निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तय गरेको छ । राष्ट्रपति पदका लागि फागुन २५ गते बिहीबार र उपराष्ट्रपति पदका लागि आगामी चैत ३ गते शुक्रबार निर्वाचन हुनेगरी आयोगले आज मिति तोकेको हो ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त निर्णयका आधारमा आयोगले आजै निर्वाचन कार्यक्रमको तालिका सार्वजनिक गर्ने जानकारी दिए । आयोगले सोबारे नेपाल सरकारका मुख्य सचिव मार्फत नेपाल सरकार मन्त्रिपरिषद्लाई लेखी पठाउनेछ ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को व्यवस्था अनुसार आयोगले राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तीमा एक महिनाअघि वा अन्य कुनै कारणले सो पद रिक्त हुन आएमा त्यस्तो पद रिक्त भएको मितिले एक महिनाभित्र निर्वाचन हुने गरी निर्वाचनको मिति तोकी सोको जानकारी नेपाल सरकारलाई दिनु पर्नेछ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदैछ ।
वंशजको आधारमा नेपाली नागरिक भएको, पैंतालीस वर्ष उमेर पूरा भएको, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम, समावेश भएको, कुनै सङ्घीय कानूनले अयोग्य नभएको, कुनै लाभको पदमा बहाल नरहेको व्यक्ति राष्ट्रपति वा उपराष्ट्रपतिकाे पदमा उमेदवार हुन पाउने व्यवस्था रहेकाे छ ।