सप्तरी, कञ्चनपुर । देशमा एक पछि अर्को आत्म हत्या गर्ने नेपाली नागरिकहरुको संख्या थपिदो । अहिले पुनः सप्तरीका एक जना महिलाले लघु बित्त र साहुहरुसँग लिएको ऋण तिर्न नसकेर आत्म हत्या गरेको खबर छ । ती महिला हुन् सप्तरी जिल्ला कञ्चनपुर नगरपालिका ९ बिष्णु मन्दिर टोलकी भीमबहादुर भूजेलीक श्रीमती ५८ बर्षीया शान्ताकुमारी भूजेल । उनी झुण्डिएको अबस्थामा भेटिएकी थिइन् ।
मृतकको शब पोष्टमार्टमा गरेर मृतकका परिबारलाई जिम्मा लगाइएको र यस घटनाको सम्वन्धमा थप अनुसन्धान भइरहेको सप्तरी जिल्लाका प्रहरी नायब उपरीक्षक(डीएसपी) नरेश सिंहले जानकारी दिएका छन् ।
मृतक शान्ताले विभिन्न लघुवित्त र साहुमहाजनबाट लिएको ऋण तिर्न नसकेपछि दिनैपिच्छे तनाव दिएका कारण मृत्यु रोजेकी स्थानीय बताउँछन् । भुजेल परिवारको सम्पतिको नाममा रहेको १० धुर घरघडेरी पनि एक वर्षअघि नै एकजना साहुको नाममा पास गरी ऋण लिएका थिए ।
त्यस घटनास्थलबाट फर्किएकी कञ्चनरुप नगरपालिकाकी उपप्रमुख मुना कुमारी पोखरेलले ऋणकै कारण तनावमा आएर शान्ताले आत्महत्या गरेको स्थानीयले बताएको जानकारी दिएकी छन् ।
केही दिन अगाडि उनका श्रीमान् भीमबहादुर उपप्रमुख पोखरेलकै घरमा एक रात बास बसेका थिए । भीमबहादुरले साहुमहाजनले आफूलाई ऋण तिर्न दबाब दिइरहेको कुरा सुनाएको पनि उपप्रमुख पोखरेलले सम्झना गरिन् ।
दुई वर्ष अगाडिसम्म भुजेल परिवार उपप्रमुख पोखरेलकै घरमा ज्याला मजदुरीमा काम गर्दै आएका थिए । भीमबहादुरलाई १ कठ्ठा जग्गा उपप्रमुखले भुजेलकै परिवारले दिएर घर बनाइदिएको थियो। भीमबहादुरका दुई दाजु–भाइ छन्। छुट्टिएपछि एक कठ्ठा जमिन दुई भाग पारेर १०–१० धुर लिए ।
उपप्रमुखका अनुसार मृतक शान्ताको २५ लाख जति ऋण छ । स्थानीयका अनुसार इन्फिनिटी लघुवित्त वित्तिय संस्था लिमिटेडको महुली शाखा र स्वावलम्बन लघुवित्त विकास बैंकको महुली शाखामा लामो समयदेखि शान्ता आवद्ध थिइन् ।
गत असार महिनामा महुली स्थित लघुवित्तका कर्मचारीहरु भुजेलको घरमै पुगेर सबै सामान लगेपछि उनी निकै तनावमा रहँदै आएकी थिइन् । मृतकशान्ताका तीन छोरा छोरी छन् । दुई छोरीको बिहे भइसकेको छ भने एक छोरा वैदेशिक रोजगारमा छन् । बुहारी माइतमा छिन् । भीमबहादुर र श्रीमती शान्ता घरमा बस्ने गरेका थिए ।
गएकाे पुस १० मा सप्तरीकै छिन्नमस्ता गउँपालिका–२ रामपुरका ४५ वर्षीय रामदेव मरिकले पनि ऋण तिर्न नसकेर आत्महत्या गरेका थिए । यसरी किसान र कृषि मजदुरहरू निरूपाय भएर मृत्यु बरणा गर्ने बिकल्प राेज्न बाध्य भएकाे स्थिति देखापरिरहेकाे छ ।