काठमाडौं । आज यातायात ब्यवसायी र मजदूर आन्दोलनका कारण काठमाडौंमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । हरेक चोकमा प्रहरी खटिएका छन् । काठमाडौं उपत्यकामा अहिले सामान्य रुपमा गाडी चलिरहेको देखिएको छ । तर, आज गाडी कम चलेका छन् ।
यता महानगरीय ट्राफिक प्रहरी महाशाखाले निजी गाडी हिजो अस्तिकै सङ्ख्यामा चले पनि सार्वजनिक गाडीको सङ्ख्या आज कम रहेको जनाएको छ । यसरी नै बिहान काठमाण्डौदेखि छुट्ने लामो दूरीका गाडी पनि छुटेका ट्राफिक प्रहरीले जनाएको छ । यातायात व्यवसायीको आन्दोलनका कारण काठमाडौं उपत्यकाका सडकमा सुरक्षा व्यवस्थामा भने निकै कडाइ गरिएको छ ।
काठमाण्डौमा हिजो यातायात व्यवसायी र यातायात मजदुरहरुको आन्दोलन अनियन्त्रित बन्न जाँदा काठमाडौंको नयाँ बसपार्क र बालाजु क्षेत्र तनावग्रस्त बनेको थियो । ट्राफिक नियम मिचेबापतको जरिबाना बढाएको र पाँच पटकसम्म गल्ती गर्दा लाइसेन्स नै खारेज हुने कडा नयाँ नियमको विरोधमा यातायात मजदुरले नयाँ बसपार्क, बालाजु, गोङ्गबु, माछापोखरी लगायतका ठाउँहरुमा सडकमा गाडी तेर्स्याएर आन्दोलन गरेका थिए । आन्दोलनका कारण बिहानदेखि नै सडकमा स्थानीय रुटका र काठमाडौबाट छुट्ने लामो दूरीका गाडीहरु पनि रोकिएका थिए ।

यस स्थितिमा प्रहरीले बाटो खुलाउन बल प्रयोग गर्दा हिजो पटक पटक झडप भएको थियो । झडपमा प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरेको थियो भने प्रदर्शनकारीले ढुङ्गा हानेका थिए । आन्दोलनकारीले प्रहरीको गाडी जलाउनुको साथै अस्थायी पोष्ट समेत भत्काएका थिए।
ट्राफिक प्रहरीले पाँच पटकसम्म चिट काटेपछि ६ महिनासम्म गाडी चलाउन नपाउने नियमविरुद्ध हिजो सडकमा प्रदर्शन गरेका उनीहरुले सरकारले यसअघि गरेका सहमतिहरू पालना नगरेको भन्दै गाडी नचलाउने घोषणा गरेका छन् । आज सरकारले आन्दोलनमा रहेका व्यवसायी र मजदुरहरुसँग वार्ता गर्दैछ । व्यवसायी र मजदुरहरुको आन्दोलनका कारण बिद्यालयहरू पनि बन्द भएका छन् भने सर्बसाधारण यात्रु भने ठूलो मारमा परेका छन् ।