शनिबार, कार्तिक ८ गते २०८३

पाँच महिनामा विप्रेषण आप्रवाह ४८० अर्ब ५० करोड 

पौष २९, २०७९ शुक्रबार
पाँच महिनामा  विप्रेषण आप्रवाह  ४८० अर्ब ५० करोड 


चालु आर्थिक बर्षको पहिलो पाँच महिनामा विप्रेषण आप्रवाह २३ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले सो देखाएको हो । यस अबधिमा विप्रेषश आप्रवाह २३ प्रतिशतले  वृद्धि भई रु.४८० अर्ब ५० करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ६.३ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.१ प्रतिशतले बृृद्धि भई ३ अर्ब ७१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.८ प्रतिशतले घटेको थियो ।  यस अवधिमा खुद ट्रान्सफर २१.६ प्रतिशतले वृद्धि भई रु.५३० अर्ब ६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ५.३ प्रतिशतले घटेको थियो । त्यसैगरी समीक्षा अवधिमा चालु खाता रु.३७ अर्ब ९१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.२९८ अर्ब ५१ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ५१ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २९ करोड ७२ लाखले घाटामा रहेको छ ।  

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २५.३ प्रतिशतले कमी आई रु.३ अर्ब ४७ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.६० करोड ४९ लाख पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.४ अर्ब ६४ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.७ अर्ब ७ करोड रहेको थियो ।  यस अवधिमा शोधनान्तर स्थिति रु.४५ अर्ब ८७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.१९५ अर्ब १ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६४ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३४ करोड ६८ लाखले बचतमा रहेको छ ।  २०७९ असार मसान्तमा रु.१२१५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ६.३ प्रतिशतले वृद्धि भई ०७९ मंसिर मसान्तमा रु.१२९२ अर्ब ५६ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति  ०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ मंसिर मसान्तमा ३.० प्रतिशतले वृद्धि भई ९ अर्ब ८२ करोड कायम भएको छ ।  

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति  ०७९ असार मसान्तमा रु.१०५६ अर्ब ३९ करोड रहेकोमा २०७९ मंसिर मसान्तमा ७.८ प्रतिशतले वृद्धि भई रु.११३९ अर्ब २२ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा रु.१५९ अर्ब ४१ करोड रहेकोमा ०७९ मंसिर मसान्तमा ३.८ प्रतिशतले कमी आई रु.१५३ अब ३४ करोड रहेको छ ।