
लोकनारायण सुबेदी
माघे संक्रान्तिका दिन अर्थात गएको १५ जनवरी २०२३ का दिन जुन दुःखद बिमान दुर्घटना भयो र ५३ जना नेपाली र १५ जना बिभिन्न देशका बिदेशी नागरिक सहीत ७२ जना मानिसले अकाल मृत्यु बरण गर्नु पर्यो । त्यो अकल्पनीय त हो नै अनि त्यो ठूलो चिन्ता, अत्यन्तै भावुक र संबेदनशील बिषय पनि हो । हुन त नेपालमा यो पहिलो र ठूलो दुःखद दुर्घटना भने होइन । यद्यपि आन्तरिक उडानको यो अहिलेसम्मको सबैभन्दा ठूलो हवाई दुर्घटना भने अबश्य हो । यद्यपि बितेको २३ बर्षयता देशमा यस्ता ठूला साना १७ वटा बिमान दुर्घटना भइसकेका छन् । त्यस्ता दुर्घटनामा परेर ३०० भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् । तिनबाट हामीले उचित शिक्षा लिएर सम्बन्धित सबै क्षेत्रमा आवश्यक सुधार, सतर्कता र साबधानी बर्तिने गरे गरेनौं त्यो नै सबैभन्दा महत्वपूर्ण कुरा हो । यस प्रकारका अकल्पनीय दुर्घटनाहरुका लागि के हामीले बिग्रदो मौसम, चूनौतिपूर्ण पहाडी धरातल भनेर मात्र छुट्टी लिन मिल्छ ? के मानिसको सुरक्षित यात्रासँग गासिएका यस्ता बिमानहरुको आयु, अबस्था, बिमान चालहरुको अनुभव र बिमान रेखदेखको स्थिति, बिमान खरिद गर्दा दिनुपर्ने आवश्यक ध्यान आदि बिषयमा कुशल जिम्मेवारी निर्वाह गर्ने कुरामा उचित ध्यान दिनु पर्ने हो कि होइन ?
हुन त यति एयरको यो पछिल्लो दर्दनाक दुर्घटनाका कारण ठूलो पीडाको माहोलबाट यतिबेला देश गुज्रिरहेको छ । त्यस दुर्घटनामा स्वदेशी त्रिपन्न र बिदेशी १५ जना मानिसहरुको जीवन लिला एकै चिहान भएर समाप्त भएको छ । केही क्षण अघिसम्म बिमानमा सवार स्वदेशी तथा बिदेशी यात्रीहरु बिमान यात्राको जुन आनन्द लिइरहेका थिए एकै क्षण पछि ती एकाएक बिमानको आगोको लपेटामा कसरी परेर स्वाहा भए सम्बन्धित सबै पीडित परिबार जन तथा अरु देख्ने सुन्नेहरुको मनमा पनि यो प्रश्न उठेको छ र स्वाभाबिकरुपमा उठ्ने नै भयो ।
हुन त यस्ता बिमान दुर्घटनामा मौसमको खराबी, प्राबिधिक गडबडी, पाइलटको लापरबाही, असाबधानी आदि भनेर प्राय यस्ता सबै दुर्घटनाका बेला चर्चा चल्ने चलाउने गरिन्छ । तर यस्ता दुर्घटनाको यथार्थ कारण त बिमानको ‘ब्ल्याक बक्स’को छानबिन गरेपछि नै थाहा हुने कुरा हो । यद्यपि प्रायजसो पहाडी इलाकामा हुने बिमान यात्राका बेला मौसमको खराबीले गर्दा दुर्घटना भएको ठहर गर्ने गरिन्छ । तर यो यति बिमानको काठमाण्डौ–पोखरा उडानको बेला मौसम एकदम सफा रहेको सम्बन्धित सबैले बताएका छन् । अनुकूल मौसमको अर्थ बिमान उडनका बेला त्यो जहाज उडान मार्गको दृष्य प्रष्टता(भिजिबीलिटी) कस्तो रहेको थियो भन्ने कुरा हो । बदली या हुस्से लागेको थियो कि थिएन, थियो भने कस्तो थियो, बर्षा भइरहेको र बिजुली चम्किरहेको अबस्था थियो थिएन भन्ने कुरालाई हेरिन्छ । यी नै कुराको स्थितिले बिमानमा बिक्षोभ या सन्त्रास पैदा गर्ने गर्दछन् । यदि बिमानमा कुनै प्राबिधिक कमजोरी या गडबडी नभएको र बिमान चालक(पाइलट) अनुभवी भएको अबस्था छ भने साना तिना दुर्घटनाबाट यात्रीहरु सहजै जोगिन पाउँदछन् ।

नेपालको यो यति बिमान दुर्घटनाको भिडियो हेरेर अष्ट्रेलियाका बिमान बिशेषज्ञ जेअफ थोमसले प्राबिधिक गडबडी र बिमान परिचालकले नियन्त्रण गुमाएको स्थितिको मिश्रणको अनुमान लगाएका छन् । जस्ता किसिमले बिस्फोट हुनुभन्दा पहिला त्यो बिमान आकाशमा असन्तुलित भइरहेको देखिन्थ्यो त्यसबाट के कुरा प्रष्ट भएको बिमान उड्डयन बिज्ञहरु बताउँदछन् भने त्यसमा कुनै न कुनै प्राबिधिक गडबडी अबश्य थियो । जे कारण भए पनि ब्ल्याक बक्सको परीक्षणले बताउने कुरा माथि नै पनि भनिसकियो । यो घटाना पछि नेपाल सरकारले हतार हतारमा पहाडी क्षेत्रमा उडान भर्ने सबै जहाँजहरुको प्राबिधिक जाँचबुझलाई अनिवार्य तुल्याएको छ । यसले के प्रश्न उठाउँदछ भने के यो दुर्घटनाभन्दा पहिला यस्तो जाँचबुझको ब्यवस्था थिएन ? यदि यस्तो जाँचबुझ गरिने गरेको थिएन र प्राबिधिक गडबड हुँदा हुदै पनि बिमान उडाउन दिइन्थ्यो भने त्यस स्थितिको जिम्मेवार को हो ? के दुर्घटना भएको बिमान र त्यसमा जडान गरिएका आबश्यक यन्त्र र उपकरणहरुको समय समयमा उचित रेखदेख र जाँच भइरहेको थियो ? के यो यति बिमान सञ्चालहरुले बिमानको आबश्यक रेखदेखलाई गम्भीरतापूर्बक लिने गरेको थियो ? अनि बिमान उड्डयन प्राधिकरणले यस्तो रेखदेख ठिकसँग भए नभएको जाँच बुझ गर्ने गरेको थियो कि थिएन जुन मामोली खराबी पछि गएर यस्तो दुर्घटनाको कारक बन्यो ? यस्ता प्रश्नहरु उठ्नु र तिनको सत्यतथ्य प्रकाशमा ल्याउन माग गर्नु सर्बथा उचित छ ।
घटनापछि नेपाल सरकारले यसको छानबिन गर्न एक पाँच सदस्यीय समिति बनाएर त्यसलाई ४५ दिनको समय दिएको छ । दुर्घटनाग्रस्त एटीआर बिमान बनाउने कम्पनीको एउटा टिम पनि काठमाण्डौ आइसकेको छ । यसले पनि यो छानबिन समितिलाई सहयोग गर्ने छ । छानबिन पछि सबै यथार्थको खुलासा हुने सर्बत्र अपेक्षा छ ।
हाम्रो जस्तो पहाडी इलाकामा हवाई उडानका लागि बिमान परिचालक(पाइलट)लाई बिशेष र सही तालिम र प्रशिक्षण दिन असमर्थ रहेको अबस्था छ भने त्यसका लागि अन्तर्राष्ट्रिय सहयोग पनि लिने गरिन्छ । इण्टरनेशनल फाउण्डेशन अफ एभिएशन, यरोस्पेस तथा ड्रोनका समेत अध्यक्ष रहेका सनत कौशलका अनुसास बिश्वभरी नै यस्ता कयौं संस्थाहरु छन् जसले हवाई उड्यन सम्वन्धि आवश्यक तामिल तथा प्रशिक्षण दिने गर्दछन् । यस्ता संस्थाहरुसँग पनि यो दुर्घटनाको कारणहरुको छानबिन गराउन सकेमा त्यो बढी बैज्ञानिक बिश्वसनीय बन्न सक्ला । बिमान दुर्घटनाको अर्को कम चर्चा हुने कारण पाइलटको थकान पनि हो । यसको बारेमा निकै कम मात्र उल्लेख हुने गर्दछ भन्ने जानकारहरु औंल्याउँछन् । यदि थाकेका पाइलटलाई उडान भर्न लगाइन्छ भने त्यसले अनेक आशंकाहरु जन्माउँदछ नै । त्यसले निर्दोष बिमान यात्रीहरुको जीवनमाथि खेलबाड हुने खतरा पैदा हुन्छ । अनि बिमान खरिदमै कुनै सेटिङ्ग, अनुचित सम्झौता र भ्रष्टाचार त भएको छैन जसले गर्दा कमजोर स्थितिको बिमान खरिद गरिएको होस् र यो पनि एउटा गम्भीरतम बिषय हो । किनभने यो बिमान सञ्चालनलाई एउटा नाफाको ब्यापार पनि मानिने गर्दछ ।
कृषि पछि पर्यटन हाम्रो अर्थतन्त्रको महत्वपूर्ण पक्ष भएको कारणले हाम्रो जस्तो बढी पहाडी भू–धरातल भएको मुलुकमा हवाई यातायातको ठूलो आबश्यकता र औचित्य पनि छ । किनकि आजको ब्यस्त संसारमा यो द्रूत यातायात बिना अगाडि बढ्न पनि सकिदैन । त्यसैले यसलाई चुस्त, दुरुस्त र सही किसिमले सञ्चालका लागि बिमान खरिदेखि लिएर, यसको स्याहार सम्भार, नियमित रेखदेख र जाँचबुझ तथा पाइलट प्रक्षिण तालिम र तिनको आराम जस्ता ठूला साना सबै कुरामा आवश्यक सतर्कता र सावधानीको शतत सही ब्यबस्थापन भइरहेको छ कि छैन निरन्तर गम्भीर अनुगमनको आवश्यकता छ । यसो गर्न सकेमा मात्र यस्ता दुर्घटनामा परेर राष्ट्र र जनतालाई पुग्ने अकल्पनीय धनजनको क्षतिबाट जोगाउन पनि सकिन्छ र सुरक्षित हवाई यात्राको बिश्वसनीय अनूभूति पनि गराउन सकिन्छ ।