काठमाडौं । नेपालका परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा त् भारतका विदेश सचिव विनयमोहन क्वात्रा नेपाल भ्रमणमा आएका छन् । उनी नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज यहाँ आइपुगेका हुन् ।
क्वात्रा काठमाडौं आएलगत्तै उनी सचिवस्तरीय बैठकमा सहभागी भएका छन् । सचिवद्वय पौड्याल र क्वात्राले नेपाल र भारतबीच बहुआयामिक सहकार्यका विविध पक्षबारे छलफल गर्ने परराष्ट्र मन्त्रालयले जानकारी गराएको छ ।

दुइ पक्षीय बार्ताको अवसरमा उनीहरुबीच कनेक्टिभिटी, ऊर्जा व्यापार, कृषि, स्वास्थ्य, संस्कृतिलगायत द्विपक्षीय सहयोगका विविध विषयमा छलफल हुने जनाइएको छ ।
भारतमा विदेश सचिवको कार्यभार सम्हालेपछिको उनको यो पहिलो नेपाल भ्रमण हो । दुई देशबीचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भरतले भन्ने गरेको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकताअनुरुप यो भ्रमण भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।