चालु आर्थिक वर्षको ६ महिनामा १४.०५ प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ । सरकारले विनियोजन गरेको पुँजीगत खर्चमध्ये हालसम्ममा १४.०५ प्रतिशत मात्रै खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ । यता चालु खर्च भने ३८.४६ प्रतिशत भएको छ ।
अर्थ मन्त्रालयअनुसार चालु आर्थिक वर्षका लागि ३ खर्ब ० अर्ब ३ करोड ४५ लाख रुपैयाँ पुँजीगत खर्च छुट्टाइएको थियो भने ११ खर्ब ८३ अर्ब २३ करोड ५१ लाख रुपैयाँ चालु खर्च छुट्टाइएको थियो । साथै, वित्तिय खर्च २ खर्ब ३० अर्ब २१ करोड ७७ लाख रुपैयाँ विनियोजन गरेको थियो । सरकारले चालु, पुँजीगत र वित्तिय खर्च १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँको बजेट ल्याएको थियो ।
त्यसमध्ये पुँजीगत खर्च भने निकै कमजोर देखिएको छ । हरेक वर्ष पुँजीगत खर्च अपेक्षाअनुसार हुन सकेको छैन । यो वर्ष पनि पुँजीगत खर्च अपेक्षाअनुसार हुन नसक्ने तथ्याङ्कले देखाउँछ । सरकारले विनियोजन गरेको पुँजीगत खर्च अपेक्षाअनुसार गर्न नसकेपछि उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजीगत खर्च बढाउन र चालु खर्च घटाउन मन्त्रालयका सचिवहरुलाई निर्देशन दिएको छ ।
अर्थमन्त्रालयमा आयोजित देशको समग्र आर्थिक अवस्था र बजेट कार्यान्वयनका सम्बन्धमा छलफल कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजीगत खर्च र राजस्व परिचालनको अवस्था चिन्ताजनक रहेको बताउँदै राजस्व परिचानलमा कडाइका साथ प्रस्तुत हुन र पुँजीगत खर्चलाई विशेष प्राथमिकता दिएर काम गर्न निर्देशन दिएका छन् ।
नेपाल सरकारको स्रोतबाट खर्च हुने सबै शिर्षकहरुमा छुट्टाइएको रकम सोही शिर्षकमा मात्र खर्च गर्न, चालु प्रकृतिका खर्च निरुत्साहित गर्न, अनिवार्य दायित्व बाहेक कुनैपनि शिर्षकमा थप बजेट माग नगर्न आग्रह गर्दै उनले शोध भर्ना लिने कार्यलाई प्राथमिकता दिएको छ ।