
लोकनारायण सुबेदी
अहिले त देश र जनताको अग्रगामी शतत प्रगति र बिकासको निमित्त एउटा सिन्को पनि नभाँचेका र बैचारिक बौध्दिक र ब्यवहारिक कुनै दृष्टिकोणले पनि समाजलाई कुनै दिग्दर्शन गराउन सक्ने योग्यता र अनुभव नभएका मानिसहरुलाई समेत ठूलो नायक र जननेताकोरुपमा प्रस्तुत गर्ने गलत परम्परा बसे बसाइएको छ । यस्तो खालको आजको हाम्रो समाजको भीडमा क. पुष्पलाल जस्ता ब्यक्तित्वको चिन्तन, चरित्र र ब्यवहारको अध्ययन र मनन गर्नु वास्तवमा पुरातात्विक खोज अनुसन्धानगर्दा जस्तै धेरै घोत्लिनुपर्ने स्थिति खडा भएको छ । नेपालको सन्दर्भमा क. पुष्पलाललाई धेरै मानिसहरुले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्ने एउटा संस्थापक महासचिव तथा सामन्तबाद तथा साम्राज्यवादका बिरुध्द क्रान्तिकारी बाम तथा लोकतान्त्रिक शक्ति एकजुट पार्ने संयुक्त जन आन्दोलनको नीतिको नीतिकार र आह्वानकर्ताको रुपमा मात्र प्रस्तुत गर्ने गरेको पाइन्छ । तर यतिले मात्र उहाँको समग्र र सही ब्यक्तित्वको बिल्कुलै उजागर हुँदैन । आज हामी जुन समाजमा क्रियाशील छौ र जस्तो परिवेशमा बाँचिरहेका छौ त्यसलाई गम्भीरतापूर्वका आत्मसात गर्दा क. पुष्पलालको पनि सही किसिमले मूल्यांकन गरिएन भने देशको कम्युनिष्ट तथा लोकतान्त्रिक क्रान्तिकारी जन आन्दोलको भविष्य नै अपूर्व खतरामा पर्ने कुरा निश्चित छ । हो, निश्चय पनि कामरेड पुष्पलाल एउटा क्रान्तिकारी कम्युनिष्ट नेता हुनुभएकाले र यस आन्दोलनको मर्म र भावनालाई राम्ररी बुझेको ब्यक्तित्व भएकाले कम्युनिष्ट समाजको स्थापना र भविष्यकाप्रति उहाँको अखण्ड र अटुट निष्ठा त थियो नै । अनि त्यसै आधारमा नेपाली समाजलाई यसको अतित, बर्तमान र भबिष्यलाई समेत गतिशीलरुपमा राम्ररी बुझ्ने, केलाउने र सही निष्कर्श निकाल्न र अघि बढ्न मार्गदर्शन गर्ने दूरदर्शक र चिन्तक हुनुहुन्थ्यो वास्तवमा कामरेड पुष्पलाल !
हुन पनि नेपाली राजनीती र समाजको इतिहास बारेको उनको दृष्टिकोण र ब्याख्या अरु सबैखाले इतिहासबिद्हरुको भन्दा बेग्लै र कमरेड पुष्पलालकै शब्दमा ‘यथार्थ बस्तुस्थितिको आधारमा गरिएको बर्गीय बिश्लेषणको निचोड’कोरुपमा आएको देखिन्छ । त्यसैले अरुले जस्तो नेपालको समग्र इतिहालाई कामरेड पुष्पलालले बंशावली र घटनाहरुको बिवरणकोरुपमा रुपमा बिल्कुलै हेर्नुभएन बरु यसलाई मानब जातिको आजीविका के कसरी चल्दै आयो, जनताले के कसरी संघर्ष गर्दै आए र त्यस आजीबिकामा के कसरी परिबर्तन हुँदै आयो भन्ने एउटा गतिशील र द्वन्दात्मक परिप्रेक्षमा उनले नेपाली समाज बिकासलाई हेर्ने, केलाउने, बिश्लेषाण र संश्लेषण गर्ने काम गर्नुभयो । त्यसैले उहाँले नेपालका एकथरी इतिहासकारहरुले जस्तो नेपालको इतिहास भेडापालन, भैसीपालन, गाईपालनदेखि शुरु गरेर प्रस्तुत गर्ने जस्तो या अर्कोथरीले भारतको कुमाऊ गढवालतिरबाट यता नेपालतिर पसेका हिन्दू,धर्मावलम्बीहरु, खश बाहुनहरु र पछि भारतकै चित्तौरगढतिरबाट आएका राजपूत क्षेत्री र बाहुनहरुले यहाँका आदिबासीहरुलाई सभ्यता, सँस्कृति बिकासको बाटोमा डो¥याए भन्ने गर्दछन् यी इतिहासकारहरुले चाहेर वा नचाहेर नेपाली समाजलाई बिजेता र पराजितरुपमा प्रस्तुत गरेर जातिय बिद्वेषको बीऊ रोप्ने र मलजल गर्ने काम गरेका र गरिरहेका छन्,भन्ने कुरा दर्शाउँदै क. पुष्पलालले बिल्कुलै त्यसो गर्नु भएन, उल्टै त्यसको बिरुद्ध रहनुभये । क.पुष्पलालले इतिहासलाई जनताको आजीबिकाको संघर्ष र सोचको आधार र त्यसमा परिबर्तन हुँदै जाने जीवन्त र परिवर्तशील गतिबिधिकारुपमा हेर्ने र ब्याख्या गर्ने काम गर्नु भयो । यस सन्दर्भमा उहाँले लेखेको प्रसिध्द र पठनीय महत्वपूर्ण कृति ‘नेपाली जन आन्दोलन : एक समीक्षा’ एउटा ज्वलन्त र दूरगामी महत्वको उद्धाहरणीय कृति हो ।
निश्चय नै कामरेड पुष्पलाल इतिहासका माथि उल्लेख गरिए जस्ता गलत र परम्परागत अबधारणालाई सच्याएर यसलाई द्वन्दात्मक तर एकताबध्द गतिशील बिकासको रुपमा हेर्ने, ब्याख्या गर्ने र प्रस्तुत गर्ने तथा त्यसमा रहेका समस्याहरुलाई समाधान गर्ने प्रकृया र पद्धतिको क्रममा हेर्ने गर्नुहुन्थ्यो । अनि त्यसका लागि उहाँले बिभिन्न ऐतिहासिक तथ्य प्रमाणका आधारमा नेपालमा प्रचीन मातृसत्तात्मक समाज थियो भनेर औल्याउनु भएको र पुष्टी गर्नु भएको छ । उहाँले भन्नु भएको छ - कालान्तरमा मातृसत्तात्मक त्यो समाज त्यस्तो कुनै उल्लेखनीय उथलपुथलबिना नै बिस्तारै बिघटनको सँघारमा पुग्यो र त्यसको ठाउँ पुरुष प्रधान समाजले लियो । यस क्रममा त्यसको आदि स्वरुप ग्रामीण कबिलाई समाज र त्यसको मुखियाको रुपमा देखाप¥यो । तिनै कबिलाका मुखियाहरु नेपालका राजतन्त्रका बीज थिए । तिनै कबिला मुखियाहरुको आपसी संघर्षको क्रममा भूरे, टोले र टाकुरे राजाहरु देखापरे अनि ती भूरे, टोले र टाकुरे राजाहरुको परस्परको संघर्षबाट नेपालमा बाइसे, चौबिसे आदि राज्य र रजौटाहरुको उदय भयो । तिनको पनि परस्पर संघर्षबाट नेपालमा केन्द्रिय सामन्ती सत्ता राजतन्त्रको जन्म भएको हो र नेपालमा त्यसको नेतृत्व पृथ्वी नारायण शाहले गरेका हुन् । समाज बिकासको क्रममा यसको प्रगतिशील भूमिका देखिए पनि यो शोषणमा आधारित सामन्ती ब्यवस्था अन्तत बिघटन हुने र त्यसको ठाउँ नयाँ र त्यो भन्दा भिन्न उन्नत ब्यवस्थाले लिने बस्तुगत बर्गीय बिश्लेषणका आधारमा उहाँले उल्लेख गर्नु भएको छ । यसै आधारमा क. पुष्पलालले नेपालको शाहबंशीय राजतन्त्रलाई ‘राजतन्त्रको अन्तिम दीपशिखा’ भनेर जुन बिश्लेषण गर्नु भएको थियो आजको स्थितिले त्यसको प्रष्टसँग पुष्टी गरेको छ र उहाँलाई सप्रमाण नेपालको आधुनिक गणतन्त्रको पहिलो प्रबक्ता इतिहासले बनाइदिएको छ । यस परिपे्रक्षमा पृथ्वीनारायण शाहको भूमिकाका बारेमा पनि क. पुष्पलालको दृष्टिकोण भिन्न रहेको छ । बिभिन्न बिद्वानहरुले दक्षिणतिरको बढ्दो बृटिश साम्राज्यवादबाट नेपाललाई बचाउन र हिन्दू धर्मको पबित्रतालाई जोगाउन पृथ्वीनारायण शाहले सचेतरुपमा नेपालको एकीकरण अभियान चलाएका हुन भन्ने गरेका छन् । तर पुष्पलालले लेख्नु भएको छ कि पश्चिमका बाइसे चौबिसे राज्य र बिशेष गरेर बागमती प्रदेशका काठमाण्डौ, पाटन र भक्तपुरका तीन राज्य अन्तरगत नेपालमा एउटा नयाँ ब्यवसायी बर्ग उदाएको थियो र त्यस बर्गलाई एउटा बिस्तृत राष्ट्रिय बजारको आवश्यता थियो । तर बाइसे चौबिसे राज्यहरुको आपसी कलहले गर्दा र ती राज्यहरुका आ–आफ्नै राज्य नियम कानुनले गर्दा उदाउँदो ब्यवसायी बर्गको आवश्यकताको पूर्ति गर्न सम्भब थिएन र त्यो स्थिति सामाजिक प्रगतिको बाधक सावित भएको थियो । त्यसैले सामाजिक प्रगतिका लागि यो बन्धन तोडिनुपर्ने आवश्यकता थियो । यही नयाँ भौतिक परिस्थिति पृथ्वीनारायण शाहको नेपालको एकीकरण अभियानको मूख्य आन्तरिक प्रेरणा श्रोत थियो । यद्यपि बाह्यरुपमा त्यो धर्म युद्धकै रुपमा आएको किन नहोस् । त्यसैले नेपालको एकीकरणपछि उद्योगधन्धाको नयाँ युगको प्रारम्भ हुने उज्याला लक्षणहरु देखा पर्न थालिसकेका थिए । तर त्यसपछिको राज्य नेतृत्व ओगट् आएका सामन्ती सरदारहरुको कारणले गर्दा नेपाल साम्राज्यवादी शक्तिको चंगुलमा फस्न पुग्यो र नेपालको बिकासका यावत बाटाहरु बन्द हुँदै आए । सामन्तबाद र साम्राज्यवादको यो आपसी गठबन्धनको बन्धक भएको नेपालको अर्थ–राजनीतिक अबस्था नै आजको नेपालको भयावह गरीबी,अभाव, पछौटेपनाको मूल कारण बन्यो र रह्यो । त्यसैले कामरेड पुष्पलालले भन्नु भएको छ कि - सामन्तबाद र साम्राज्यवादको अन्त्य नै नेपाली समाजको उत्थान र प्रगतिको मूल बाटो हो । यही नै नयाँ जनवादी क्रान्तिको आवश्यकता र औचित्यको मूल आधार पनि हो ।
यस परिप्रेक्षमा नेपालको राजनीतिक बिकासको बारेमा पनि क. पुष्पलालको दृष्टिकोण पनि उन्नत र भिन्न छ । केन्द्रिय सामन्ती सत्ता स्थापना भए पछि राष्ट्रिय पुनर्जागरणको साटो समन्ती दरबारिया कलह बढ्दै गएर त्यस क्रममा आठपहरिया राणा जंगबहादुरले सत्ता कब्जा गरे पश्चात राजनीति ‘ए’ क्लासका राणाहरुबाट ‘बी’ क्लासका राणहरुमा सर्न थाल्यो । अनि ती ‘बी’ क्लासका राणहरुबाट भाइभारदार र तिनका नोकरचाकरमा राजनीति झ¥यो अनि नोकरचाकरबाट त्यो दरबारभन्दा बाहिर पनि पुग्न थाल्यो । बाहिर पुगेपछि राजनीति मध्यम बर्गको हातसम्म आइपुग्यो । त्यसै मध्यम बर्गले नेपालमा प्रजातान्त्रिक आन्दोनलको आरम्भ ग¥यो भन्ने कामरेड पुष्पलालको मान्यता रहेको छ । त्यो मध्यम बर्गको हातबाट पनि राजनीति अझ तल झर्दै ब्यापक जनताको हातमा अर्थात नेपाली मजदुर, किसानको हातमा पुग्ने आजको युगमा आइपुगेको छ भन्ने उहाँको बिश्लेषण रहेको छ । तर जबसम्म यस मध्यम बर्गको घेराबाट राजनीतिलाई मुक्त गर्न सकिदैन र त्यसैमा अल्झिरहन्छ त्यसबेलासम्म नेपाली राजनीतिले कुनै न कुनै रुपमा दरबारिया परिबृत्तबाट त्यो सम्पूर्णरुपमा फुत्किन सक्तैन र त्यसकै वरिपरी चक्कर काटिरहेको हुन्छ । त्यसले गर्दा परिवर्तनको बोध आम जन समुदायसम्म पुग्न पाउँदैन भन्ने जुन बिश्लेषण उहाँले गर्नुभएको थियो आजको स्थितिले त्यसको जिउदो जाग्दो प्रमाण दिइरहेको छ । त्यसैले ब्यापक जनताका बिचमा राजनीतिले पदार्पण गर्नु पर्दछ भन्ने मान्यता अघि सार्नुहुँदै क. पुष्पलालले नेपालको सन्दर्भमा राष्ट्रियता र जनवादको बारेमा के सार खिच्नु भएको छ भने ‘लाखौं लाख झोपडीको एकता नै राष्ट्रियता हो र उनीहरुको हक हितको सुरक्षा नै जनवाद हो’ । यस दृष्टिकोणबाट हेर्दा क. पुष्पलाललाई नेपालमा बर्गीय र जन केन्द्रित राजनीतिको जनक भन्न कसैले हिच्किचाउनु पर्ने देखिदैन । यो मूल्यांकनले वास्तवमा उहाँलाई न्याय मात्र गर्दैन, उहाँको क्रान्तिकारी बिचारको रक्षा र बिकास गर्न समेत मार्ग प्रसस्त गर्दछ । नेपाली समाजलाई परिवर्तनको सही दिशा र गति दिन कमरेड पुष्पलालका यी नै महत्वपूर्ण योगदानहरुको रक्षा र बिकासका लागि क्रान्तिकारी कम्युनिष्ट तथा सच्चा लोकतान्त्रिक शक्तिहरु एक हुनुपर्ने आजको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आवश्यकता बन्न गएको यथार्थ छ । यसमा निष्ठाबान हामी सबै गम्भीर भएर अघि बढ्नु अनिबार्य राष्ट्रिय बिकल्प भएको छ ।