राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट प्रदेशगत रुपमा छनौट भएका नवनियुक्त बरिष्ठ सहायक प्रशासन सेवाका १७९ जना कर्मचारीहरुलाई चौध दिने पूर्व सेवाकालिन तालिम सञ्चालन गरेकाे छ ।
तालिमको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंक ग्राहकहरुलाई चुस्त गुणस्तरीय सेवा लिई संस्थाको उत्पादकत्व बृद्धि गर्न यो युवा जनशक्ति सक्षम हुने बताए । विभिन्न प्रक्रिया पार गरेपश्चात बैंकले एकपटक ठुलो संख्यामा युवा कर्मचारीहरुलाई नियुक्ति दिएको बताउँदै अनुशासित र लगनशील भई कार्य गर्ने कर्मचारी नै आफ्नो करिअरमा उत्कृट हुने अपेक्षा राखे । सहायक स्तरका कर्मचारीहरुको भर्ना प्रक्रिया समेत छिट्टै पूरा हुने र त्यसपछि बैंक नयाँ कर्मचारीलेयुक्त हुने उल्लेख गरे ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरु देवेन्द्ररमण खनाल र सरस्वती अधिकारीले नवनियुक्त कर्मचारीहरुलाई कार्यस्थलमा जिम्मेवारी बहन गर्दा अपनाउनुपर्ने कर्तव्य बोध गराएका थिए । कार्यक्रममा मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरेले नवनियुक्त बरिष्ठ सहायक प्रशासन सेवाका १७९ जना कर्मचारीहरुलाई बैंकको कर्मचारी सेवा विनियमावली बमोजिम शपथ गराएका थिए ।
बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २६५ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।