काठमाडाैं । गएकाे माघ १ गते पोखरामा दुर्घटनाग्रस्त यती एयरलाइन्सको एटिआर–७२ जहाजको डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण तथा अनुसन्धान गर्ने काम सम्पन्न भएको दुर्घटना जाँच आयोगले जनाएको छ ।
उक्त दिन काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटिआर जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पश्चिमतर्फ (रनवे–१२) बाट अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको थियो । उक्त दुर्घटनाको छानबिन गर्न सरकारले गठन गरेको दुर्घटना जाँच आयोगले सिङ्गापुरस्थित ट्रान्सपोर्ट सेफ्टी इन्भेस्टिगेसन ब्यूरोमा फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर डाटा विश्लेषण गरेको थियो ।
यस बारे आयोगका सदस्यसचिव बुद्धिसागर लामिछानेका अनुसार डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर दुवैको डाटा विश्लेषण र अनुसन्धान गर्न आयोगका संयोजक, हवाई विज्ञ र सदस्यसचिवहरुलाई पठाइएकामा उक्त कार्य सफलतापूर्वक सम्पन्न गरी आयोगकका पदाधिकारी नेपाल फर्किएका हुन् ।
उक्त फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको डाटा विश्लेषण गर्न आयोगको नेतृत्वमा सिङ्गापुर, फ्रान्स, क्यानडा र आयसाका प्रतिनिधिसमेत बसेर प्राविधिक तथा मानवीय पक्षको विश्लेषण गरिएको आयोगले जनाएको छ ।
त्यस अवसरमा सिङ्गापुरस्थित एटिआर जहाजको सिमुलेटरमा विभिन्न फ्लाइट र प्राविधिक पक्षको थप अध्ययनसमेत भएको छ ।
विज्ञसहितको विश्लेषण र अनुसन्धानबाट दुर्घटनाग्रस्त जहाज अवतरण गर्ने क्रममा ‘बेस लेगमा दुवै इन्जिनका प्रोपेलरहरू फेदर’मा गएको देखिएको छ । उक्त जहाजका दुवै इन्जिन प्रोपेलर फेदरमा किन गयो भनी आयोगले प्राविधिक र मानवीय पक्षहरूको थप अनुसन्धान अगाडि बढाइसकेको आयोगका सदस्यसचिव लामिछानेले बताएका छन् ।
याे दुर्घटना भएको विमानको ब्ल्याक बक्समा रहेको उडान तथ्याङ्क (फ्लाइट डाटा) विश्लेषणको प्रारम्भिक नतिजाअनुसार दुवै इन्जिनका पखेटामा समस्या आएको पाइएको हो तर यो मानवीय वा प्राविधिक के कारणले हो भन्ने निष्कर्ष भने अझै पत्ता लागेको छैन ।
दुर्घटना जाँच आयोगले अन्तिम प्रतिवेदन पेस गर्न समय लाग्ने भएकाले हालसम्म प्राप्त सूचना र तथ्याङ्कको विश्लेषण र अनुसन्धानका आधारमा हवाई सुरक्षामा थप प्रभावकारी तुल्याउन सिफारिससहित प्रारम्भिक प्रतिवेदन ल्याउने तयारीसमेत गरेको आयोगले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
दुर्घटनाग्रस्त जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पश्चिमतर्फ ‘रनवे वान टू’बाट अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो । लगत्तै सरकारले दुर्घटना जाँच आयोग गठन गरेको थियो । आयोगले सिङ्गापुरस्थित ट्रान्सपोर्ट सेफ्टी इन्भेस्टिगेसन ब्यूरोमा फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर डाटा विश्लेषण गरेको थियो । आयोगका संयोजक, हवाई विज्ञ र सदस्यसचिव सिङ्गापुर गएका थिए । उहाँहरू अनुसन्धान र विश्लेषणपछि नेपाल फर्किएका छन् ।
