नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै विदेशमा पैसा लैजानका लागि कडाइ गरेको छ । बैंकले विदेशमा कानुनले तोकेबाहेक कुनै पनि प्रकारको लगानी नगर्न आग्रह अनुरोध गरेको छ । पछिल्ला दिनमा नेपाली नागरिकले विदेशका विभिन्न क्षेत्रमा लगानी गरिरहेको भन्ने आसयका समाचार एवं विवरण सार्वजनिक भएपछि सूचनामार्फत् विदेशमा पैसा नलैजान सेचत गराएको हो ।
विदेशमा घर जग्गा खरिद, धितोपत्र खरिद, सम्पत्ति खरिद विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मालगायतका पुँजीगत प्रकृतिका कारोबार नगर्न समेत केन्द्रिय बैंकले सचेत गराएको छ । बैंकले त्यससम्बन्धी प्रचारप्रसार नगर्नसमेत आग्रह गरेको छ । केन्द्रीय बैंकले तोकिदिएको व्यवस्थाबमोजिमबाहेक विदेशमा भुक्तानी हुनेसम्बन्धी कार्य नगर्न नगराउन ध्यानाकर्षण गराएको छ ।
त्यस्तो कार्य गर्ने गराएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गर्ने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । विदेशी विनिमय (नियमित गर्ने ) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी यस्तो सूचना प्रकाशित गरिएको हो ।