शुक्रबार, कार्तिक ७ गते २०८३

अनन्त लम्बिदो युक्रेन–रुस युद्धको कसरी होला अन्त्य

फाल्गुण १६, २०७९ मंगलबार
अनन्त लम्बिदो युक्रेन–रुस युद्धको कसरी होला अन्त्य

 युक्रेन युद्ध शुरु भएको एक बर्षभन्दा बढी समय बितिसकेको छ । तर यसले कुनै निकास दिन सकेको छैन । केवल बर्बादी पछि बर्बादी निम्तिएको छ । तर यसको समाप्ति हुने कुनै संकेतसम्म पनि देखिएको छ । न कुनै पक्षले यो युद्ध जित्ने स्थिति देखा परेको छ न हार स्वीकार गर्ने स्थिति नै । 
युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्की अमेरिका र यूरोपेली देशहरुबाट बढीभन्दा बढी हातहतियार मगाउने निरन्तर कोशिश गरिरहेका छन् । यसै बीच अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि एकाएक युद्ध चलिरहेको यूक्रेनको कीभमा पुगेर के स्पष्ट सन्देश र संकेत दिएका छन् भने यो युद्धबाट पछि हट्ने र यसलाई समाप्त पार्ने उनको कुनै इरादा छैन । उनले यूक्रेनलाई युद्धका लागि थप मद्दत गरिरहने छन् ।
 अर्कोतिर रुसी राष्ट्रपति भ्लादिमिर पुटीनले पनि के स्पष्ट संकेत दिएका छन् भने यस युद्धमा रुसको आक्रामतमा कुनै कमी आउने छैन । उनले यो नाटो बिस्तार गर्न उक्साइएको युद्ध रुसको बिरुद्ध षडयन्त्र हो भन्ने कुरा शुरुकै दिनदेखि निरन्तर भन्दै आएका छन् । यस युद्धको क्रममा चीनलाई रुसको अझ निकट देखाउनु र हातहतियार आपूर्तिको सम्भावनालाई कुनै खण्डन मण्डन नगर्नुले पनि आउदा दिनमा यो युद्ध अझ चर्किने र तीब्र हुने सम्भावनालाई दर्शाउँदछ । वास्तवमा युद्ध युद्धलाई अमेरिकी नेतृत्वको नाटो र रुसका बीचको युद्ध भनेर जुन भनिदै आएको थियो घटनाक्रमले त्यो पुष्टी गर्दै आएको छ ।

russia-ukraine-war.jpg
यो युद्धले गर्दा बिश्वलाई जुन असर परिरहेको प्रष्ट  भइरहेकको छ त्यसले पनि यो युद्ध केवल रुस र युक्रेनका लागि मात्रै होइन बिभिन्न यूरोपेली देशहरुका साथसाथै बिश्वकै अर्थतन्त्रका लागि समेत आज ठूलो कठिनाई बढ्दै गएको छ । त्यसले गर्दा आज एकातिर यो युद्धको आँच र रापलाई बढाउने घोषणा र गतिबिधि तीब्र पारिदैछ भने अर्कोतिर शान्ति कायम गरिनु पर्दछ र युद्ध रोकिनु पर्दछ भन्ने चिन्ता पनि सँगसँगै बिश्वब्यापीरुपमा बढ्दै गरेको देखिन्छ ।
– यस परिप्रेक्षलाई हेर्दा चीन र  भारत एशियाका दुइ शक्तिशाली देशहरु यो युद्धलाई शान्तिको दिशामा मोड्ने प्रकृया शुरु गर्न र त्यसलाई तार्किक निष्कर्शमा टुंग्याउनका लागि सर्बाधिक योगदान दिन सक्ने स्थितिमा रहेको देखिन्छ । हुन पनि यी दुइ देश नै हुन् जसको यूक्रेन र  रुस दुबैसँग राम्रो सम्वन्ध छ र दुबैले हमलाको समर्थन नगरीकन युद्धका लागि रुसलाई दोषी पनि बताउने कुराबाट पनि अलग रहेका छन् । दुबै देशको रुस र युक्रेनमा आ–आफ्नै किसिमको प्रभाव पनि रहेको छ । यसको सदुपयोग गरेर सार्थक किसिमले समस्या समाधान गर्न र शान्ति स्थापनाका लागि भूमिका खेल्न सक्ने देखिन्छ । 
 यद्यपि यो त्यति सहजै सल्टिने स्थितिको युद्ध होइन । यसमा नाटोका संलग्नता र गतिबिधिले नै समस्या खडा गरेको कुरा सर्ब बिदित छ । त्यसले गर्दा दुबै पक्षलाई मान्य हुने समाधान खोज्न कम कठिन छैन । नाटो रुसको नाकै मुनि आउने र दबाब दिने स्थितिलाई रोक्न रुसले हमला गर्दा यूक्रेनका चार सीमाबर्ती क्षेत्रहरु – दोनेत्स्क, लुहाँस्क, सेरसान र अपोरिजिया रुसमको कब्जामा पुगेका छन् यसलाई मध्यनजर राख्दा दुबै पक्षलाई मान्य हुने कुनै साझा सुत्र निकाल्न सहज छैन । यूक्रेन ती गुमेका क्षेत्र फिर्ता लिन जोडतोडले अडिएको देखिन्छ भने रुस पनि ती क्षेत्रमा आफ्नो प्रभाव कायम राख्न तल्लिन रहेकै स्थिति छ । तथापि बिश्वमा कूटनीतिलाई अन्य कुराका अतिरिक्कत असम्भवलाई सम्भब बनाउने एउटा बिशेषता पनि मानिन्छ । यस हिसाबले सोच्दा यसबाट शान्तिपूर्ण निकाको बाटो खोज्नै नसकिने कुरा हुँदैन भन्ने आशा गर्न सकिन्छ ।
 यतिबेला जर्मनीका चान्सलर ओलाफ शोल्ज भारतको भ्रमणमा आउदैछन् । त्यसपछि इटालीका प्रधानमन्त्री जोर्जिया मेलोनी पनि भारत आउने बताइन्छ । आउदो साता जी–२० को बैठक पनि भारतकै आतिथ्यतामा हुने तय छ । त्यस बैठकमा रुसी बिदेश मन्त्री सर्गेई लाभारोभ र अमेरिकी बिदेशमन्त्री एण्टोनी ब्लिंकेन पनि नयाँ दिल्लीमा हुने छन् । यस बैठकको उपयोग युद्धलाई शान्तिमा परिणत गर्नका लागि हुनु पर्दछ र कुनै न कुनै सर्बमान्य सुत्रको खोजी गरिनु पर्दछ भन्ने हुटहुटी र दबाब पनि बढ्दो छ । 
 त्यसैले बिश्वब्यापी असर पारिरहेको यो युद्धको अन्त्यका लागि थप जन धनको क्षति हुन नदिन युद्धको स्थगन, सार्थक बार्ता र स्थायी शान्तिको स्थापना आजको ज्वलन्त आवश्यकता बन्ने गएको छ । अन्यथा हतियार ब्यापार मौलाउने र थप मानबीय हानी नोक्सानी हुने बाहेक लम्बिदो युद्ध र यस युद्धको उक्साहटले अरु कुनै परिणाम दिदैन भन्ने कुरा जग जाहेर छ ।