काठमाडौं । नेपालकाे नागरिक उड्डयन प्राधिकरण (क्यान) ले हवाई सेवालाई थप सुरक्षित र अझ भरपर्दो बनाउन उडान सुरक्षा सुधारका लागि ६ बुँदे निर्णय गरेको छ ।
यस उडान सुरक्षालाई नियमित रुपमा अद्यावधिक गर्दै थप सुदुढीकरण गरी हवाई यातायात सेवालाई अझै सुरक्षित, भरपर्दो, मर्यादित तथा अनुशासित बनाउने उद्देश्यले नयाँ नियम लागू गर्ने निर्णय गरिएको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले बताएका छन् ।
निराैलाले हवाई सेवा प्रदायक निकायको सेवा सञ्चालनप्रतिको व्यावसायिक जिम्मेवारी तथा जवाफदेहितालाई अभिवृद्धि गर्न पनि प्राधिकरणले पहल गरेको उल्लेख गरेका छन् ।
उनले हवाई सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने लक्ष्यका साथ प्राधिकरणले गरेको छ बुँदे निर्णयलाई कडाइका साथ लागू गरिने दाबी गरे ।
क्यानले गरेको नयाँ व्यवस्था अनुसार विमान चालक (पाइलट) को उडान सेवाा समय एक घण्टा कम गरिएको छ । त्यस्तै चालकले अहिले दैनिक उडान (टेकअफ) र अवतरण (ल्याण्डिङ) दुवै गरी दस पटकसम्म गर्न पाउने व्यवस्था रहेकामा अब त्यलाई पनि घटाएर आठ पटक मात्र बनाइएको छ ।
खशगरी छोटो धावनमार्ग भएका विमानस्थलमा उडान गर्ने बिमान चालकले ड्युटी समय प्रतिदनि आठ घण्टाबाट घटाएर सात घण्टा कायम गरिएको र लामो धावनमार्ग भएका विमानस्थलमा उडान गर्ने बिमान चालकको ड्युटी समय प्रतिदिन नौ घन्टाबाट घटाएर आठ घन्टा कायम गरिएको जनाइएकाे छ ।
थप गरिएका ६ बुँदे निर्णय यस प्रकार छन् :
क्यानका अनुसार हेलिकोप्टर बाहेक अन्य वायुयानले भिजुअल फ्लाइट रुल (झिएफआर) उडान अन्तर्गत ‘सस्टेनेबलाईज एप्रोच’ गर्दा ‘सर्ट टेकअफ एण्ड ल्याण्डिङ’ (स्टोल) विमानस्थलमा जमिनको सतहबाट कम्तीमा पाँच सय फिट तथा अन्य विमानस्थलमा कम्तीमा एक हजार फिट को उचाई अनिवार्य कायम गर्नुपर्ने ।
आउँदाे समर सेड्युल–२०२३ वाट लागू हुने गरी यान्त्रिक उडान हुने ‘कन्ट्रोल एरोड्रम’मा उडान गर्ने स्टोल वायुयान (ट्वीनअटर लेट ४१०, डोमियरलगातय) बाहेकका अन्य वायुयानहरुले इन्स्ट्रयुमेन्ट फ्लाइट रुल (आईएफआर) उडान अप्रेशन मात्र गर्न पाउने ।
वायुसेवा कम्पनीमा उडान गर्ने प्रशिक्षक पाइलटले अर्को पाइलट प्रोफेन्सी चेक (पिपिसी) गर्नु पूर्व सम्बन्धित वायुयान निर्माता कम्पनीको वा सो कम्पनीबाट सिफारिसप्राप्त संस्था-परीक्षकमार्फत् अनिवार्यरुपमा प्रोफेन्सी चेक स्किल टेष्ट गर्नुपर्ने व्यवस्था लागू गर्ने ।
त्यसरी नै वायुयान चालक दलका सदस्यको थकानको जोखिम न्यूनीकरण गर्ने उडानमा हाल कायम रहेको (उडानमा दुईभन्दा बढी चालकदलका सदस्य रही एक्टेन्डेड आवर उडान गर्न पाउने) सम्बन्धी प्रावधान अर्को व्यवस्था नहुन्जेलसम्म स्थगित गरिने ।
स्टोल रुटको उडान समय सीमालाई अधिकतम प्रतिदिन आठ घण्टाबाट घटाएर सात घण्टा कायम गर्ने तथा नन स्टोल रुटमा उडान समयसीमा अधिकतम प्रतिदिन ९ घण्टाबाट घटाएर आठ घण्टा र प्रतिदिन १० वटा कायम रहेको उडान रअवतरणलाई आठ वटा कायम गर्ने प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।