शनिबार, आश्विन १७ गते २०८३

उद्योगीमैत्री वातावरण बनाउन नवनियुक्त उद्योग मन्त्रीलाई परिसंघको आग्रह

माघ ४, २०७९ बुधबार
उद्योगीमैत्री वातावरण बनाउन नवनियुक्त उद्योग मन्त्रीलाई परिसंघको आग्रह


नेपाल उद्योग परिसंघले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग भेटवार्ता गरेको छ । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भेट गरी बधाई तथा शुभकामना दिँदै विद्यमान अर्थतन्त्र र औद्योगीकरणका विषयमा छलफल गरेको हो ।

परिसंघका अध्यक्ष अग्रवालले मागमा आएको उच्च संकुचन, उच्च ब्याजदर, लगानी योग्य पूँजीको अभाव जस्ता कारणले उद्योगी व्यवसायीको मनोबल निकै खस्किएको वेला मनोबल बढाउन र चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई पुनर्जीवित गर्ने नीति अवलम्बन गर्न आग्रह गरे । उनले औद्योगीकरणले मात्रै दिगो विकास प्राप्त गर्न सकिने र यसले पर्याप्त रोजगारीका अवसरहरु सृजना गर्न सक्ने हुँदा नेपालको औद्योगिकरणलाई उच्च प्राथमिकताका साथ अघि बढाउन अनुरोध गरे ।

परिसंघको सुझाव ग्रहण गर्दै माननीय मन्त्री भण्डारीले कार्यान्वयन गर्न सकिने सुझाव परिसंघसँग छलफल गर्दै अगाडि बढाउने प्रतिबद्धता जनाए । रोजगारीको अभावमा पलायन भइरहेको जनशक्तिलाई रोक्न र नेपालमै नयाँ रोजगारीका अवसरहरु बढाउनु आफ्नो लक्ष्य रहेको र औद्योगिक विकासबाट मात्रै यो सम्भव हुने उनले जनाए ।