शनिबार, आश्विन १७ गते २०८३

सुरक्षित हवाई सेवाको प्रत्याभूतिका हुने वातावरण बनाउः परिसंघ

माघ ६, २०७९ शुक्रबार
सुरक्षित हवाई सेवाको प्रत्याभूतिका हुने वातावरण बनाउः परिसंघ

 

नेपालमा सुरक्षित हवाई सेवाको प्रत्याभूतिका लागि चुस्त नियमन र प्रभावकारी अनुगमन आवश्यक रहेको नेपाल उद्योग परिसंघले जनएको छ । 

परिसंघले यती एयरलाइन्सको एटीआर जहाजको गत माघ १ गते पोखरामा भएको दुर्घटनाले गर्दा कोभिड १९ पछि बल्लतल्ल लयमा फर्कन थालेको नेपाली पर्यटन तथा उड्डयन क्षेत्रमा पनि असर पुर्याउन सक्नेतर्फ सजग हुनुपर्ने एक विज्ञप्तिमार्फत जनाएको हो। 

परिसंघको पर्यटन समितिद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विगतमा पनि नेपालमा भएका आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई दुर्घटनापछि त्यसको नकारात्मक असर हाम्रो पर्यटन उद्योगमा देखिएको हुँदा यस्ता दुर्घटनाले देशको दिगो समृद्धिका लागि बलियो आधारका रुपमा स्थापित हुँदै गरेको पर्यटन क्षेत्रलाई सुस्त बनाउने जोखिम पनि उत्तिकै रहन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘यसर्थ, यसो हुन नदिन तत्कालका लागि दुर्घटनाको अध्ययन गर्न गठित छानबिन तथा जाँच आयोगले वस्तुनिष्ठ, वैज्ञानिक, पारदर्शी र निष्पक्ष अध्ययन गरेर सोको प्रतिवेदन शीघ्र तयार पारी तथ्य सार्वजनिक गर्दै सरकारले नेपालको हवाई सुरक्षातर्फ आफू सजग र गम्भीर रहेको सन्देश राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा प्रवाह गर्नुपर्दछ। यसको थप विश्वसनीयताका लागि दुर्घटनाको छानबिनमा अन्तर्राष्ट्रिय विज्ञहरुको संलग्नता हुँदा राम्रो हुने हाम्रो सुझाव छ।’

‘संकटका बेला समन्वय र संचार अत्यन्तै महत्त्वपूर्ण रहने हुँदा राज्यको निकायबाट निजीक्षेत्रको लगानी संरक्षण हुने र गन्तव्यको छवि जोगिने गरी आवश्यक कदमहरु चालिनुपर्दछ भन्ने परिसंघको धारणा छ। ‘चुस्त नियमन तथा प्रभावकारीअनुगमन लगायतका आवश्यक उपायहरुको अबलम्बनसहित सुरक्षित हवाई सेवाको प्रत्याभूतिका लागि आवश्यक ठोस कार्य गर्न पनि परिसंघको पर्यटन समिति सरकारलाई आग्रह गर्न चाहन्छ’, विज्ञप्तिमा भनिएको छ।
 
पर्यटन नेपालीहरुको अर्थतन्त्रकै एक मौलिक प्रतिस्पर्धात्मक क्षमता र उच्च सम्भावना भएको क्षेत्र हो । ‘एक ठाउँबाट अर्को ठाउँमा यात्रा गर्दा गरिने गतिविधिबाट चलायमान हुने अर्थतन्त्र पर्यटन भएको भन्दै विज्ञप्तिमा करिब ८० प्रतिशत पर्यटक हवाई मार्गबाट यात्रा गर्ने र देशभित्रका सुन्दर तथा दुर्गम गन्तव्यहरुसम्मको यात्रा पनि अधिकांशरुपमा हवाई माध्यमबाटै हुने गरेको सन्दर्भमा सुरक्षित, भरपर्दो र विश्वसनीय हवाई सेवाको सुनिश्चितता गर्नुपर्ने जनाइएको छ । 

यसका साथै पछिल्ला केही दिनयता हवाई दुर्घटनासँग जोडेर सामाजिक सञ्जालहरुमा भ्रम सिर्जना गर्ने अपुष्ट सामग्रीहरुसमेत भाइरल भैरहेको र कतिपय विदेशी सञ्चार माध्यमले समेत तिनलाई सन्दर्भ मान्दा देशको साखमा नै आँच पुर्याउने जोखिम देखिएकाले सामाजिक सञ्जालमा यस्ता सामग्रीको प्रचारप्रसारमा निगरानी तथा नियन्त्रणका लागि पनि सरकारको सम्बन्धित निकायको परिसंघले ध्यानाकर्षण गराएको छ।