कार्टुन : साभार

शिव भटराई
सुनिन्थ्यो राजनीति कुशल सञ्चालनको कला हो र कलाकार मानिस नै हो । र, त्यो राजनीतिज्ञ मात्र नभएर राजनीतिक खेलाडी पनि हो । शायद हाम्रो देश, समाज र राजनीतिको सेरोफेरो पृथ्वी नारायण शाहको विशाल नेपाल बनाउने राज्य बिस्तारको विजय अभियानले प्रस्थान गरेपछि नेपालले राष्ट्रको पछिल्लो आकृति लिँदै गर्दादेखि, जंगबहादरले सत्ता हत्याएर भौगोलि कसीमा मात्र होइन राजनीतिक स्वरुपको स्थायी चित्र निर्माण गर्दै गर्दासम्म पनि कुशल व्यवस्थपनको खाँचो देशले आफ्नो राजनीतिक स्वरुप निर्माणमा गर्नु पर्नेे जस्तो अनुभव सयद गरेको थिएन । र, बुद्धिबल भन्दा बाहुबलले प्रमुखता पाएकाले होला हाम्रो समाजको चेतनाको स्तर पनि त्यतिबेला बाहुबलीतिरै रमेरमाएको थियो ।
अब त त्यो स्थितिलाई ०७ सालको परिवर्तनले अलि परै पु¥याएर होला ! १७ साल पौष १ गतेको ‘राजा’लाई ०६३ सालले जनतामाझ पु¥यायो र हाम्रो राजनीतिक क्षीतिज अलि फराकिलो बनायो तर राजनीतिक खेल र खेलाडीहरुको खेल रचना महाभारतमा रचित युद्धकालीन ब्यूहरचना भनौ अथवा ‘चक्रब्यूह’ भन्दा पनि जटील ब्यूहरचनाहरु रचिन थाले । यो आधुनिक राजनीतिको अपरिकल्पित परिणाम हो । अथवा राजनीतिको आधुनिक विद्रुपीकरणको जीवन्तता । हामीजस्ता भुईंतहका मानिसको कल्पनाभन्दा पनि बाहिरको कुरा ।
भर्खरैको कुरा हो, कमरेड प्रचण्ड बालकोट दरबारको बार्दलीमा पुगे । भनिन्छ बालुवाटर दरवारले प्रधानमन्त्री र राष्ट्रपति दुवै देउवलाई नभइ नहुने भनेपछि बालुटारको ढोका अचानक बन्द भयो । कमरेड माधव कुमार नेपाल आफ्नै बालकुमारी निवासतिर फर्किए । समयचक्र चक्रवात् झैं घुमेको हो वा अलि विपरीत दिशातिर भन्न पर्खनै पर्छ । अन्ततोगत्वा प्रचण्ड ओली प्राङ्गणमा प्रविष्ट भए । जे भएपनि यो राजनीतिक ठट्यौली त नहोला तर पर्दा पछाडिका खेलाडी भने मित्र देश भित्र खोजेर यै हो ‘विदूषक’ भन्ने मौका समेत कसैले पाएनन् । बालुवाटार बैठकबाट बाहिर निस्केर सोझै बालकोट पुग्नेवित्तिकै परिदृष्य अर्कै भएको थाहा पाएका नेपाली जनताले माओवादी र एमाले त्यसमाथि थपिएका अन्य ४–५ दलले प्रधानमन्त्रीका लागि बहुमत पु¥याएर राष्ट्रपति समक्ष बुझाए । देशको नयाँ राजनीतिको नापनक्शा प्रस्तुत ग¥यो । राजनीतिक चातुर्यको यति ठूलो ठट्यौली जस्तो लाग्ने खेलका खेलाडीहरु निश्चय पनि दीव्य देवयन्त्र जस्तो चौकै दाउ पार्ने खेलाडी त विश्वकै थिएन । तर दुर्मतिले विगतमा सत्ता गुमाएका र अहिले पनि गुमाउने डिलडिलै पुगेका बामपन्थी भनिएका घागडान खेलाडी खड्गप्रसाद शर्मा ओली र न्वारानको नाउँ त छलिलाल शर्मा हो क्यारे तर चर्चित नाम प्रचण्ड भएका पुष्पकमल दाहाल नै थिए ।
कुरा अनौठो, काम यति चातुर्यपूर्ण ढंगबाट घटित हुनुमा छरछिमेकका बुद्धिवलीहरु पनि छक्क पर्ने कृत्य कसरी भयो ? प्रचण्ड ओलीसित मिल्नै नसक्ने, माधव नेपाल झन् धेरै ओली विरोधी, यस्तो स्वैरकल्पनाकामा रमाएका देउवा र उनकी धर्मपत्नी आरजु देउवाको छैठौं पटक प्रधानमन्त्री हुने ज्योतिष भविष्यवाणीले अझ धेरै बलवती बनाएको अवस्थामा निमग्न थियो बालुवाटारको शक्तिकेन्द्र भित्रको राजनीतिक वृत्त । काम र कुरा दुवै भिन्नभिन्न चुरी र धुरीका हुन् भन्ने सत्य उदांगियो । जब कमरेड पुष्पकमल दाहाललले ओलीका मुस्कानमा आफ्नो पनि मुस्कान मिसाए १६९ सांसदको बाहुली हस्ताक्षर सहितको बहुमत भएको पत्र राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाउन शीतलनिवासतिर सर्पट कसे । हाम्रो देशले आफ्नो राजनीतिक नियतिको नयाँ अध्यायलाई देखिरह्यो, हेरिरह्यो र लेखिरह्यो पनि ।
अनि नेपाली काँग्रेस आफ्नो पूर्व राष्ट्रिय काँग्रेसको राष्ट्रिय हटाए र नेपाली काँग्रेसमात्र भएको बेलादेखि कताकता खल्बलिएको कहिलेकहिले अल्मलिएको अनि ०१७ सालमा जिल्लिएको जस्तै जस्तै भएर प्रचण्डको प्रधानमन्त्री पदको सपथ ग्रहण समारोहमा पुग्यो । कमरेड माधव नेपालको अलिअलि टेढो नमिलेको हाँसोसँगै देउवाजीको नमिलेको हाँसो पनि मिसियो । २०७९ सम्बत्को चुनावी यात्राले नेपाल र नेपाली राजनीतिको क्षीतिजलाई उज्यालो छर्न नपाइएको जस्तो अनुभव पनि ग¥यो ।
‘समय’ र ‘राजनीति’ले नेपालको मलिलो भूमिमा खुबै लुकामारी खेले । खेल त हो राजनीति, अझ त्यसमा झेलको झोल मिसाएपछि परिस्थिति यही हुन्छ भन्न कसले सक्छ । भर्खरै जस्तो लाग्छ ओलीले प्रचण्ड र माधव नेपालसित पानी बाराबार गरेको सत्तोसराप सरापेको । र प्रचण्ड र माधव नेपालले पनि उस्तै उस्तै भाषा र बाणीमा ओली पुराण भट्याएको । यो लिला कृष्णलिला वा रामलिला नहोला तर हामी नेपालीहरुको जेजस्तो चेतन मन छ त्यसले ‘लिला’ ठट्यौली अथवा खेलवाडसित भने निर्धक्कसँग मितेरी लगाएको मीठो अनुभव भने गरेकै हुनुपर्छ ।
अब प्रचण्ड र ओलीको राजनीतिक परिच्छेद अथवा अध्यायको घनचक्कर–देश र राजनीतिक वृत्तले हेर्ने र बुझ्न बाँकी छ । वामदेव गौतमको बहुमुखी वाणी विलासको राजनीतिक आभा माधव नेपाललाई नेकपा मालेमा मिसाएर पुरानै नेकपा एमालेको पुनर्संरचना गर्ने छ तर त्यो सपनाले साकार रुप लिन नसके ओली–प्रचण्ड पथको सरकारभित्र अटसमटस गरी अटाइनअटाइ जसरी भएपनि ५–६ दलका झिना मसिना संस्थाका सांसदहरुका साथमा मनाउने खिचडी सरकारको निर्माण भएको छ ।
सरकार बन्नै पर्ने थियो, बन्यो देशले लिने दिशा र गतिको प्रारुप भने अझैं आउन सकेको छैन । शायद आउन बाँकी नै होला । चुनावताका मात्र हो प्रचण्डले ‘म’ प्रधान मन्त्री बन्छु भनेर मतदाता, आफ्ना धुपौरे र नेपाली जनमानसलाई भनेको । चुनावमा आफुले जितेपनि पार्टीले जितेको सीट संख्यामा चित्त नबुझेको भएपनि सत्तारोहण गर्न पाएकोमा भने प्रचण्डलाई कुनै पछुतो रहेन । तर माधव नेपाललाई भने पछुतोको कुनै सीमा नै नभएको हुनसक्छ । जे होस्, ओलीको ओठको मिठासपूर्ण मुस्कानमा अढाई वर्षसम्म पर्खनुपर्ने ‘पालो’ धेरै लामो पनि हुनसक्छ । वामदेव र विश्व पौडेलको माधव नेपालसिताको राजनीतिक आलम्बन अवलमबनले निर्माण गरेको भावी राजनीतिको त नयाँ भन्ने केहि होइन सत्ता संरचनामा अलाउद्दीनको जादूको छडीले जस्तै करामत गरेर नदेखाउला भन्न सकिन्न ।
जे होस्, अहिलेको हाम्रो देशको राजनीतिक कोल्टो फेराइको पक्ष वामपंथी राजनीतिको पटाक्षेप हुने दिशातिर गइरहने लख काटिरहेका तथा कथित उदारवादी प्रजातन्त्रवादी साथै होस्टेमा हैंसे मिलाउउन कम्मर कसेर तम्सिएका उपयोग र उपयोगितावादी राजनीतिक विश्लेषकहरु चित्त परेका छन् तर पनि माक्र्सवादी समाजवादको उज्यालो आउने लख काट्ने वामपन्थीहरुको मुखमण्डल(विचारजगत भने होइन) भने अलि मलिने हुनबाट बचेको छ । र माधव नेपालको पुनर्गमनलाई ओली प्रचण्डको भित्री मनसायले भित्रायो भने नेपालका सत्ताधारी कम्युनिष्ट पार्टीले मुख मिठ्याउने बातावरण बन्ने निधो छ । त्यो मुख मिठ्याइ छोटै समयको भएपनि किन नहोस् ।
तर अहिले छोटो समयमा नै पछिल्ला घटनाक्रमले तिनीहरु भित्रको प्रकट अप्रकट खिचातानीले पुनः अकार लिन थालेको छ । त्यसमा प्रतिपक्षमा रहनु परेको रनाहालाई तह लगाउन सरकारको समर्थन गर्न पुगेको नेपाली काग्रेसको समेत दाउपेचको अन्तरघुलनले कस्तो स्वरुप लिने हो भनि हाल्न त सकिदैन तर जे जस्तो भए पनि त्यसले राजनीतिक अस्थिरतालाई मलजल दिने कुराभने निश्चित प्रायः छ ।
हुन त नेपाल र नेपालीको राजनीति जीवनका स्तैयस्तै विगतका राजनीतिक यात्राहरु सम्भवतः ०७ सालको परिवर्तनले नचाहेर पनि निम्तिएका हुन सक्छन् । ०७ सालदेखि ०४७ सालसम्म राजतन्त्र र प्रजातन्त्रको आँखमिचौली खेल चल्यो । तर ०१७ सालको राजतन्त्रको रुप र ४७ सालमा संविधानभित्र बाँधिदासम्म राजनीतिक यात्राले चौबाटोबाट अघि बढ्न खोजेको जस्तो थियो तर नेपाली राजनीतिक घनचक्करले गिरीजा, प्रचण्ड, माधव–ओली, देउवा लगायतको सत्तालिप्सामा लुटपुटिएर सबैजसो राजनीतिक खेलाडीहरुको लहडबाजी भएर दिशाहीन हुन पुग्यो ।
हालको ओली–प्रचण्ड गठबन्धनभित्र अनुबन्धित जस्ता विविध रुप र रंगका पार्टी छन् तिनले यो सरकार पुरानै मतिस्थिति र परिस्थितिको पुनरावृत्तिमा पुग्ने संशय कायमै छ । तर एउटा सम्भावना भने रहेको छ ः चेत खाइसकेकोले हिजोको दिन नदोहोरियोस् भन्ने । हिन्दी सिनेमाको गीत ‘कभी खुसी कभी गम ....’ को धुन नेपालीका कानले पुनः सुन्नुनपरोस् भन्ने कामना !