शुक्रबार, कार्तिक ७ गते २०८३

यो प्रजा परिषद बन्दीमा, अन्धकारमा, नारकीय राज्यमा जन्मेको कृष्ण भगवान हो, जनतालाई नरकमा डुबाएर आफ्नोमात्र सुखको ख्याल गर्ने आसुरी शासनको अन्त्य हुन्छ, यसैले अन्त्य गर्छ : शहिद धर्मभक्त

माघ १२, २०७९ बिहीबार
यो प्रजा परिषद बन्दीमा, अन्धकारमा, नारकीय राज्यमा जन्मेको कृष्ण भगवान हो, जनतालाई नरकमा डुबाएर आफ्नोमात्र सुखको ख्याल गर्ने आसुरी शासनको अन्त्य हुन्छ, यसैले अन्त्य गर्छ : शहिद धर्मभक्त
Dharma_bhakta.jpg
 
चन्द्रमणि गाैतम
धर्मभक्त माथेमा (वि.सं. १९६५) : काठमाडौँ जोरगणेश निवासी माथेमा खलक दरबारसँग हिमचिम भएको खातापिता परिवार थियो । धर्मभक्तका पिता आदिभक्त राणा शासनका सुब्बा थिए, र राणाहरूको आवश्यकताका सामग्री किनमेल गर्न उनी कलकत्ता (भारत) गईरहन्थे । वि.स.२००३ मा नेपाली राष्ट्रिय कांग्रेस स्थापना हुँदा आदिभक्तले पनि काँग्रेसलाई आर्थिक सहयोग/चन्दा दिए । छोरा धर्मभक्तले उतै (पहिले दार्जिलिङ मा र पछि कलकत्तामा) पढ्ने अवसर पाए ।
धर्मभक्त बंगाल च्याम्पियन शारीरिक सुगठक (बडी बिल्डर) थिए । उल्लेखनीय तथ्य यो पनि छ, शहीद धर्मभक्त र उनलाई मार्ने नर शम्शेर कलकत्तामा पढ्दाका साथी थिए । उनले घोडेजात्राको बेला टुँडीखेलमा शारीरिक तन्दुरुस्ती र व्यायामको प्रदर्शनी गर्दा राजा त्रिभुवन ज्यादै प्रभावित भएका रहेछन् । नर शम्शेर पनि धर्मभक्तको घरमा शारीरिक सुगठन तथा खेलकुदको अभ्यासका लागि जानेआउने गर्थे ।भनिन्छ, नर शम्शेरले नै धर्मभक्तलाई राजा त्रिभुवनको खेल प्रशिक्षकका रुपमा लिन सिफारिश गरे ।
धर्मभक्त खेलकूदका अतिरिक्त राजनीतिमा पनि त्यति नै इच्छा राख्दथे । बंगालमा बस्दा त्यहाँका स्वतन्त्रता सेनानी चित्तरन्जन दाससँग उनको भेट र क्रमशः घनिष्ठता बढ्दैगएको थियो । धर्मभक्त उतै आफ्नो व्यवसाय गरेर स्थायी बसोबास गर्न चाहन्थे । तर बीचमा त्यो योजना स्थगित भयो । उनी काठमाडौँ फर्किए ।
राजा त्रिभुवनको खेल प्रशिक्षक रहेकै बीच एक दिन राजा र प्रजापरिषदका नेताहरूको लैनचौरमा गोप्य बैठक भएको सूचना जुद्ध शम्शेरकहाँ पुगेपछि उनले आफ्नो रौद्र रुप देखाए । उनको उपरोक्त भनाई राजा त्रिभुवनसँगको भेटमा अभिव्यक्ति हो भनी ईतिहासकार भूवनलाल प्रधानले मसँगको भेटमा भन्नुभएको थियो ।
लैनचौरको त्यो भेटघाटपछि धर्मभक्त गिरफ्तार भए । उनलाई पनि राजद्रोहको जघन्य अपराध गरेको अभियोग लगाईयो । माघ १२ गते राती १२ बजेतिर पशुपतिनाथ जाने बाटो सिफलमा उनलाई फाँसीमा चढाईयो ।
बडीबिल्डर भएको कारण उनको प्राण जान निकै गाह्रो भएको थियो । मर्नुअघि पिशाब छोड्नु, नाक–मुखबाट अलिअलि रगत बग्ने स्थिति भयो ।
साभार  गाैतमजीकाे मुहारपुस्तिकाबाट