शनिबार, आश्विन १७ गते २०८३

वैदेशिक रोजगारमा जानेको संख्या ६४ प्रतिशतले वृद्धि हुँदा विप्रेषण आप्रवाह बढ्यो 

माघ २३, २०७९ सोमबार
वैदेशिक रोजगारमा जानेको संख्या ६४ प्रतिशतले वृद्धि हुँदा विप्रेषण आप्रवाह बढ्यो 

 
चालु आर्थिक बर्षको पहिलो ६ महिनामा विप्रेषण आप्रवाह २४.३ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको मुलुकको आर्थिक तथा वितीय स्थितिले विप्रेषण आप्रवाह  वृद्धि भई .५८५ अर्ब ८ करोड पुगेको देखाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.० प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.९ प्रतिशतले वृद्धि भई ४ अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.७ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति  लिने नेपालीको संख्या ६४.६ प्रतिशतले वृद्धि भई २ लाख ७५ हजार ६४३ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ९.५ प्रतिशतले वृद्धि भई १,४२,५४८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २९८.१ प्रतिशतले बढेको थियो ।

त्यसैगरी  यस अवधिमा खुद ट्रान्सफर २२.७ प्रतिशतले वृद्धि भई रु. ६४४ अर्ब ७२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ४.४ प्रतिशतले घटेको थियो । चालु खाता एवम् शोधनान्तर स्थिति अझै पनि सुधार आउन नसकेको  प्रतिवेदनमा उल्लेख छ । यस आ.ब.को हालसम्मको  अवधिमा चालु खाता रु. २९ अर्ब ४७ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु. ३५२ अर्ब १६ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ९५ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २३ करोड ३३ लाखले घाटामा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १९.१ प्रतिशतले कमी आई रु.४ अर्ब ४३ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.७४ करोड ९४ लाख पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.५ अर्ब ४८ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.११ अर्ब ३४ करोड रहेको थियो । यस समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.९७ अर्ब १० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२४१ अर्ब २३ करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ७३ करोड ४४ लाखले बचतमा रहेको छ । २०७९ असार मसान्तमा रु.१२१५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १०. प्रतिशतले वृद्धि भई २०७९ पुस मसान्तमा रु.१३३७ अर्ब २९ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति ०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा ०७९ पुस मसान्तमा ८.० प्रतिशतले वृद्धि भई १० अर्ब ३० करोड कायम भएको छ ।   कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति०७९ असार मसान्तमा रु.१०५६ अर्ब ३९ करोड रहेकोमा ०७९ पुस मसान्तमा १२.० प्रतिशतले वृद्धि भई रु.११८३ अर्ब ३७ करोड पुगेको छ ।