न्यूजिल्याण्डमा बुधबार दिउँसो शक्तिशाली भूकम्प गएको छ । यो भूकम्पको तीव्रता ६ दशमलव १ म्याग्निच्युड रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । भूकम्पको केन्द्रविन्दु न्युजिल्याण्डको लोअर हटबाट ७८ किलोमिटर उत्तरपश्चिममा रहेको बताइएको छ ।
केहि दिन अघिदेखि समुद्री आँधी र डरलाग्दो बाढीसँग संघर्ष गरिरहेको न्यूजिल्याण्डलाई शक्तिशाली भूकम्पले हल्लाएको छ । न्युजिल्यान्डमा एकै साथ तीनवटा आकस्मिक प्रकोपका कारण अवस्था जटिल बनेको छ भने सरकारले संकटकालको घोषणा गरेको छ ।
न्युजिल्याण्डमा केही दिनयता ग्याब्रिएल नामक चक्रवातले विनाश मच्चाइरहेकाको थियाे । उक्त आँधीका कारण टापुमा लगातार भारी वर्षा हुनुका साथै हाल बाढीको अवस्था सिर्जना भएको छ । यसैलाई मध्यनजर गर्दै सरकारले यहाँ राष्ट्रिय संकटकाल घोषणा गरेको हो । यसैबीच बुधबारको भूकम्पभन्दा यहाँको अवस्था भयावह हुने सम्भावना छ । भूकम्पबाट भएको जनधनको क्षतिको हालसम्म कुनै विवरण प्राप्त भएको छैन ।
न्यूजिल्याण्डको स्थानीय मिडियाका अनुसार भूकम्पको पहिलो धक्का निकै शक्तिशाली थियो । भूकम्पले करिब ३० सेकेन्डसम्म जमीन हल्लिएको थियो । पहिलो धक्काबाट सडक र भवनहरूमा क्षति पुगेको बताइएको छ ।