काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको इञ्जिन फेल भएपछि ‘सुरक्षित अवतरण’ गराइएको छ। उडान नं. ८२१ को जहाजको इन्जिनमा आगो देखिएपछि धादिङको थाक्रे आसपास पुगेको विमान काठमाणडौ नै फर्काइएको थियो ।
साढे सात बजे उड्नु पर्ने बिमान ९ बजेर ३८ मिनेटमा भैरहवा उडेको थियो। उडेको २० मिनेटमा एउटा इन्जिन फेल भएर आगो देखिएको थियो। इन्जिन फेल भएको जानकारी चालक दलले यात्रुहरुलाई समेत गराएका थिए। इन्जिन फेल भएको जानकारी गराएपछि यात्रुबीच हल्लीखल्ली भएको बताउँदै रुवावासी भएको एक यात्रुले बताए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार, जहाज उडेलगत्तै दाहिने पट्टिको इन्जिनमा आगो लागेको थियो। जहाज केहिबेर आकाशमा नै होल्ड गरेर त्रिभुवन विमानस्थलमा सेफ ल्याण्डिङ गरिएको हो । जहाज अवतरणका लागि अन्य उडान केहिबेर रोकिएको थियो । दमकल, एम्बुलेन्स लगायत आकस्मिक सेवा तयारी अवस्थामा राखिएको थियो । घटना पछि भने बिमानस्थलको नियमित उडान र अवतरण प्रभावित छैन।