शुक्रबार, कार्तिक ७ गते २०८३

प्रेम दिवसमा प्रेमका केही कुरा !

फाल्गुण २, २०७९ मंगलबार
प्रेम दिवसमा प्रेमका केही कुरा !
Mohora.jpg
*सरस्वती माेहाेरा
"भारतीय पुरुषहरू अहिले पनि आइमाईहरूले परम्परागत काम गरिरहेको हेर्ने बानीको आदी छन्। तिनलाई बुद्धिमान आइमाईहरूको संगत त चाहिएको हुन्छ तर विवाह गर्नलाई होइन। एउटा सशक्त महिलाको साथको कदर गर्न उनीहरुलाई अहिले पनि आँउदैन।'- अमृता प्रीतम।
अमृता प्रितमले यस्तो किन भनिन् होला ? शाहिर लुधियानीलाई गाली गर्न? शाहिर पनि भारतीय पुरूष नै हुन्। अमृता प्रितम जस्तो प्रतिभाशाली , अत्यन्तै बौद्धिक सम्वेदनशील महिलाले सबै पुरूषहरूलाई एउटै डालोमा राखेर पकाउने जस्तो झोल कुरा किन गरिन् होला ? निश्चय पनि पुरूषभित्र पाइने एउटा जब्बर प्रवृत्ति,त्यसमा पनि जब्बर रूपमा भलाद्मी, बुद्धिजीवी भनौदा भलामानुष पुरूषहरूमा पाइने बनमानुष प्रवृत्तिलाई नै भनेका होलान्।यसो भन्दा शाहिर पनि बुद्धिजीवी नै हुन् भन्ने कुरा पनि बिर्सिनन् होला। त्यसो भए शाहिरलाई किन गाली गरेकाे होला?
ईश्मत चुगताई !..तसलिमा नसरीनले समाजसित विद्रोह गर्ने केटीहरूलाई समाजले 'नष्ट मे' बिग्रिएकी केटी भन्ने उपाधि दिन्छ भने झै ईश्मतलाई पनि बिग्रिएकी आइमाई, अश्लिलताको कुरा गर्ने समाज भाड्ने आइमाई जस्ता आरोपहरु सँधैभरि आइलाग्यो।त्यसो र उनको कुरा नगरौ। नसरीनको कुरा आइसकेपछि भनौ पुरुषसितको प्रेम सम्बन्धमा नसरीनको बिचार पनि त्यति हार्दिक भएननै। महादेवीले सानै उमेरमा विवाह गरिन्।तिनै विवाह गरेको लोग्ने पुरूषलाई नै प्रेम पनि गरिन् तर पछिबाट आफैंले प्रेम गरेको ती प्रेमी लोग्नेलाई आफ्नै खुशीले दुत्कारिन्। किन?यस्तै संसारभरिको दुखी आत्मा र गरीब असहाय मनहरूको दुःखपीडासित प्रेम गर्नसक्ने, जीवन साट्नसक्ने सहृदयी महाश्वेताको अग्निगर्भ जस्तो मुटुको एक कुनामा तर तुपारो र हिमपातहरू पनि सँधैभरि जसो बर्सीनैरह्यो।किन होला है ?
प्रेम गर्ने बौद्धिक, बुद्धिजीवी भनेका महिलाहरुको हाल यस्तो भएदेखि प्रेम गर्ने सामन्य महिलाहरुको जीवनको कुन गति होला ? कुन रूप होला?
यस्तै लेनिनले एकठाउँ कतै आफ्ना कमरेडहरूलाई हकार्दै कराउँदै भन्दै गरेको सुनेकी थिएँ--" हाम्रा कति त्यस्ता कमरेडहरू होलान् कहिलेकाहीँ जसले बिहानै उठेर आफ्नो हातले एक कप चिया बनाएर श्रीमतीलाई ओछ्यानमा पुर्याउँछन्। त्यस्ता कमरेडहरू हातको औलामा गन्ती गर्न सकिने नै होला।' यसो भन्नैपर्ने हुन्छ स्वास्नीमान्छेलाई प्रेम गर्ने सवालमा कमरेडहरूको हाल पनि उस्तै बेहालै छ वा यसो भनौ तेस्रो चौथो डाईमेन्सन जतैबाट हेरिए पनि हामी बाँचेको समाजमा प्रेमको हाल बेहाल ,चौपट्टै छ।
उसोभए जीवनलाई निस्सारतामा बुझ्ने, शुन्यवादमा बुझ्ने पारिजातको सकम्बरी वेश त? तर फेरि जे जस्तो भएपनि जीवन आशाले भरिएको छ। त्यसोभए जीवनसित निस्सारताको के साइनो शुन्यवादसित के सरोकार? त्यसलाई त पारिजातले लेखेको 'मैले नजन्माएको छोरो' कविता सुनाइदिए पुग्छ।भनौ काफ्का नित्सेको जीवनदर्शन भन्दा पारिजातको यथार्थवादनै मौलिक र भरपर्दो छ।
जीवनमा आशा र सपनाहरूको महत्व हुन्छ र भएजस्तै स्वास्नीमान्छेसित प्रेम गर्ने र सम्मान गर्ने कुराको पनि त्यतिनै महत्व हुन्छ र त्यो त्यतिकै स्वाभाविक कुरा पनि हो भन्ने कुराहरू निश्चय पनि विशिष्ट र जटिल बुद्धिवाला जीवहरूले भन्दा आौसत र सामन्य बुद्धिहरूले नै धेरै बुझ्ने कुरा व्यवहारबाट जगजाहेर नै छ। तथापि स्वास्नीमान्छेसित प्रेम गर्ने कुरा त्यति चानचुने भने होइन नै। स्वास्नीमान्छेलाई प्रेम गर्नु भनेको उसको जिँउदो जाग्दो अस्तित्वसित पनि प्रेम गर्नु हो अनि जिउँदो मान्छेको अस्तित्वसित प्रेम गर्ने कुरा गाह्रै कुरा पनि हो।
उसोभए अमृताको आरोपलाई गलत साबित गर्ने के कुनै पुरूष जन्मेनन् त? जन्मे।मन्टो जन्मे । मन्टो जसले सबै स्वास्नीमान्छेकोहरूको अस्तित्वलाई सम्मान गरेर र स्वास्नीमान्छेलाई शायद उनले जस्तो अरू कसैले खोई प्रेम गरे कि गरेनन् भन्नसकिन्न। त्यसो त पुरूषसत्तात्मक पितृसत्तावादी समाजको परिस्थितिले मन्टो जस्ता पुरूषहरू पनि जन्मने रहेछन् । भलै एउटा औंलामा गन्ती गर्न पनि नपुगोस्।
सो बुद्धिजीवी भन्दैमा सबै बिचारालाई गाली पनि नगरौ होला।हाम्रै वरपर छरछिमेकमा पनि धेरै नहोलान् तर देख्ने गरिन्छ -कतिपय पुरूषहरू घर परिवार, श्रीमतिप्रति प्रेम अनि समर्पण गर्नेमा कतिविघ्न प्रतिबद्ध छन् भने ती कतिपय प्रिय श्रीमतिबाट पनि पीडित छन् भलै ती पनि औलाको गन्तिमा अटाउने नै किन नहुन्। बढी जसो मध्यम वर्गीय श्रीमतिहरूबाट पीडित त्यस्ता बिचारा प्रेमी पुरूषहरू साचो प्रेम गर्ने हुँदा नै पिडित छन्। त्यसो र खास कुरा यो दुनियाँमा साचो प्रेम गर्ने प्रेमिल मनहरूनै पीडित हुँदारहेछन्।चाहे त्यो पुरूषको होस् या स्त्री।प्रेमिल मनहरूले नै आहत हुनुपर्ने रहेछ जहिले पनि। उसोभए के त? प्रेमिल पीडित मनहरू सबै सकम्बरी हुने त? मन थिएन जोगी हुने... गाँउदै हिँड्ने?
जीवन रहुञ्जेल आशा हुन्छ, सपना हुन्छ र त्यो आशा र सपनाको बाटो हिडँदै जाँदा कतिबेला जीवनसितको प्रेममा परिन्छ। धाहै हुन्न। प्रेम यस्तै हुनेरहेछ।
कुरूप यथार्थ र अप्ठ्यारोहरूको बीचमा पनि चुनौतिपूर्ण/ जोखिमपूर्ण जीवनसित प्रेम गर्नु गाह्रै हुन्छ। त्यसरी प्रेम गर्नु जीवनको लागि संघर्ष गर्ने कुरा झन गाह्रो होला। तर साचो प्रेमले जीवन संघर्षमा उर्जा दिने/स्फूर्ति थप्ने जेनी मार्क्सको कुरा पनि साचो होला। जेनीले मार्क्सलाई प्रेम गरिन् र शायद त्यसभन्दा बढी उत्पीडितहरूको पक्षमा प्रतिबद्ध,आजीवन संघर्ष गर्ने मार्क्सको प्रेमिल हृदय र बिचारसित नै उनले प्रेम गरिन्। प्रेम शायद यही होला !
 
*सरस्वतीजीकाे फेसबुकबाट साभार