शनिबार, आश्विन १७ गते २०८३

एमसीसीविरुद्ध लप्सीफेदीबासी निरन्तर संघर्षमा, विद्युत् प्राधिकरणले वार्तामा बोलायो

पौष २९, २०७९ शुक्रबार
एमसीसीविरुद्ध लप्सीफेदीबासी निरन्तर संघर्षमा, विद्युत् प्राधिकरणले वार्तामा बोलायो

काठमाडौं । नेपाली जनताले निरन्तर बिराेध गर्दै रहेकाे विवादित अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का कारण जनताकाे उठिबास हुने भएपछि काठमाडौंको  शंखरापुर नगरपालिका–३ स्थित बोझेनीका स्थानीय जनता निरन्तर आन्दोलन गरिरहेका छन् ।

त्याे बिबादित एमसीसी परियोजना अन्तर्गतको सबस्टेसन मानवबस्तीमा निर्माण गर्न लागिएपछि स्थानीय जनताले त्यसको विरोध गरेका हुन् । त्यसक्रममा पटक पटक प्रहरी र स्थानीबीच झडपसमेत हुने गरेको छ ।

यसरी स्थानीयबासीहरू एमसीसी परियोजनाको विरोधमा उठ्दा परियोजना अघि बढ्न नसकेपछि नेपाल विद्युत प्राधिकरणले आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको छ।

त्यसकाे लागि शंखरापुर नगरपालिकाका प्रमुख रमेश नापित, वडाध्यक्ष सूर्य बहादुर तामाङसहित आन्दोलनरत पक्षलाई शुक्रबार दिउँसो ३ बजे वार्तामा बोलाइएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। वार्ता प्राधिकरणको प्रधान कार्यालय रत्नपार्कमा हुने जनाइएकाे छ।

त्याे सबस्टेशन निर्माणस्थलको जग्गा अधिग्रहण गर्दा सम्बन्धित जग्गाधनीहरुले राजीखुसीले मुआब्जा तथा क्षतिपूर्ति बुझेको, प्रारम्भिक वातावरणीय परीक्षण (आईई) तथा पूरक आईआईलगायतका सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरिएको, उपलब्ध विकल्पहरुमध्ये हाल छनोट गरिएको स्थान नै सबैभन्दा उत्तम रहेको तथा प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि बोलपत्र स्वीकृत भई ठेक्का सम्झौता गरी काम भइरहेकोले अहिले आएर सबस्टेसन अन्यत्र सार्न नसकिने भन्ने कुरा प्राधिकरणले बताएको छ।

दुइ नदी तामाकोशी तथा सुनकोशी तथा तिनीहरुका सहायक खोलाहरुमा निर्माण भएका तथा हुने जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन र स्थानीय रुपमा आपूर्ति लप्सीफेदीमा ४००/२२०/१३२/११ केभी सबस्टेसन निर्माण गर्न लागिएको बताइएकाे छ ।  

 त्याे सबस्टेसनमा रामेछापको नयाँ खिम्तीबाट सुरु भई सिन्धुपाल्चोकको बाह्रबिसे हुँदै लप्सीफेदीसम्मको ४०० केभी प्रसारण लाइन जोडिनेछ।

 त्याे  नयाँ खिम्ती–बाह्रबिसे–लप्सीफेदी ४०० के.भी. प्रसारण लाइन निर्माणको अन्तिम चरणमा छ। लम्सीफेदी सबस्टेसनबाट भक्तपुरको चाँगुनारायणसम्मको १३२ केभी प्रसारण लाइन र सबस्टेसन निर्माणाधीन छन्। चाँगुनारायण १३२ के.भी. सवस्टेसन सम्पन्न हुने चरणमा छ।

सबस्टेसनका लागि ५० जना जग्गाधनीहरुको एक सय ७० रोपनी जग्गा अधिग्रहणका लागि २०७४ जेठमा सार्वजनिक सूचना प्रकाशित गरी सोही वर्षको माघमा मुआब्जा तथा क्षतिपूर्ति रकम निर्धारण गरिएको जनाइएकाे छ। एक जना जग्गाधनीबाहेक सबैले मुआब्जा तथा क्षतिपूर्ति रकम राजीखुसीले बुझिसकेकाे पनि उल्लेख छ। मुआब्जा तथा क्षतिपूर्ति बापत करिब ५० करोड रुपैयाँ वितरण गरिसकिएको बताइन्छ। नेपाल सरकार तथा विद्युत प्राधिकरणको लगानी र एसियाली विकास बैंक (एडिबी) को ‘विद्युत प्रसारण विस्तार तथा प्रणाली सुधार आयोजना’मार्फत प्रवाह भएको सहुलितपूर्ण ऋणमा ती सबस्टेसनहरु तथा प्रसारण लाइन निर्माण भइरहेको हो।

तर अवरोधका कारण हालसम्म सबस्टेसन निर्माणस्थलमा कुनै पनि कार्य प्रगति हुन सकेको छैन। लप्सीफेदी सबस्टेसनको काम हालसम्म हुन नसकेको कारणले ठेक्का सम्झौताको म्याद १५ पुस २०८० (३१ डिसेम्बर २०२३) सम्म कायम गरिएको छ।

त्यहाँका स्थानीयले सडक मर्मत तथा विस्तार, खानेपानी योजना, विद्यालय भवन, गुम्बा निर्माण, स्थानीयलाई रोजगारीलगायतकामा राखेको जायज मागलाई आयोजना निर्माणका क्रममा प्राधिकरणले सम्बोधन गर्दै जाने पनि  बताएको छ।