आज पनि हाम्रो देशको राजनीति अत्यन्तै अन्यौलग्रस्त छ । राजनीतिक परिवर्तन पछिको उत्साह र ऊर्जा सबै समाप्त भएको जस्तो स्थिति बनेको छ ।अन्त्यहीन अनिश्चितता र जनताको असुरक्षा आजको राजनीतिको पर्याय बनेको छ । आखिर यस्तो किन भयो ? यो एकदमै केलाउनै पर्ने र बिश्लेषण गर्नै पर्ने गम्भीरतम बिषय बनेको छ । दलहरुको उपस्थिति हुनु र उनीहरुको सक्रियता रहनुले मात्र कुनै अर्थ राख्दो रहेनछ भन्ने कुरा दिनप्रतिदिनको दलहरुको गतिबिधिले प्रष्ट पारिरहेको छ । यस्तो स्थितिमा दलहरुप्रति, त्यसमा पनि खाशगरी, सत्ता र प्रतिपक्षमा रहेका निर्णायक दलहरुप्रति जनताको यति बिघ्न अबिश्वास, सन्देह र उदासीनता देखिएको छ कि यस्तो स्थिति बिगतमा कहिल्यै पनि देखिएको थिएन । तर यो बढ्दो र सघन हुँदै गएको जन अबिश्वास र सन्देहप्रति ती दलहरुलाई कुनै मतलब रहेको देखिदैन । उनीहरु आफुहरुलाई बिकल्परहीत ठानेर चलिरहेका छन् । हुन पनि भित्री अन्तर्यमा जाँदा उनीहरुका बीचमा कुनै फरक र भिन्न बैकल्पिक नीति पनि छैन । दलहरुको रङ्ग रुप फरक, झण्डा फरक देखिए पनि राष्ट्रियता, जनजीबिका तथा जनाधिकारका साझा समस्या समाधानकाप्रति कुनै भिन्न बिकल्प एक अर्काले प्रस्तुत गर्न सकेका छन् र न गर्ने कुनै छाँटकाँट नै देखिन्छ ।
वास्तवमा सबै बिश्वमा आज प्रचलित संसदीय ब्यवस्थामै रमाउन चाहिरहेका छन् । यद्यपि उनीहरु त्यसलाई केही डेण्टिङ्ग पेण्टिङ्ग गरेर अर्थात् सिंगार पटार गरेर प्रस्तुत गर्न खोजिरहेका छन् । त्यसैले उनीहरुको मुखमा अहिले गणतन्त्र, समावेशीता, समानुपातिकता, संघीयता जस्ता कुरा झुण्डिएका छन् । तर त्यसले राजनीति, अर्थतन्त्र, सामाजिक संरचना र सस्कितमा के कस्तो समुन्नत फरक ल्याउँदछ भन्ने कुनै स्पष्ट चित्र र खाका भने उनीहरुले दिन सकिरहेका छैनन् । उनीहरु आफै पनि यी कुरामा रणभुल्लमा रहेका देखिन्छन् र जनतालाई पनि त्यसैमा अल्मल्याइरहेका छन् । उनीहरुले हिजो संक्रमण काल लम्बिनुको कारण पनि यी नै कुरालाई बनाइरहेका थिए । तर देशमा भ्रष्टाचार, ढिलासुस्ती, नताबाद, कृपावाद पहिले जसरी नै र अझ ब्यापकरुपमा चलेको छ । भागबण्डा नै आजको उनीहरुको राष्ट्रिय सहमित र राजनीतिको मूलतत्व बनेको छ । यस स्थितिमा दलहरुले जनता र देशका लागि अग्रगन्य भूमिका खेल्नुको साटो दलीय दलदलमा देशलाई फसाइरहेका छन् । मलुकमा लोकतन्त्रको नाममा दलतन्त्र र त्यसको पनि अल्पतन्त्र चलाइराखेका छन् ।

मुखले नागरिक समानताको कुरा गरे पनि उनीहरुले नागरिकलाई आफ्ना आफ्ना दलबिशेषभन्दा भिन्न र दोश्रो दर्जाकै ब्यवहार गरिरहेका छन् । उनीहरुले जनतालाई बर्ण, जाति, धर्म, सम्प्रदाय, क्षेत्र आदिको कल्की भिराएर उनीहरुलाई बिभाजन गर्ने एउटै दर्शनको आधारमा उनीहरु चलिरहेका छन् । जनतालाई एकजुट पार्ने र राष्ट्रिय शक्ति निर्माण गर्ने कुनै चिन्ता र चासो उनीहरुमा देखा पर्दैन । उनीहरुले यस्ता कुनै कुरा अघि सार्न सकेका या चाहेका छैनन् । बरु त्यसको बिपरीत जालझेल र तिकडमबाजीको सहारामा उनीहरु निहीत राजनीतिक स्वार्थको बिस्कुन लगाइराखेका छन् । आजको देशको दलीय तह र सतहमा देखिएको राष्ट्रिय राजनीतिको तस्वीर यही हो ।
राजनीतिक क्षेत्रमा बढेको यस्तो छल कपटलाई उनीहरुले स्वभाबिकरुपमा लिएका छन् र त्यसो गर्ने कौशललाई नै आजको राजनीति हो भन्ने भाष्य र परिभाषा बनाउन खोजेका छन् । राजनीति अपबित्र र फोहोरी खेल तमासा हो भन्ने कुरा उनीहरुले निरन्तर दर्शाइरहेका छन् । यसरी कुटीलताको सीमा बनाघेर चल्नु नै राजनीतिक सफलताको द्योतककोरुपमा उनीहरुले लिइरहेका छन् । मानौं, उनीहरुप्रतिको जनताको बढ्दो अनास्था पनि जनताकै दोष हो । उनीहरुको होइन । यस्तो अबस्थामा लोकतन्त्रप्रति नै जुन गम्भीरतम प्रश्न खडा हुन्छ र आँच पुग्दछ यो सामान्य, सानोतिनो र चानेचुने कुरा बिल्कुलै होइन । यस अबस्थाले ब्यबस्थाकै बिकल्पको खाेजीतर्फ लाग्नु पर्ने बाटाे देखाउँदछ ।