काठमाण्डौ । देशमा संकट पछि अझ गम्भीर संकट बढ्दो छ । देश बाह्य शक्तिको अखडा बन्दोछ । सत्ताको संकीर्ण खिचातानीले निरन्तरको अस्थिरता, अन्योल, असुरक्षाका कारण मुलुकका श्रमिक महिला समेत सम्पूर्ण शोषित पीडित जनता अत्यन्तै अप्ठ्यारो अबस्थाबाट गुज्रिन बाध्य छन् । उनीहरु सही नीति र नेतृत्व बिना यो स्थितिबाट उम्किन नसक्ने प्रष्ट भएको छ । त्यसैले आज सम्पूर्ण श्रमजीबी महिला समेत मजदुर, किसान देशभकत राष्ट्रिय पूँजीपति लगायत देश र जनताको दयनीय अबस्थाकाे अन्त्य र प्रगति चाहने सबै तह र तप्काका जन समुदाय अझ सचेत, अझ संगठित र संयुक्तरुपमा संघर्षशील भएर अघि बढनुको कुनै बिकल्प छैन ।
श्रमिक महिलाहरुको ११३औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उपलक्षमा ८ मार्चका दिन अखिल नेपाल महिला यूनियनले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गदै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष लोकनारायण सुबेदीले उक्त कुरा ब्यक्त गरेका हुन् । उनले अग्रगामी परिबर्तनको प्रतिनिधित्व नगर्ने भ्रष्टाचार लगायतका गलत गतिबिधिका कारण देश र जनतामा उत्पन्न ब्यापक निराशालाई पुराना र नयाँ प्रतिगामी शक्तिहरुले भजाउन खोजेको देखिदैछ र यस स्थितिबाट पार पाउन जनतालाई बिभिन्न बहानामा बिभाजन गर्ने गलत बाटोमा धकेलिदैछ । यसका बिरुद्ध सही चिन्तन र चरित्र भएका शक्तिहरु एकजुट र संघर्षशील हुनु बाहेक अरु कुनै बाटो छैन भन्ने प्रष्ट पारे ।






कार्यक्रममा महिला समुदायका घरायसी, सामाजिक, आर्थिक र राजनीतिक बिभिन्न समस्याका बारेमा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका सचिव महेन्द्र जोशीले महिलाहरुले सही बिचार र सिद्धान्त बुझे भने उनीहरुले समाज परिबर्तनमा महत्वपूर्ण भूमिका खेल्न र शोषण उत्पीडनबाट मुक्त हुन सक्छन् भन्ने कुरा दर्शाए ।
अखिल नेपाल महिला यूनियनका संयोजक तथा नेपाल कम्युनिष्ट पार्टीका कोषाध्यक्ष सीता सुबेदीले क्रान्तिकारी बिश्व महिला नेतृहरु रोजा लग्जेम्बर्ग र क्लारा जेटकिन तथा देशको परिबर्तनमा भूमिका खेल्न सही बाटाे देखा क. पुष्पलाल र अन्य अग्रज महिला लगायतका नेताहरुबाट सिकेर अघि बढ्न सके मात्र श्रमिक महिलाहरु शोषण उत्पीडनबाट मुक्त हुने संघर्षमा अघि बढ्न सकिने कुरा औल्याइन् ।
कार्यक्रममा महिला हक हित र उनीहरुको साझा संघर्षका बारेमा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रि सदस्यद्वय देबीप्रसाद आचार्य र ज्योति गिरीले पनि प्रकाश पारेका थिए ।
नेकपाका केन्द्रिय सदस्य रोहित कोइरालाले सञ्चालन गरेको कार्यक्रममा सभाध्यक्षको आसनबाट बोल्दै महिला नेतृ कुन्ति बिष्टले राष्ट्रिय र अन्तर्राष्ट्रय स्तरमा अझै पनि सम्पूर्ण महिला र त्यसमा पनि श्रमजीबी महिलाहरुका समस्या हल हुन नसककेको र कुरा औंल्याएकी थिइन् ।


