
लोकनारायण सुबेदी
आजको दुनियामा सत्ताको कुर्सी छोड्न कुनै नेता चाँहदैनन् । बरु जे जसरी हुन्छ साम, दाम, दण्ड, भेद गरेर जुनसुकै हालतमा पनि सत्तामा पुग्ने र त्यसैमा अबिछिन्न टाँस्सिरहने एक मात्र ध्याउन्न तिनीहरुको हुन्छ । त्यसैले सत्तामा गइसके पछि उनीहरुको कानको छाला धेरै बाक्लो हुन्छ, तिनले जनताको कुरा सुन्दैनन् भन्ने हाम्रो देशमा त सामान्य कुरा जस्तै भएको छ । सत्ताको लागि दृष्टिकोण,बिचार सिद्धान्त नीति, नैतिकता कुनै कुराको पनि ख्याल नराख्ने र कुर्सीमा पुग्न मरिहत्ते गर्ने कुरा नै आजको हाम्रो संसदबादी राष्ट्रिय राजनीतिको आम चरित्र भइरहेको देखिन्छ । जनता र राष्ट्रको हितमा उल्लेखनीय काम गर्न सफल भएर जनताले नै रुचाएर सत्तामा कुर्सीमा रहने कुनै त्यस्तो नेता दुर्लभै होलान् । अझ त्यसमा आफ्नो असफलता र असमर्थतालाई आत्मसात गरेर मैले कुर्सीमा बस्नु हुदैन, यो नैतिकता र इमानदरीता हुँदै होइन । यस्तो कुरा त हाम्रो देशमा बरु पञ्चायती कालमा एक–दुइ घटना देखिन्छ । तर बहुदल र गणतन्त्र कालमा त केवल कुर्सीका लागि जोरजुलमा गर्ने र त्यसमै झुण्डिरहने प्रबृत्ति नै प्रबलरुपमा परिलक्षित भइरहेको छ । यो कम शर्मनाक कुरा होइन । त्यस्ता नेताहरुका लागि सत्ताको कुर्सी नै सबभन्दा ठूलो सत्य कुरा हो । कुर्सीमा आजीवन कायम रहन उनीरुले बिचारधारालाई तिलाञ्जली दिन परोस, जनता र राष्ट्रकाके हित बिरुद्ध उभ्भिन परोस्, आफनो घोर बिरोधी पार्टीमा गएर मिसिन या साँठगाँठ गर्न कुनै बुधवार बार्नु पर्दैन । सहर्ष स्वीकारिन्छ ।
चुनावका बेला, सरकार बनाउने बेला कथित सहमतिका नाममा यस्ता दल चाहर्ने खेल तमासा कति भए भनिसाध्य छैन । कुर्सी पाउनका लागि चुनाव हार जितलाई पनि सहज किसिमले स्वीकार नगर्ने, हारे पनि कुर्सीमा रहिरहन अराजक र उद्दण्ड किसिमले उत्रने र कुनै मूल्य, मान्यता, मर्यादा जस्ता कुराको ख्याल नगर्ने बरु ती सबै मूल्य पद्धतिका बिरुद्ध खडा हुन पनि पछ नपर्ने चरित्र आज जताततै देखिन थालेको छ । केही बर्ष पहिला अमेरिकामा डोनाल्ड ट्रम्पको क्यापिटल हिल तोडफोड गर्ने गराउने कुरा कुरा होस् या हालै ब्राजिलमा नब निर्वाचित राष्ट्रपति लुला डि सिल्भाका बिरुद्ध पूर्ब राष्ट्रपति बोल्सोनारोको अनुयायीहरुले त्यहाँको राष्ट्रपति भवन, संसद भवन तथा सर्बोच्च न्यायालयमा समेत उदण्डता मच्चाए कुर्सीको लागि तोडफोड, गुण्डागर्दी, आगजनी जस्ता अराजक चरित्र पनि प्रदर्शन गर्ने निन्दनीय कुरा होस्, यस्ता अमान्य र अस्वीकाय घटना हुने गरेका छन् ।
हुन त केही दुर्लभ राम्रा उदाहरणहरु पनि छन् । हाम्रै देशमा २०४६को परिबर्तन पछि जन आन्दोलनका कमाण्डर मानिएका नेपाली काग्रेसका लौह पुरुष गणेशमान सिंहलाई संक्रमण कालमा राजा बीरेन्द्रले प्रधानमन्त्री बनाउन खोज्दा उनले त्यो पद बिनम्रतापूर्बक अस्वीकार गरेर अर्का नेता कृष्णप्रसाद भटराईलाई कुर्सी सुम्पिएको उदाहरण पनि छ । भारतकै कुरा गर्दा पनिे निर्वाचनमा बिजयी बनेर स्वभावतः प्रधानमन्त्रीको पद पाएकी सोनियाँ गान्धिले उनलाई बिदेशी नागरिक भनेर बिपक्षले कुरा उठाए पछि उनले आफु सर्लक्क पञ्छिएर एकजना अराजनीतिक अर्थबिद् ब्यक्तित्व डा. मनमोहन सिंहलाई प्रधानमन्त्री बनाइन् । उनले लाभको पदको प्रश्न उठ्दा पनि सांसद पदबाटै समेत राजीनामा दिएकी पनि थिइन् । त्यस्तै भारतका माक्र्सबादी नेता ज्योति बसुले प्रधानमन्त्रीको लागि आग्रह आउँदा त्यो आफ्नो दलको नीतिले ग्रहण गर्न योग्य नरहेको भनेर अस्वीकार गरेको पनि उदाहरण छ । दक्षिण अमेरिकी देश चिलीका निर्बाचित कम्युनिष्ट नेता साल्भाडोर आलेण्डे आफु मारिदैछु भनेर थाहा पाएर पनि मर्न तयार भए तर साम्राज्यबादी षडयन्त्रका अगाडि झुक्न चाहेनन् । बंगलादेशमा कहिले हसिना बेगम कहिले खालिदा जिया कुर्सीमा पुग्दछन् र प्रतिपक्षीलाई कारबाही गर्ने गर्दछन् । त्यहाँ दुइ बेगमहरुको कुर्सीको चकचकी चल्दै आएको छ । यसरी कुर्सीको अन्ध मोह नभएका नेताहरु बिश्वमा औंलामा गर्न सकिने मात्र छन् भने कुर्सीका लागि भने उमेर ढल्केर ढल्न लागेका र अस्वस्थ बनेका नेताहरु पनि कुर्सी छोड्न नचाहेका अनेक उदाहरणहरु छन् । त्यस्ता नेताको कुनै कमी छैन ।
अहिले पछिल्लो समय सत्ताको शीर्षमा रहेर स्वेच्छाले पदबाट बिमुख हुन थालेको अनौठो उदाहरण बन्नेमा अब न्यूजिल्याण्डकी प्रधानमन्त्री जेसिण्डा अर्डर्न अग्रसर छन् । उनले घोषणा गरिसकेकी छन् कि आउदो फेब्रुअरी ७ सम्ममा उनले लेबर पार्टीको नेताबाट राजीनामा दिदैछन् । त्यसपछि उनको उत्तराधिकारी निर्वाचन गर्नका लागि त्यहाँ चुनाव हुने छ। उनले आफ्नो घोषणामा भनेकी छन् कि बितेका छ बर्षसम्म यस ‘चूनौतिपूर्ण’ पदलाई सम्हाल्नका लागि उनी आफुले कडा मेहनत गरिन् । यस पछि अब आउदो चार बर्षमा उनीसँग योगदान दिनका लागि कुनै खाश कुरा बचेको छ्रैन ।
त्यसैले उनी अब आउदो चुनाव पनि लड्ने छैनन् । स्पष्ट छ कि न्यूजिल्याण्मा यसै बर्ष १४ अक्टोबरका दिन आम चुनाव हुनेछ । यस अघि २०२० मा भएको चुनावमा जेसिण्डा, अर्डर्नको नेतृत्वमा त्यहाँको लेबर पार्टीले ठूलो बहुमतकासाथ बिजय हासिल गरेको थियो । तर यताका पछिल्ला महिनाहरुमा पार्टी भित्र उनको लोकप्रियता घट्दै गएको थियो । यद्यपि प्रधानमन्त्री अर्डर्नंको भनाइ के छ भने लेबर पार्टी हार्ला भन्ने आशंकाले उनले राजीनामा दिइरहेकी होइनन्, बरु यसकारणले राजिनामा दिएकी हुन् कि लेबर पार्टीले बिजय हासिल गरोस् । एउटा यस्तो सबल नेतृत्व हामीलाई चाहिएको छ जसले चूनौतिहरुको सामना गर्न सकोस् । बडो स्पष्टताकासाथ जेसिण्डा आर्डर्नले यो कुरा स्वीकार गरेकी छन् कि जुन चूनौतिहरु उनको सरका आगाडि प्रस्तुत भइरहेका छन् तिनको सामना गर्नमा कही न कही उनको कमजोरी रह्यो । यो आफ्नो कमजोरी स्वीकार्ने कुरा कम महत्वको होइन ।
किनभने आजकल सत्ताको शीर्ष स्थामा बसेका मानिसहरु प्रायः सबैले आफ्नो असफलताको दोष अरुको टाउकोमा फालेर उम्किने असफल कोशिश गर्ने गर्दछन् र आफ्नो जबाफदेही बच्न खोज्ने गर्दछन् । तर न्यूजिल्याण्डकी बर्तमान प्रधानमन्त्री जेसिण्डाले आफ्ना क्षमता, कमजोरी र असफलताका सीमाहरुलाई प्रष्टसँग स्वीकारेकी छन् । के कुरा होइन भने उनले आफ्नो कार्य कालमा ठूल्ठूला चुनौतिहरुको सामना गरिनन् । भन्ने हो भने उनकै नेतृत्वमा सफलताकासाथ कोरोना महामारीको कालबाट न्यूजिल्याण्ड कुनै उल्लेखनीय नोक्सानी बिनै बाहिर निस्कन सफल भयो । जब कि त्यही कालमा अमेरिका र बृटेन जस्ता शक्तिाशाली मानिएका देशहरु त्राही त्राही बनिरहेका थिए भने न्यूजिल्याण्डमा तुलनात्मकरुमा जन जीवन सामान्य रहेको थियो । त्यसैगरी क्राइस्ट चर्च मस्जिदमा भएको आतंककारी गोलिकाण्ड चुनैतिको पनि जेसिण्डा आर्डर्नले सामना गरेकी थिइन् । उनले त्यतिबेला पीडित परिबारहरुसँग गला मिलाएर उनी हरेक किसिमका चरमपन्थीहरुको बिरुद्ध खडा छन् भन्ने सन्देश दिएकी थिइन् । चाहे त्यस्तो चरमपन्थी उग्रबादी घटना कुनै धर्मको आडमा नै फैलाइएको किन नहोस् भन्ने उनको प्रष्ट बिचार थियो ।
जेसिण्डा आफ्नो अहिलेसम्मको राजनीतिक जीवनमा अनेक कारणले चर्चामा पनि आएकी हुन् । जस्तो कि २०१७ मा जब उनी पहिलो पटक प्रधानमन्त्री बन्दा उनको उमेर केवल ३७ बर्षको मात्र थियो र त्यसरी बिश्वमा उनी सबैभन्दा कम उमेरकी राष्ट्रप्रमुख थिइन् । जून २०१८ मा उनले आफ्नो एउटा सन्तानलाई जन्म दिइन् र यसरी पाकिस्तानकी बेनजीर भूट्टोपछिकी बिश्वकी दोश्रो यस्तो महिला प्रधानमन्त्री बन्न पुगिन् जसले पदमा बहाल रहेका बेला सन्तान जन्माएर आमा बन्ने गौरब हासिल गरेकी थिइन् । त्यतिबेला उनले एउटा साक्षातकारमा भनेकी पनि थिइन् कि म काम गर्ने र आमा बन्ने पहिलो महिला अबश्य होइन । कयौं महिलाहरुले पहिला पनि यसो गरेका छन् । यसरी उनले प्रधानमन्त्री पदको दायित्वलाई पनि अरु कामकाज जस्तै ठानिन् र आफुर्लाइ एउटा अरु कामकाजी जस्तै एक महिलाकोरुपमा प्रस्तुत गरिन् । जन साधारण सरह आफुलाई ठान्ने यस्तो किसिमको सोच पनि आजका सत्ताधारीहरुमा दुर्लभै कुरा हो ।
भर्खरै आफ्नो पदबाट राजीनामाको घोषणा गर्दै गर्दा उनले भनेकी छन् कि – म यस आशा र बिश्वसकासाथ देशको नेतृत्व छोडिरहेकी छु कि देशको नेता यस्तो होस् जो राम्रो मनको हुनका साथै सक्षम पनि होओस्, संबेदनशील हुनका साथै निर्णय लिनसक्ने पनि होओस् अनि आशाबादी पनि होओस् र देशको काममा एकाग्रतापूर्बक लाग्न सकोस् र आफ्नो यस्तो ब्यक्तित्वको सार्थक छाप समाजमा छोड्न सकोस् । अनि उसलाई थाहा रहोस् कि कति बेला यो पद छोड्न पर्ने हो । जेसिण्डाले यो आखिरी वाक्यमा एउटा निकै गहिरो सन्देश दिएकी छन् कि नेतालाई के थाहा हुनु पर्दछ भने कतिबेला उसको उपयोगिता समाप्त हुन गइरहेको छ र उसले कुर्सीबाट उत्रिनु पर्दछ । यसरी अनिर्लिप्त किसिमले पद सम्हाल्ने ब्यक्त्विहरु बिरलै पाइन्छन् ।