आइतबार, कार्तिक ९ गते २०८३

ऋण लिंदा ब्याजदरको बारेमा पूर्ण जानकारी लिन राष्ट्र बैंकको आग्रह 

फाल्गुण १०, २०७९ बुधबार
ऋण लिंदा ब्याजदरको बारेमा पूर्ण जानकारी लिन राष्ट्र  बैंकको आग्रह 


नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिंदा ब्याजदरको बारेमा पूर्ण जानकारी लिएर मात्र ऋण लिन  आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै ब्याज र आम्दानीमा तालमेल नभएमा कर्जा भुक्तानीमा समस्या आउन सक्नेतर्फ सचेत गराएको हो ।

‘निश्चित आय भएका व्यक्तिले परिवर्तनशील ब्याजदरमा कर्जा उपयोग गर्दा आम्दानी र खर्चबीच सामञ्जस्यता हुन नसक्ने र कर्जा भुक्तानीमा समस्या हुने अवस्थालाई ध्यान दिई व्यक्तिगत कर्जाहरु स्थिर ब्याजदरमा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ’ सूचनामा भनेको छ ।

स्थिर ब्याजदरमा कर्जाको उपयोग गर्दा ब्याज रकम बढ्दैन भने निर्धारित अवधिमै कर्जा भुक्तानी गर्न सकिन्छ । जसले निश्चित आय भएका व्यक्तिको वित्तीय अवस्थामा नकारात्मक असर नपार्ने केन्द्रीय बैंकको भनाइ रहेको छ । ब्याजदर निर्धारण र ब्याजदर परिवर्तन हुने सर्त बुझेर मात्र कर्जाको उपयोग गर्न ऋणीलाई केन्द्रीय बैंकले आग्रह गरेको छ ।