शनिबार, आश्विन १७ गते २०८३

देखिन्छ हाम्रो अहिले अधोगति

फाल्गुण ११, २०७९ बिहीबार
देखिन्छ हाम्रो अहिले अधोगति
laghubittiya sanstha.jpg
इन्द्रनारायण सुबेदी
(इन्द्रवंशा छन्द)
=======================
कुर्सी हुने मालिकझैँ गजक्क छन्
निर्धा र भोका जति थक्क थक्क छन्
छन् ठप्प उद्योग विकासका गति
देखिन्छ हाम्रो अहिले अधोगति ।१।
छैनन् युवा वृद्ध कुनै सुरक्षित
सम्भ्रान्त छन् नित्य यहाँ बुभुक्षित
चासो हरायो अब देशका प्रति
देखिन्छ हाम्रो अहिले अधोगति ।२।
पुर्खाहरूको इतिहास मेटियो
चेली बलात्कार गरेर रेटियो
बोल्दैन कोही बरु दिन्छ सम्मति
देखिन्छ हाम्रो अहिले अधोगति ।३।
बिक्दै गए स्रोत धरा उदाङ्गियो
आदर्श गुम्दा अपराध झाङ्गियो
झन् बढ्छ अन्याय र दुष्टको मति
देखिन्छ हाम्रो अहिले अधोगति ।४।
दुष्कर्म गर्ने खलपात्र छन् शठ
सत्ता र कुर्सी अनि शक्ति लम्पट
मिच्छ्न् प्रणाली र विधान पद्धति
देखिन्छ हाम्रो अहिले अधोगति ।५।
वीरत्व हाम्रो र अपूर्व गौरव
स्वाधीनता साख विशिष्टता सब
छन् दाउ पासो कि धरापमा अति
देखिन्छ हाम्रो अहिले अधोगति ।६।
स्थायित्व स्वामित्व सबै गुमेपछि
पाखण्ड ढोँगी शिरमा घुमेपछि
बढ्छन् अनेकौँ घरमा हुने क्षति
देखिन्छ हाम्रो अहिले अधोगति ।७।
हावा विदेशी शिरमा मडारिँदा
हाम्रा सबै वैभव नै बढारिँदा
बन्छ्न् यहाँ शासक साहुका सती
देखिन्छ हाम्रो अहिले अधोगति ।८।
निष्ठा सदाचार सुसभ्यता सब
सद्भावना नैतिकता र गौरव
बन्दैगए ध्वस्त यहाँ भए जति
देखिन्छ हाम्रो अहिले अधोगति ।९।
नेपाल हाम्रो बहुजातिको घर
अक्षुण्ण यो पुर्वजको धरोहर
खेप्दैछ लाखौँ ननिका विसङ्गति
देखिन्छ हाम्रो अहिले अधोगति ।१०।
==========================
अभ्यासस्थल प्रतिभा निकुञ्जकाे विस्तारित रूप