काठमाडौं । ग्यास सिलण्डरबाट बिस्फाेटनबाट नराम्राेसँग घाइते भएकी नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको आज निधन भएको छ। हिजाे बुधबार राती बुध्दनगर स्थित घरमा ग्यास सिलिण्डर विष्फोटबाट घाइते भएकी भण्डारीको कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
सांसद भण्डारी र उनकी आमालाई उपचारको लागि मुम्बई लैजाने तयारी भइरहेको बेलामा नराम्राेसँग घाइते भएकी आमाको निधन भएको बताइएकाे छ ।

अस्पतालका कार्यकारी निर्देशक डा.निजिना ताम्राकारले हरिकला भण्डारीको निधन भएको पुष्टि गरेकी छन् ।
काठमाडौंको बुद्धनगरस्थित घरमा बुधबार बेलुकी खाना पकाउने क्रममा ग्यास सिलिण्डर विष्फोट हुँदा आमा छोरा जलेर घाइते भएका थिए।
आमाको शरीर ७० प्रतिशत भन्दा बढी जलेको अस्पतालले जनाएको थियो । चन्द्र भण्डारी पनि सख्त घाइते भएका थिए । दुबैकाे सघन उपचार कक्षमा राखेर उपचार हुँदाहुँदै आमाकाे निधन हुनपुग्याे भने भण्डारीलाई एयर एम्बुलेन्सबाट उपचारकाे निम्ति मुम्बई लगिने भएकाे बताइएकाे छ ।