोरिया जाने श्रमिक परीक्षा तय गरिने छ ।
भाषा परीक्षाका लागि नेपाल र कोरियाबीचको श्रम समझदारी अनुसार ललितपुरको भैंसेपाटीमा ईपिएस भाषा परीक्षा भवन तयार भएको छ । ईपिएस अन्तर्गत कोरिया जाने नेपाली श्रमिकका लागि भाषा परीक्षा सञ्चालनका लागि यो भवन तयार गरिएको हो । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्याल र एचआरडी कोरियाका उपप्रमुख किम सङ जेले संयुक्त रुपमा भवन उद्घाटन गरेका छन् ।
संयुक्त लगानीबाट सञ्चालनमा आएको परीक्षा भवनबाट कोरिया भाषा परीक्षा उच्च प्रविधियुक्त, मर्यादित, पारदर्शि, सुरक्षित निष्पक्ष एवं विश्वसनीय हुनुका साथै दुई देशबीचको सम्बन्ध अझ सुदृढ र प्रभावकारी बन्न गई ईपिएस अन्तर्गत कोरिया जाने नेपाली श्रमिकको संख्यामा बढोत्तरी हुने उनले बताए ।