पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको शोकमा सरकारले माघ २ गते सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । त्यसैगरी सरकारले दुर्घटनाको कारण छानबिन गर्न ५ सदस्यीय दुर्घटना जाँच आयोग समेत गठन गरेको छ ।
आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय आयोग गठन गरेको हो । आयोगको सदस्यमा हवाई विज्ञ नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मत सम्भार विषयका इन्जिनियर एकराज जंग थापा रहेका छन् ।
सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सहसचिव वुद्धिसागर लामिछाने रहेका सरकारका प्रवक्ता उपप्रधानमन्त्री तथा अर्थमन्त्ती विष्णु पौडेलले जानकारी दिए । त्यस्तै घटनाको बारेमा जानकारी लिन चाहने परिवार आफन्त सरोकारवालाका लागि त्रिभुवन विमानस्थलमा कल सेन्टर स्थापना गर्ने पनि सरकारले निर्णय गरेको छ । विमान दुर्घटनामा परेकाहरुको पार्थिक शरीर बुझ्न र आफ्नो ठाउँमा लैजान सहजीकरण गर्ने पनि उपप्रधानमन्त्री पौडेलले जानकारी दिए । सरकारले आन्तरिक उडानका सबै विमानहरुको प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ । बैठकले आगामी दिनमा आन्तरिक उडानमा दुर्घटना हुन नदिन अनिवार्य प्राविधिक परीक्षण गर्न सबै वायु सेवा कम्पनीहरुलाई निर्देशन दिएको छ ।
यसको अनुगमन नागरिक उड्डयन प्राधिकरणले गर्नेछ । त्यसैगरी नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरामा भएको जहाज दुर्घटनामा अहिलेसम्म २९ जनाको मृत्यु भएको पुष्टि गरेको छ । विज्ञप्ति जारी गर्दै १० महिला, १८ पुरुष र १ जना शिशुको मृत्यु भएको पुष्टि गरेको हो । जहाजमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए । उद्धार जारी रहेको प्राधिकरणले जनाएको छ ।