नेपालमा सशक्त संयुक्त मोर्चा निर्माणको ऐतिहासिक आवश्यकता, अभ्यास र अनुभवका सन्दर्भमा हाम्रो आजको कार्यभार : एक सामान्य अवधारणा

नारायण शर्मा
१. संयुक्त मोर्चाको अर्थ र औचित्य : विभिन्न मित्र र दुश्मन शक्तिहरु आपसमा मिलेर आफ्नो साझा मुख्य दुश्मनविरुद्ध लडेर साझा लक्ष र एजेण्डाहरु पूरा गर्न-गराउनको लागि मूलतः राजनीतिक र फौजी संघर्षको लागि हुने एकताबद्धता नै संयुक्त मोर्चा हो । यो एकप्रकारको कार्यगत एकता पनि हो । यो तत्कालीन, मध्यकालीन वा दीर्घकालीन तीन प्रकारको हुन सक्छ । राजनीतिक शब्दावलीमा यस्लाई कार्यनीतिक, आधारभूत र रणनीतिक गरी तीन थरी मोर्चाको रुपमा राजनीतिक र फौजी संघर्ष अथवा कानुनी वा गैरकानुनी संघर्ष गर्ने सन्दर्भमा अभ्यास गर्ने गरिएको छ ! राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा यसको औचित्य र आवश्यकता देख्ने, अवधारणा ल्याउने र प्रयोग र अभ्यास पनि गर्ने काम मूलतः समाजवादी-साम्यवादी क्रान्तिकारीहरुले गर्दै आएका छन् र सो अनुसार सफलता पनि प्राप्त गरेका छन् ! ठुलो र शक्तिशाली मुख्य साझा दुश्मनलाई एक्लै-दुक्लै लडेर पराजित गर्न नसकिने भएकोले अन्य साना-ठुला सबैजसो मित्रशक्तिहरु र सबैजसो गौण दुश्मनशक्तिहरु समेतलाई समेटेर एउटै मोर्चा बनाई एउटै प्रधान दुश्मनलाई निशाना बनाएर प्रहार गर्ने अथवा प्रधान दुश्मनका विरुद्धमा विभिन्न मोर्चा बनाई लडेर सफलता प्राप्त गर्ने उद्देश्यले संयुक्त मोर्चा अझ खास गरी क्रान्तिकारी संयुक्त मोर्चाको अवधारणा आएको र अभ्यास पनि भएको हो । विश्व कम्युनिस्ट आन्दोलन र नेपालको राजनैतिक आन्दोलनको इतिहास र वर्तमानमा यसप्रकारका संयुक्त मोर्चाहरु बन्ने र लक्ष प्राप्त गर्न सफल पनि हुने गरेका छन् ।
संयुक्त मोर्चा भन्नाले केही कुराहरु स्वत: बुझिन्छ वा बुझ्नु पर्ने हुन्छ । प्रथमतः यसमा साझा लक्ष लिएका विभिन्न शक्ति-व्यक्ति, संघसंस्था र जनसमुदायहरु समावेस भएका हुन्छन् ! दोस्रो, यो साझा दुश्मन विरुद्ध लक्षित, केन्दृत र संघर्षरत हुन्छ । तेस्रो, यो तत्कालीन, मध्यकालीन वा दीर्घकालीन तीन प्रकारको हुन सक्छ ! राजनीतिक शब्दावलीमा कार्यनीतिक, आधारभूत र रणनीतिक मोर्चा भनिन्छ । चौथो, यसमा मित्रहरुबीच मात्र होइन मुख्य दुश्मन विरुद्ध गौण दुश्मनहरुसँग मिलेर जान सकिन्छ र जानुपर्छ । पाँचौं, संयुक्त मोर्चा सामान्यत: सबै प्रकारका कामकार्वाहीहरुसंग र मूलतः राजनीतिक र फौजी लडाइँसंग सम्बन्धित हुन्छ । छैटौं, यसमा नेतृत्व एकल वा सामूहिक (रोटेसन) प्रकारको हुन्छ । सातौं, यसका घटकहरु आफैमा स्वतन्त्र हुन्छन् र तिनमा बहुमतको होइन सर्वसम्मतको निर्णय लागू हुन्छ । आठौं, साझा लक्ष, विचार, बाटो, विधि, पद्धति आदि कुनैमा पनि फरक परेमा कुनै पनि घटकले कुनैपनि बेला असहमति राखेर पनि संगै जाने वा छोड्ने गर्न सक्छ । नवौं, सामान्यतया घोषित लक्ष पूरा भएमा यो स्वत: विघटन हुन्छ । दशौं, सहमति भएमा आवश्यकतानुसार यसलाई गठन, पुनर्गठन (थपघट) गर्न पनि सकिन्छ । यस प्रकारका नीति, विधि र मूल्य मान्यता अनुसार चल्ने एउटा संयुक्त संगठन नै संयुक्त मोर्चा हो ।
नेपाल र नेपाली जनता यतिखेर फेरिपनि अत्यन्तै संकटपूर्ण अवस्थाबाट गुजृरहेका छन् । यो संकट पार्ने वैदेशिक शक्तिकेन्द्रहरु मुख्यतः इन्डो-पश्चिमा वैदेशिक शक्तिकेन्द्र र तिनको दलाली गर्ने घरेलु शासक वर्ग र सत्ता नै हुन् । यी दुवै शक्तिहरु नेपाल र नेपालीका आधारभूत दुश्मन हुन् । यी अहिले आपसमा मिलेर नेपाल र नेपालीमाथि शोषण र दमनको महाचक्र चलाइरहेका छन् । त्यसैले देसी-विदेसी दुश्मन शक्तिहरु आपसमा एक भएर मोर्चाबद्ध बनेर सिङ्गो नेपाल र नेपाली जनताको स्वत्व-अस्तित्व समेत समाप्त पार्ने गरी आइरहेका छन् । यो महा संकटको बेला तिनलाई परास्त गरी नेपाल र नेपालीलाई पूर्णरुपले मुक्ति, प्रगति र समृद्धि अर्थात् स्वतन्त्रता, समानता र सुखशान्ति दिलाउन सम्पूर्ण देसभक्त, जनवादी, वामपन्थी, प्रगतिशील र क्रान्तिकारी कम्युनिस्टहरुको एउटा सशक्त संयुक्त मोर्चाको आवश्यकता टड्कारो बनिरहेको छ । यस सन्दर्भमा संयुक्त मोर्चाको सान्दर्भिकता र औचित्य स्वत: स्पष्ट छ ।
२. संयुक्त मोर्चाको सैद्धान्तिक पृष्ठभूमि :
रूसमा क्रान्ति चलिरहेको बेला लेनिनले सोभियतको रुपमा मजदुर र किसानको संयुक्त मोर्चालाई भ्रूणको स्तरबाट विकास गरी यसको प्रारम्भिक अभ्यास गर्नु भयो । यही अभ्यासलाई सैद्धान्तिकृत गर्दै सन् १९२२ मा लेनिनले संयुक्त मोर्चाको सामान्य अवधारणा तयार गर्नु भयो ! यसै अवधारणालाई परिमार्जन गरी लेनिनले कोमिन्टर्नको चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्नुभयो र पारित पनि भयो । यसरी यसले विश्वव्यापी प्रचार र मान्यता पाएको देखिन्छ । यद्यपि इतिहासमा गैरलेनिनवादी व्यक्तित्वहरुले पनि यसप्रकारको संयुक्त मोर्चाको बारेमा चर्चा गरेको नपाइने भने होइन ।
संयुक्त मोर्चाबारे सैद्धान्तिक चर्चा गर्दा दर्शनसम्बन्धी एउटा विषय अन्तर्विरोधको नियमबारे थोरै चर्चा गर्नु आवश्यक हुन्छ । अन्तर्विरोधको नियम छ कि दुई विपरीतहरु बिचमा एकता र संघर्ष हुन्छ ! तीमध्ये एकता सापेक्ष, शर्तबद्ध, अस्थायी र गौण हुन्छ भने संघर्ष निरपेक्ष, नि:शर्त, स्थायी र प्रधान हुन्छ ।
यसको अर्थ हो दुश्मन शक्तिहरु बिचमा एकता सिमित अवधि, निश्चित एजेन्डा र खास-खास स्थितिमा हुन्छ भने मित्र शक्तिहरु बिचमा दीर्घकालसम्म, समान ध्येय-उद्देश्यमा आधारित भएर सार्वकालिक रुपमा नै हुन्छ र हुनुपर्छ ।
कुनै पनि देसको जनवादी क्रान्तिकालमा परस्पर विरोधी मुख्य दुई शक्तिहरु हुन्छन् । एउटा दुश्मन शक्ति हुन्छ जसमा घरेलु प्रतिक्रियावादी र वैदेशिक प्रतिक्रियावादी शक्ति हुन्छन् भने अर्को मित्र शक्ति हुन्छ जसमा ती दुश्मनहरुबाट शोषित-पीडित देस र त्यहाँका देशभक्त र क्रान्तिकारी जनता हुन्छन् ! यी दुई शक्तिबिच अनिवार्यत: संघर्ष हुन्छ र त्यो संघर्ष एकले अर्कालाई पूर्ण रुपले पराजित गर्ने रुप र स्तरमा हुन्छ र गर्नु पर्छ । त्यसैले त्यो संघर्ष गर्दा देस र विदेसका प्रधान र गौण दुश्मन र मित्र शक्तिहरुको पहिचान गर्नुपर्छ । प्रधान दुश्मनलाई एक्ल्याएर कमजोर पार्ने अनि मित्रशक्तिहरु र गौण दुश्मन शक्तिजति सबैजसोलाई समेटेर मोर्चा बनाई मुख्य दुश्मनमाथि प्रहार केन्दृत गरी विजय पाउनुपर्छ भन्ने विचार र मान्यता अनि सोअनुसार काम र व्यवहार देस-विदेस जहाँतहीँ भैआएको इतिहास स्पष्ट नै छ ।
३.संयुक्त मोर्चाका राष्ट्रिय-अन्तर्राष्ट्रिय अभ्यासहरु :
क) परस्पर दुश्मन शक्तिहरुबिचको संयुक्त मोर्चाका अभ्यासहरु :
अ. चिनियाँ क्रान्तिमा संयुक्त मोर्चाको अभ्यास र अनुभव -
लेनिनले रुसी क्रान्तिका दौरानमा सोभियतको रुपमा मजदुर र किसानको एकतालाई संयुक्त मोर्चाको रुपमा सर्वप्रथम प्रारम्भिक विकास र अभ्यास गरेपछि त्यसको शक्ति, सफलता, प्रभावकारिता र लोकपृयतासँगै त्यो सिद्धान्तले चौथो अन्तरराष्ट्रियमा मान्यता पनि पाएको सन्दर्भमा संयुक्त मोर्चाको शक्तिलाई आत्मसात् गर्दै सन् यात्सेनले पनि आफ्नो राज्यसत्ता विरुद्ध लड्ने चिनियाँ कम्युनिस्ट पार्टीसँग समेत् संयुक्त मोर्चा बनाई लड्नुपर्ने आवश्यकतालाई महसुस गरेपछि आफ्नो नेतृत्वको कुओमिन्ताङ राष्ट्र वादी पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुबिच १९२४ मा संयुक्त मोर्चा बन्यो । तर लगत्तै सन् यात्सेनको मृत्यु हुनाले त्यसपछिको नेतृत्व च्याङ काइ सेकले कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुको हत्या-आतंक मच्चाएपछि त्यो मोर्चा १९२७ मा भङ्ग हुँदा त्यो त्यति सार्थक भएन । तथापि त्यसप्रकारको मोर्चाको टड्कारो आवश्यकता त्यतिबेला आमरुपमै महसुस भयो जतिबेला जापानी साम्राज्यवादले चीनमाथि भीषण हमलाहरु गर्दा जनता र मुलुककै अस्तित्व संकटमा परेको थियो । तर च्याङ काइ सेकले यो महसुस गरेको थिएन । जब उसका आफ्नै सेनाले उसलाई घेरेर माओसँग मिलेर जान बाध्यपारे, तबमात्र माओको नेतृत्वको चिनियाँ कम्युनिस्ट पार्टी र च्याङको नेतृत्वको कुओमिङ्ताङ पार्टी र सत्ता जस्ता परस्पर विरोधी दुई दुश्मन शक्तिहरुबिच अर्थात् सत्तापक्ष र विद्रोहीपक्ष बिच सन् १९३७ मा संयुक्त मोर्चा बन्यो । मोर्चाले आफ्नो मुख्य साझा दुश्मन जापानी साम्राज्यवाद र उसको चीनमाथिको हस्तक्षेपको सशक्त र निर्णायक रुपमा प्रतिरोध गर्न सक्यो । फलतः उसलाई परास्त गर्न सफलता प्राप्त गरेर चीन पूर्ण स्वाधीन भएपश्चात् १९४५ मा भङ्ग मोर्चा भएको थियो ।
आ) रूसी क्रान्तिमा संयुक्त मोर्चाको अभ्यास -
१९१७ को सोभियत समाजवादी क्रान्तिपछि सोभियत समाजवादी रुसलाई समाप्त पार्ने लक्षसहित हिटलर नेतृत्वको जर्मन नाजीवादको मुख्य कमाण्डिङमा इटालियन फासिवाद र जापानी साम्राज्यवादले संयुक्त रुपमा सामान्यतया विश्व कब्जा गर्ने र विशेषत: सोभियत समाजवादी रुसलाई त ध्वस्त नै गर्ने उद्देश्यले १९३९ मा द्वितीय विश्वयुद्धको सुरुवात गरेपछि स्टालिनको पहलमा अमेरिका र बेलायतजस्ता साम्राज्यवादी शक्तिराष्ट्रहरुसँग मिलेर एउटा अन्तर्राष्ट्रिय संयुक्त मोर्चा बनाई लडेर हिटलरी आक्रमणको सशक्त प्रतिरोध गरेपछि सोभियत समाजवादी राष्ट्रलाई जोगाउन र विश्वयुद्धलाई अन्त्य गर्नमा सफलता मिलेको थियो ।
इ) नेपाली क्रान्तिमा संयुक्त मोर्चाको अभ्यास -
नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा सर्वप्रथम कार्यनीतिक संयुक्त मोर्चाको अवधारणा र प्रस्ताव क. पुष्पलालले ल्याउनुभएको हो ! उहाँले प्रमुख दुश्मन निरंकुश राजतन्त्रात्मक निर्दलीय पंचायती व्यवस्थाका विरुद्धमा दलाल पुँजीवादी प्रतिक्रियावादी शक्ति नेपाली काङ्ग्रेसलगायत मिल्नसक्ने जति सबै शक्तिहरु मिलेर लडेर राजतन्त्र र पंचायत फाल्नुपर्ने संयुक्त संघर्षको कार्यनीति ल्याएपनि शुरुमा त्यो लागू त भएन, बरु यस्तो संयुक्त मोर्चा बनाउने नीति लिएवाफत धेरैजसो कम्युनिस्ट पार्टी र नेताहरुले उनलाई गद्दारसम्म पनि भने । मोहनविक्रम सिंहले त "गद्दार पुष्पलाल" नामक पुस्तक नै लेखे । तथापि सैद्धान्तिक र राजनीतिक एवं वस्तुगत र व्यावहारिक रुपमा संयुक्त मोर्चाको यो स्वरुप सही र अत्यावश्यक थियो । फलतः पुष्पलालको मृत्युपछि भएपनि वामपन्थी दलहरुको र नेकाको बिचमा पंचायत र राजतन्त्रविरुद्ध संघर्ष गर्ने सहमति भएपछि २०४६ मा निशाना एक मोर्चा तीन गराई संघर्ष गर्दा ठुलो जनआन्दोलन हुँदा राजाको निरङ्कुशता र निर्दलीय पंचायति व्यवस्था समाप्त भई बहुदलीय संसदीय व्यवस्थाको पुनर्स्थापना भएको थियो । तत्पश्चात् पुन: प्रतिगमन भएर राजा ज्ञानेन्द्रले कू गरी पुन: प्रतिगमन भै शासनसत्ता उनको हातमा गएपछि पुन: युद्धरत माओवादी क्रान्तिकारी र अन्य सबै संसदवादी दलहरुबिच सहमति भएर संघीय लोकतान्त्रिक गणतन्त्रका लागि निशाना एक मोर्चा दुई बनाएर लडियो । यो संयुक्त संघर्षले पनि विजय प्राप्त गर्यो र देसमा संविधान सभा हुँदै संघीय लोकतान्त्रिक गणतन्त्र आयो ।
ख) परस्पर मित्रशक्तिहरुबिचको क्रान्तिकारी संयुक्त मोर्चाका अभ्यासहरु :
अ. रूस-चीनको अभ्यास -
माथिनै उल्लेख गरिसकियो कि रुसमा सोभियत स्वयं नै मजदुर-किसान जस्ता मित्रवर्ग वा शक्तिहरुको क्रान्तिकारी संयुक्त मोर्चा नै थियो ! संयुक्त मोर्चा क्रान्तिअघि संघर्ष र क्रान्तिको साधन हो भने क्रान्तिपछि सत्ता र सेवाको साधन हो र हुनुपर्छ । ठिक यही चरित्र, स्वरुप र जिम्मेवारी सोभियतले निर्वाह गरेको स्पष्ट छ ! यसरी नै चिनियाँ क्रान्तिमा पनि माओले क्रान्तिका तीन जादुगरी हतियारमध्ये पार्टीको नेतृत्वमा रहने क्रान्तिकारी संयुक्त मोर्चा पनि एक हो भन्दै उक्त मोर्चामा क्रान्तिका आधारभूत शक्तिहरु मजदुर, किसान र सिपाही रहन्छन् भन्ने अवधारणा ल्याई तिनको प्रयोग र अभ्यास गरेर मोर्चामार्फत क्रान्तिको सफलता र विजयको लागि ठूलो भूमिका निर्वाह गराउनुभयो । त्यति मात्र होइन, त्यतिबेला चीनमा भएका अन्य देसभक्त, जनवादी र प्रगतिशील राजनीतिक शक्तिहरुबीच वैदेशिक हस्तक्षेप र घरेलु शोषण-उत्पीडनका विरुद्धमा कुनै न कुनै रुपमा सहमति, सहकार्य र संयुक्त मोर्चा गरेर क्रान्ति सम्पन्न भएको पाइन्छ भने क्रान्तिपछि आज पनि तीमध्ये आठ राजनीतिक शक्तिहरु सत्तामा समेत सहभागी भएर सहकार्य गरिरहेको देखिन्छ ।
यस सहकार्यको प्रतिबिम्ब र प्रतिनिधित्व नेसनल पिपुल्स कङ्ग्रेस र चिनियाँ जनराजनीतिक सल्लाहकार परिषद ( Chinese People´s political consultative conference ) जस्तो चिनियाँ सरकार र पार्टिको सल्लाहकारको भूमिकामा रहेको संस्थामा समेत भएको देखिन्छ । यसरी चिनियाँ संयुक्त मोर्चा बहुदलीय सहकार्यको लागि एक अंग र संवैधानिक सभाका लागि राजनीतिक सल्लाहकारको रुपमा अद्यापि रहिआएको छ !
चिनियाँ मित्रशक्तिहरुबिचको संयुक्त मोर्चाको रुपमा बनेको यो cppcc चिनियाँ नयाँजनवादी क्रान्ति भएसंगै १९४९ सेप्टेम्बर १ मै स्थापना भएको हो जो अद्यापि कायम र कृयाशील छ ।
यहाँनेर चिनियाँ क्रान्तिलाई निरन्तरता दिने, संरक्षण गर्ने र सम्बर्द्धन गर्ने सन्दर्भमा माओले पार्टीका क्रान्तिकारी नेता-कार्यकर्ताहरु, क्रान्तिकारी युवाहरु, रेड गार्डहरु र आम जनसमुदायहरुलाई आह्वान र गोलबन्द गरी संचालन गर्नुभएको महान् सर्वहारा साँस्कृतिक क्रान्तिलाई पनि तत्कालीन विशेष अवस्थामा एक विशिष्ट प्रकारको संयुक्त मोर्चाद्वारा सम्पन एक अद्वितीय क्रान्तिको रुपमा स्मरण गर्नु वांछनीय हुन्छ ।
आ) नेपाली अभ्यास -
पुष्पलालले नेपाली क्रान्तिको स्वरुप नयाँ जनवादी हुने कुरा गरेसँगै प्रधान अन्तर्विरोध पनि देसीय सामन्तवाद अर्थात् निरंकुश राजतन्त्रात्मक पंचायत व्यवस्थासंग भएकोले नयाँजनवादी क्रान्तिको प्रमुख दुश्मन घरेलु प्रतिकृयावाद अर्थात राजा र उनको पंचायती व्यवस्था भएकोले यसका विरुद्ध नेपाली काङ्ग्रेस लगायतका पंचायत विरोधी प्रतिक्रियावादी शक्तिहरु, जो नेपाली क्रान्तिका दुश्मन नै हुन्, सँग मिलेर गरिने संयुक्त आन्दोलनका अतिरिक्त देसभक्त र जनवादी चरित्रका मित्र शक्तिहरु, वर्गहरु र समुदायहरुको संयुक्त क्रान्तिकारी मोर्चा बनाएर पार्टीले प्रधान दुश्मनमाथि प्रहार केन्दृत गरेर क्रान्ति सम्पन्न गर्नुपर्ने औंल्याउनु भयो ।त्यसपछि नेपाली नयाँ जनवादी क्रान्तिका पक्षधर पार्टीहरुले यसै अनुसार विभिन्न रुप र स्तरका संयुक्त मोर्चाहरु बनाएर संघर्ष गर्न सुरु गरेको पाइन्छ । २०४६ को जन आन्दोलनको बेलामा साहना प्रधानको नेतृत्वको सात वाम दलहरुको मोर्चा र बाबुराम भट्टराईको नेतृत्वको चार क्रान्तिकारी शक्तिसहित विभिन्न संघसंस्था र व्यक्ति-व्यक्तित्वहरुको संयुक्त मोर्चा प्रधान साझा दुश्मनका विरुद्धमा बनेका र लडेका मित्रशक्तिहरुका अस्थायी कार्यनीतिक मोर्चाहरु हुन् !
यसप्रकारका कार्यनीतिक मोर्चाहरु प्रतिक्रियावादी सत्ता र व्यवस्थाका विकल्पको लागि मात्र होइन, तिनबाट भए-गरेका राष्ट्रघाती र जनघाती कृयाकलापका विरुद्धमा २०४८ यता त यथेष्ट रुपमै बन्दै, लड्दै र आंशिक सफलतासंगै भत्कदै अनि आवश्यकता अनुसार पुन: बन्दै आएका छन् !
जहाँसम्म रणनीतिक वा मध्यकालीन संयुक्त मोर्चा निर्माण र संचालनको प्रश्न छ, त्यो पनि विभिन्न क्रान्तिकारी भन्न रुचाउने दलहरुले आ-आफ्नो पार्टीको नेतृत्वमा एक जादुगरी हतियारको रुपमा निर्माण गर्दै आन्दोलन गरिआएका छन् । यससन्दर्भमा
तत्कालीन नेकपा एकताकेन्द्रले आफ्नो नेतृत्वमा आफ्नै समर्थक जनवर्गीय संगठनहरुलाई समेटेर बनाएको रणनीतिक संयुक्त मोर्चा "संयुक्त जनमोर्चा, नेपाल"ले चुनावी संघर्षका अतिरिक्त राष्ट्रियता, जनतन्त्र र जनजीविका जस्ता रणनीतिक मुद्दाहरुलाई लिएर गरेका संघर्षहरु उल्लेखनीय छन् । यसरी नै नेकपा मसालले राष्ट्रिय जनमोर्चा, नेकपा क्रान्तिकारी माओवादीले देशभक्त तथा जनगणतान्तृक मोर्चा नामक रणनीतिक संयुक्त मोर्चाहरु बनाएर एकल वा संयुक्त संघर्षहरु गरिरहेका छन् !
जनयुद्धका दौरानमा २०५८ मा नेकपा माओवादीले पनि आफ्नो नेतृत्वमा जनमुक्ति सेना, स्थानीय सत्ता र जनवर्गीय संगठन तथा जातीय र क्षेत्रीय मोर्चा समेतको सहभागीतामा संयुक्त क्रान्तिकारी जनपरिषद नामक रणनीतिक क्रान्तिकारी संयुक्त मोर्चाको निर्माण गरी संघर्ष र सत्ता दुवैको साधनको रुपमा परिचालन गरेको स्मरणीय छ ।
विचारणीय के छ भने वास्तवमा उक्त कुनै पनि मोर्चाहरुले क्रान्तिकारी रणनीतिक संयुक्त मोर्चाको काम गर्न सकेका छैनन् । यसको पछिल्लो प्रयासस्वरुप चार कम्युनिस्ट घटकहरु क्रमशः वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, विप्लव नेतृत्वको नेकपा, ॠषिकट्टेल-लोक नारायण नेतृत्वको नेकपा र आहुती नेतृत्वको बैज्ञानिक समाजवादी पार्टीको सहभागिता र संयुक्त नेतृत्वमा तर विडम्बना सच्चा क्रान्तिकारी रणनीतिक संयुक्त मोर्चा निर्माण गरी२०७७ माघ २९ मा घोषणा गरेका थिए । तर दुखद विडम्बना के भयो भने घोषणा लगत्तै केही आकर्षक कार्यक्रमहरु गरिए र आम जनतमा क्रान्तिप्रतिको आशा पलाउन थाल्दै गरेको बेलामा विप्लवको भूमिगत पार्टी खुला भै शान्तिपूर्ण संघर्ष गर्न तयार भयो र यो मोर्चा पनि निस्कृय हुंदै विघटन नै भयो । त्यसपछि सन्त बहादुर नेपाली नेतृत्वको नेकपा विद्रोही मसाल, मानध्वज गुरुङ नेतृत्वको नेकपा मार्क्सवादी-पुष्पलाल, सुवासराज काफ्ले नेतृत्वको जनसमाजवादी पार्टी, राजु कार्की-माधव दाहाल नेतृत्वको नेकपा समाजवादी, लक्ष्मण उप्रेती नेतृत्वको नेकपा मालेमा केन्द्र, नारायण प्रसाद शर्मा नेतृत्वको एमसीसी खारेज अभियान, शम्भु कटेल नेतृत्वको मार्क्सवादी एकता अभियान, उदयराज अधिकारी नेतृत्वको मार्क्सवाद तथा पुष्पलाल विचार मंच, राजन तिमिल्सिना नेतृत्वको जनसरोकार समाज, लोककृष्ण -सुरेश कार्की नेतृत्वको पुष्पलाल अध्ययन समाज, कृष्ण धमला-भूमि देवकोटा नेतृत्वको जनसमाजवादी मंच, श्याम श्रेष्ठ- एकलाल श्रेष्ठ नेतृत्वको प्रगतिशील रुपान्तरण अभियान र प्रचण्ड-किसन शर्मा नेतृत्वको माओवादी केन्द्र र स्वतन्त्र क्रान्तिकारी बौद्धिक व्यक्तित्व प्राध्यापक रमेश शर्मा लगायतका विभिन्न पार्टी, अभियान र संघसंस्था सम्बद्ध नेतृत्व र व्यक्तित्व पंक्तिबाट संस्थागत वा व्यक्तिगत रुपमा सच्चा क्रान्तिकारी र शक्तिशाली पार्टी, मोर्चा र आन्दोलन निर्माणार्थ एकीकरण, ध्रुवीकरण र गठबन्धन (संयुक्त मोर्चा) जे जति जहिले र जसरी सम्भव र उपयुक्त हुन्छ त्यही निर्माणको लागि लामोसमय छलफल चलाइयो । नयाँ, मौलिक र सिर्जनशील विचारका आधारमा पार्टी एकीकरणको सैद्धान्तिक आधारस्वरुप मूलभूत विषयहरुमा एकरूपता भएसंगै दस्तावेज पनि अभिलेखीकरण गरियो तर कतिपयको उदासीनता, कतिपयको हतारो, कतिपयको विचारभन्दा पद्धतिप्रकृया र कतिपयको चुनावी मोह र वितृष्णाका कारण हुनै पर्ने पार्टी एकता त भएन नै बल्लतल्ल गठबन्धन स्वरुप क्रान्तिअघि मात्र होइन पछि पनि सत्ता, पार्टी, नेता, शासक र शोषकहरुबाट हुने देसविरोधी, जनविरोधी र क्रान्तिविरोधी शक्ति र व्यक्ति अनि तिनका मति, गति, नीति, वृत्ति र कृतिका विरुद्धमा दीर्घकालसम्म अर्थात् समाजवादको अवधिभरनै सक्रिय रही शासक-शोषकहरुलाई निरन्तर सुझाव र दवाव दिने, सचेत र सतर्क पार्ने, खबर्दारी र चेतावनी दिने अनि अत्यावश्यक भए हस्तक्षेप गर्ने गरी संयुक्त क्रान्तिकारी मोर्चा निर्माण भयो । यसले आफू र आफूजस्तै अन्य क्रान्तिकारी, देसभक्त र जनवादी शक्ति र जनसमुदायहरुलाई सचेत, संगठित र आन्दोलित गर्दै क्रान्तिपछि हुनसक्ने प्रतिक्रान्तिलाई ठोक्न र रोक्नको लागि निरन्तर जनताका बिचमा रहेर सडक संघर्षलाई प्राथमिकता दिंदै सदन र सरकारको संघर्षलाई समेत जोडेर जनखबर्दारी बढाउने सोच अपनायो । अनि यो मोर्चा महङ्गी, भ्रष्टाचार, कृषिमल अभाव र नागरिकता विधेयक जस्ता राष्ट्रघाती र जनविरोधी कृयाकलापका विरुद्धको आन्दोलन मा सकृय भै स्थापित हुँदै गयो । तथापि आन्दोलनको कठिनता, जटिलता, विलम्बता र उतारका बिचमा पनि आंशिक उपलब्धि मात्र हुने घटना-प्रक्रियासंगै यसप्रति विभिन्न शक्ति र नेताहरुमा आएको उदासीनता र यसको नेतृत्व चयनमा विलम्बका कारण यो पूर्ण, सबल, सुदृढ र विस्तारित भएन । यति मात्र होइन, अहिले त यो सकृय पनि हुन सकेको छैन ।
यसैबीच झापा आन्दोलनको पृष्ठभूमिबाट आउनुभएका वरिष्ठतम् विद्वान कमरेड हिमालधन राई लगायतका देसका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तित्वहरुले विभिन्न ठाउंमा यसप्रकारको देसभक्तिपूर्ण संयुक्त मोर्चाको अपरिहार्य आवश्यकताबारे छलफल गर्दै आउनु भएको जानकारी पूर्वकै एक अर्का पुराना र पाका अगुवा कामरेड बैकुण्ठ दाहालबाट मैले स्वयं पाएपछि आदरणीय कामरेड हिमालधन राईसँग तत्काल भेट गरी काठमाडौमा यही पुस २ गते दर्जन बढी वरिष्ठ बौद्धिक व्यक्तित्वहरु हिमालधन राई, म नारायण शर्मा, प्रा डा शम्भु कटेल, तेजप्रसाद कँडेल, भूमिनन्द देवकोटा, गोविन्द बोहरा, अर्जुन थापा, कुमार खाकी श्रेष्ठ लगायतका दर्जनबढी कमरेडहरुको बिचमा यसबारे एउटा सार्थक छलफल भयो र त्यहाँ यसप्रकारका भेला र छलफलहरु कम्तीमा देसका सातै प्रदेशमा सम्पन्न गरेपछि एउटा वृहत् राष्ट्रिय भेलाद्वारा मात्र संगठनात्मक संरचना के कस्तो बनाउने भन्ने निष्कर्षमा पुग्ने निधो भयो । त्यहीं नै २०७९ पौष १५ मा पूर्वको एक सुन्दर नगरी धरानमा यस्तै भेला र छलफल हुन गैरहेको जानकारी प्राप्त भयो । काठमाडौ उपत्यका र अन्य सम्भव भएका स्थानबाट पनि इच्छुक कमरेडहरुको सहभागिता गराउने सल्लाह भयो र सो भेला पनि वरिष्ठतम् व्यक्तित्व जीवित होचि मिन्हको रुपमा परिचित मजदुर आन्दोलनका ९५ बर्षीय नेता आदरणीय कमरेड नरबहादुर लिम्बूको समुपस्थिति र श्रद्धेय राष्ट्रिय साहित्यिक प्रतिभाशाली बौद्धिक व्यक्तित्व वम देवानको गरिमामय उपस्थितिमा हिमालधन राई, म नारायण शर्मा, बैकुण्ठ दाहाल, किसन शर्मा गैरे, लोकप्रसाद भूर्तेल, शंकर कार्की, केदार सिटौला, मुकेश मुक्साहाङ, बन्धु तमोटलगायतका दुई दर्जन जति बौद्धिक राजनीतिक व्यक्तित्वहरुबिच छलफल भयो । छलफल मुख्यत: असल कम्युनिस्ट कस्तो हुन्छ र कसरी एकताबद्ध गर्ने अनि को हुन् सच्चा देशभक्त र कसरी तिनको संयुक्त मोर्चा बनाउने जस्ता दुई विषयमा गर्ने भनिएपनि अन्य विषयहरु पनि त्यहाँ आए ! त्यहाँ आएका विचार र सुझावहरु समेत लिएर छिटै देसका अन्य प्रदेशहरुमा गएर छलफललाई निरन्तरता दिने । छलफलका स्थान र मिति तय गर्ने जिम्मा हिमालधनलाई दिइयो भने छलफलमा प्राप्त सुझावहरुको सार खिचेर सम्प्रेषण गर्ने जिम्मा केदार सिटौलालाई दिदै जन-बौद्धिक कचहरीको रुपमा आयोजित छलफल सम्पन्न भयो ।
४. धरान भेलाका आधारमा मूलतः यसप्रकारको भाव बोध भयो कि नेपालमा अहिले तत्कालै विदेसी र देसी दुश्मनहरुबाट देस र जनतालाई मुक्ति र प्रगति दिने दुई
आधारभूत कार्यभार लिएको एउटा वृहत् क्रान्तिकारी संयुक्त मोर्चा अत्यन्त जरुरी छ । यसको एउटा आधारभूत कार्यभार देसलाई स्वाधीन, शक्तिशाली समृद्ध र विकसित बनाउनु हुनेछ भने अर्को कार्यभार जनतालाई न्याय, समानता, स्वतन्त्रता र सुख-शान्ति दिलाउनु हुने छ ! यी दुई आधारभूत कार्यभारहरुमध्ये पनि अहिले तत्कालको मुख्य कार्यभार देसलाई पूर्ण स्वाधीन बनाउने भएकाले देसभक्तहरुको बहुलता र प्रधानता भएको एउटा वृहत् र व्यापक शक्तिशाली संयुक्त मोर्चा बनाउनु नै यतिबेला हाम्रो अनिवार्य ऐतिहासिक कार्यभार बनेको छर्लङ्ग छ ।
५. को हुन् त सच्चा देशभक्तहरु र कसरी बनाउन सकिन्छ वृहत् क्रान्तिकारी संयुक्त मोर्चा ?
धरान भेलामा समेत आएका तर्क, तथ्य र सुझावहरु लगायतका सैद्धान्तिक र व्यावहारिक अध्ययन र अनुभवलाई मनन गर्दा देसलाई माया गर्ने, आफ्नो जन्मभूमिको लागि बलिदान दिन चाहने, देसबासीको हक र हितमा समर्पित हुन सक्ने, आफ्नो माटोको सुगन्ध मनपराउने नै सच्चा देशभक्त हुन् ! देशभक्तिको भावना भएका कुनै देसमा जन्मेका, हुर्केका र बसेका मानिस नै देसभक्त हुन्छन् ! त्यसो भए के हो त देशभक्ति ? यसबारे अङ्रेजी परिभाषा यस्तो छ : Patriotism is the feeling of love, devotion, and sense of attachment to one's country. This attachment can be a combination of many different feelings, language relating to one's own homeland, including ethnic, cultural, political or historical aspects.
यसरी नै देशभक्त (patriots ) बारे गूगल सर्च गर्दा अक्स्फोर्ड डिक्स्नरीको हवाला दिंदै भनिएको छ :
a person who vigorously supports his country and is prepared to defend it against enemies or detractors.
यसरी हामी एउटा देशभक्तलाई मूर्तरुपमा यसरी परिभाषित गर्न सक्छौं :
“one who not only loves n supports his or her own country esp. birthplace but also fights against its enemies to defend n develop it is a real patriot. He does so with a higher level of pride and respect on the founders of the country who are original n veteran patriots."
नेपालको आजको सन्दर्भमा सच्चा देशभक्त ती व्यक्ति र शक्तिलाई भन्न सकिन्छ जस्ले आफ्नो देश र जनतालाई स्वतन्त्र, स्वनिर्भर, स्वाभिमानी, सक्षम, शान्त, समतापूर्ण, समुन्नत, समृद्ध र सुखी बनाउन तन, मन, धन लगाएर देसप्रतिको आफ्नो कर्तब्य पूरा गर्छ वा गर्ने प्रयत्न गर्छ । आज देशमाथि भैरहेका र भविष्यमा हुने देसी वा विदेशी शक्ति र व्यक्तिहरुका शोषण-दमन र हस्तक्षेपका विरुद्ध लडेर राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता, स्वत्व, अस्तित्व, अस्मिता र अखण्डतालाई संरक्षण, सम्बर्द्धन, सुदृढ र सबल पार्न दिलोज्यानले संघर्ष गर्ने शक्ति, व्यक्ति र प्रवृत्ति, संघ-संस्था र समुदाय, संस्कार-संस्कृति र शंकल्प, चिन्ता- चिन्तन र चरित्र अनि नीति-कृति र प्रकृतिलाई मात्रै सच्चा र पक्का देशभक्त मान्न सकिन्छ ।
६. कसको नेतृत्वमा देसभक्तहरुको संयुक्त मोर्चा ?
हालसम्म भएका विभिम्म छलफलबाट प्राप्त सुझाव, सल्लाह, अध्ययन, अनुसन्धान र अनुभवका आधारमा आजको नेपालको राष्ट्रिय आवश्यकता अनुसारको राष्ट्रहितकारी संयुक्त मोर्चाको नेतृत्व सच्चा, असल र क्रान्तिकारी कम्युनिस्टहरुले मात्र गर्नसक्छन् भन्ने देखिन्छ । एउटा देशभक्त आफ्नो देस र त्यहाँका जनता, भाषा, संस्कृति, राजनीतिक र आर्थिक अवस्था र व्यवस्थाप्रति वफादार त हुन्छ तर ऊ समग्र विश्व र जनसमुदायका हकहितप्रति जिम्मेवार र वफादार न हुनसक्छ । त्यसैले ऊ कम्युनिस्ट नहुन सक्छ तर एउटा कम्युनिस्ट अवश्यमेव देशभक्त अर्थात् साम्राज्यवाद-विस्तारवादजस्ता आजको विश्वका प्रमुख प्रभुत्ववादी शक्ति र प्रवृत्तिको विरोधी हुन्छ नै ।
एउटा सच्चा र पक्का कम्युनिस्ट सचेत हुन्छ, सिद्धान्तनिष्ठ हुन्छ, संगठित हुन्छ, संघर्षशील हुन्छ, स्वाभिमानी हुन्छ, स्वच्छ हुन्छ, स्वविवेकी हुन्छ, स्वतन्त्रताप्रेमी हुन्छ, समानतावादी हुन्छ, सहयोगी हुन्छ, समाजसेवी हुन्छ, सामूहिक हुन्छ, सरल हुन्छ, सभ्य हुन्छ, सहृदयी हुन्छ, सकृय हुन्छ, सर्वहारा श्रमजीवी हुन्छ, सत्यवक्ता हुन्छ, शिवकारी हुन्छ, समर्पित हुन्छ र शहीद बन्न तयार हुन्छ । कमरेड माओका शब्दमा प्रसिद्ध अनुशासनका तीन नियम र ध्यान दिनुपर्ने आठ कुराहरुको पूर्ण पालना गर्ने, सादा जीवन र उच्च विचार अनि कडा परिश्रम र कठोर संघर्ष गर्ने मान्छे नै एक असल कम्युनिस्ट हो भने लेनिनका शब्दमा क्रान्तिकारी कम्युनिस्ट पार्टीमा संगठित हुने, पार्टीको नीति- निर्णय मान्ने र नियमित लेवी बुझाउने जस्ता तीन कामहरु गर्ने व्यक्ति कम्युनिस्ट हुन सक्छ । यसरी नै मार्क्सले आलोचना गर्न सक्ने चेतना र साहस भएको अनि सिर्जनशील रुपमा सोंच्न र गर्न सक्ने क्षमता भएको मानिस सही कम्युनिस्ट हुन सक्ने औंल्याउनु भएको छ ।
सार र संक्षेपमा भन्नुपर्दा विचारवादी, वस्तुवादी, विज्ञानवादी, वर्गवादी र विधि-विधानवादी बाटो र व्यवहारमा चल्ने अर्थात् ७ "व" वादी क्रान्तिकारी नै सच्चा र अच्छा कम्युनिस्ट हो ।
यहाँनेर एउटा अत्यन्तै स्मरणीय तथ्य के छ भने डबल नेकपाले दुईतिहाई बहुमतको सरकारबाट समेत देस र जनताका ज्वलन्त समस्याहरुको पनि न्युनतम सम्बोधन सम्म समेत नगर्ने मात्र होइन उल्टो भ्रष्टाचार, महङ्गी, राष्ट्रघाती नागरिकता विधेयक, जनहत्या, पार्टी र राजनीतिक गतिविधिमाथि प्रतिबन्ध जस्ता राष्ट्रियता, जनतन्त्र र जनजीविका सम्बन्धी मुद्दाहरु विकराल र भयावह बन्दै गएपछि चार बर्ष अघिदेखि नै राजनीतिक पार्टीहरु र नागरिक अगुवाहरु सम्मिलित एउटा वृहत् र व्यापक शक्तिशाली संयुक्त मोर्चा गठन गर्नेबारे सर्वप्रथम म नारायण शर्माको सोंच, अवधारणा र प्रस्तावमा श्रद्धेय र प्रात:स्मरणीय वहुआयामिक व्यक्तित्व क. स्वनाम साथीसंग डिल्लि अधिकारी, साध्यबहादुर भन्डारी, नीमकान्त पाण्डे, भरत दाहाल, विनोद लोहनी, यादव देवकोटा लगायतका दर्जनौ व्यक्तित्वहरुसँग पटकपटक छलफल गरिएका थिए ! त्यो निष्कर्षमा नपुग्दै पश्चिमोत्तर नेपालको कालापानी क्षेत्रको लिम्पियाधुरा-लिपुलेकमा भारतीय अतिक्रमण बढेपछि मूलतः नागरिक स्तरबाट स्वनाम साथीकै नेतृत्वमा सीमा बचाऔं अभियान गठन गरी संचालन गरियो ! यसमा भैरव रिसालजी जस्ता वरिष्ठतम् नागरिक व्यक्तित्वको सकृय सहयोगमा सीमा सुनिश्चित गरिएको नक्सा प्रकाशन गरी सरकारलाई हस्तान्तरण गरेको केही सुनुवाइ भयो । यसैबिच एम सी सी आयो र त्यसको पनि नागरिक स्तरबाटै स्वनाम साथी, घनश्याम शर्मा पौडेल, बासुदेव मिश्र, मातृका तिमिल्सिना, किसन शर्मा गैरे, रघु घिमिरे, सरस्वती पौड्याल, आर सी न्यौपाने, धीर प्रसाद भण्डारी, झविलाल श्रेष्ठ आदि वरिष्ठ व्यक्तित्वहरुको भेलाद्वारा म नारायण शर्माकै संयोजकत्वमा खारेज अभियान नामक नागरि स्तरको खबर्दारी मोर्चाजस्तै संयन्त्र गठन गरी संघर्ष चलाइयो ।
तत्पश्चात यो अभियानलाई वृहत् र व्यापक बनाउनको लागि एमसीसी विरोधी पार्टी र स्वतन्त्र व्यक्तित्वहरुको संयुक्त भेला गरी मेरै संयोजकत्वमा लोक कृष्ण भट्टराई, लोक नारायण सुवेदी, साध्यबहादुर भण्डारी, श्याम श्रेष्ठ लगायतका पार्टी र नागरिक प्रतिनिधिहरुको संयुक मोर्चा स्तरकै संयुक्त संघर्ष समिति गठन गरी पुन: विभिन्न शक्तिहरुसंग कार्यगत एकता, संयुक्त मोर्चा बनाएर संघर्षलाई निरन्तरता, व्यापकता र तीव्रता दिइयो । यो सकिंदानसकिंदै पुनः चरम राष्ट्रघाती नागरिकता विधेयक देउवाका पालामा फेरि आएपछि म र साध्यबहादुर भण्डारीको पहलमा देशभक्त नागरिकहरु र राजनीतिक दलका प्रतिनिधिहरु समेतकै एक भेला वरिष्ठ वामपन्थी अध्येता लोककृष्ण भट्टराईको अध्यक्षतामा सीपी मैनाली, हिरण्यलाल श्रेष्ठ, द्वारिकानाथ ढुङ्गेल, भुवप्रसाद तृपाठी, डम्बरविक्रम कार्की, किसन शर्मा गैरे, लेखराज रेग्मीआदिको भेला द्वारा वरिष्ठ देशभक्त नागरिक अभियन्ता साध्यबहादुर भण्डारी संयोजक र म सहसंयोजक रहेको नागरिकता अध्ययन कार्यदल रुपी संयुक्त मोर्चा जस्तै संयन्त्र गठन गरी विरोध आन्दोलन विस्तार गरियो । यस्ता प्रकारका थुप्रै प्रयासहरु पटक पटक विभिन्न व्यक्ति-शक्तिहरुद्वारा भए पनि सच्चा, शक्तिशाली र परिणामदायी साझा संयुक्त मोर्चा बन्ने र दीर्घजीवी हुने गरेको छैन ! त्यसैले अब यस्तो मोर्चा निर्माण र परिचालनको अनिवार्यरुपले टड्कारो आवश्यकता पैदा भेको छ ।
७. निष्कर्ष :
यस्ता सच्चा, पक्का, भरपर्दा सक्षम, असल र इमान्दार कम्युनिस्टहरु र नागरिक अगुवाहरुको सहभागितामा एउटा जेनुइन, जिम्मेवार, जवाफदेही र जनपृय पार्टीको नेतृत्व, सहभागिता, सहयोग वा सुझावमा चल्ने सच्चा देशभक्त र राष्ट्रप्रेमीहरुको वृहत्, व्यापक र सशक्त संयुक्त मोर्चा बनाएर सर्वप्रथम देशलाई पूर्ण स्वाधीन र समृद्ध बनाएर समाजवाद-साम्यवादको दिशामा दृढतापूर्वक अघि बढ्नु अहिले नेपाली सपुतहरुको काँधमा आएको ऐतिहासिक अभिभारा हो ।
आउनुहोस् देसलाई माया गर्ने र जनतालाई सेवा गर्ने सच्चा शक्ति-समुदाय, संघ-संस्था, संगठन-समूह, अभियान-प्रतिष्ठान आदि सबै संस्थागत रुपमा वा तिनमा सम्बद्ध वा असम्बद्ध (स्वतन्त्र) सदस्य-व्यक्तित्वहरु मोर्चाबद्ध र एकताबद्ध होऔं, अजेय, अद्भूत र ऐतिहासिक लडाइँ लडौं र देस, जनता र संसारलाई अनन्त सम्म स्वतन्त्र र समृद्ध भै बाँच्ने, हाँस्ने र नाच्ने बनाऔं !
धन्यवाद !! अभिवादन !!!