पुष्प कमल दाहाल (प्रचण्ड ) प्रधानमन्त्री बनेको तीन हप्ता पछि मन्त्री मण्डलले पुर्णता पाएको छ । राजनितिक दलहरुबीच मन्त्रालय भागबन्डामा कुरा नमिल्दा मन्त्रीमन्डल विस्तारमा समय लागेको हो । आज नियुक्त भएका मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री भएकाहरुले राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएका हुन् । राष्ट्रिय प्रजात्नत्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री तथा ऊर्जा तथा जलस्रोत मन्त्रीको शपथ लिएका छन् । राप्रपाबाट सहरी विकासमन्त्रीमा उपाध्यक्ष बिक्रम पाण्डे र कानुनमन्त्रीमा ध्रुवबहादुर प्रधान रहेका छन् । राप्रपाबाटै दीपक सिंह उर्जा राज्यमन्त्री बनेका छन् ।
माओवादीबाट रेखा शर्मा सूचना, सञ्चार तथा प्रविधिमन्त्री र अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भएका छन् । यस्तै सुदन किराती पर्यटन तथा नागरिक उड्ययनमन्त्री र सुशीला श्रीपाली भौतिक पूर्वाधार राज्यमन्त्री भएकी छन् । माओवादीबाटै नारायणकाजी श्रेष्ठ यसअघि नै उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री भइसकेका छन् । नेकपा एमालेबाट रक्षामन्त्रीमा हरि उप्रेती, परराष्ट्र विमला राई पौडेल, स्वास्थ्य मन्त्रीमा पदम गिरी, महिला बालबालिका मन्त्रीमा भगवती चौधरी, ज्वालाकुमारी साह कृषि मन्त्री, राजेन्द्र राई भूमि व्यवस्था सहकारी मन्त्री भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याल श्रम र शिशिर खनाललाई शिक्षा मन्त्रीमा नियुक्त भएका छन् । यस्तै तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा बनेकी छिन् । रास्वपा अध्यक्ष रवि लामिछाने यसअघि नै उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका छन्।