आगामी फागुन २५ गते हुने राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपति पदको निर्वाचनका लागि फागुन १७ गतेदेखि चैत ५ गतेसम्म आचारसंहिता आकर्षित हुने निर्वाचन आयोगले जनाएको छ ।
संवैधानिक व्यवस्था अनुसार उक्त निर्वाचनका लागि सङ्घीय संसद्मा हाल कायम रहेका ३३२ र प्रदेशसभाका ५५० गरी कूल ८८२ मतदाता रहेको निर्वाचक मण्डल रहने छ । स्वीकृत कार्यक्रमबमोजिम राष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना भई यही फागुन १३ गते उम्मेदवारीको मनोनयनपत्र दर्ता भइसकेको छ भने फागुन १६ गते साँझ ४ बजेसम्म उम्मेदवारले मनोनयनपत्र फिर्ता लिन सक्ने र तत्पश्चात आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
दुवै पदको निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गर्ने निर्णय गरिएको आयोगले जनाएको छ ।
आयोगको निर्णय बमोजिम उक्त आचारसंहिता देहायका व्यक्ति, संस्था तथा अधिकारीलाई लागू हुने आायोगले जानकारी गराएको छ । नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय तथा कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन, उम्मेदवार तथा उम्मेदवारको प्रतिनिधि, राजनीतिक दल तथा उम्मेदवारको मतदान एवम् मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेको व्यक्ति, सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी, मतदातालाई यो आचारसंहिता आकर्षित हुनेछ ।