काठमाण्डौ । ब्राजिलका लाेकप्रिय बामपन्थी नेता राष्ट्रपति लूला डि सिल्भाले शासन सत्ता सम्हालेकाे केही दिन पछि नै ब्राजिलका चरम दक्षिणपन्थी पूर्वराष्ट्रपति जैर बोल्सोनारोका सयौं समर्थकहरूले प्रहरी अवरोध तोडेर संसद, राष्ट्रपतिको भवन र सर्वोच्च अदालतमा आक्रमण गरेका छन् । राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले आक्रमणलाई तानाशाही भन्दै त्यसको निन्दा गरेका छन् ।

ब्राजिलकाे झण्डाको हरियो र पहेंलो रंगकाे लुगा लगाएका प्रदर्शनकारीहरूको सागर राज्यका तीन वटै शक्तिमा पुगेर हमला गरेका थिए । चकित पार्ने तस्बिरहरूले सन् २०२१ को ६ जनवरीमा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूले अमेरिकी क्यापिटल भवनमा गरेको आक्रमणलाई झल्को दिएको अन्तर्राष्ट्रय न्यूज एजेन्सीहरूले खबर दिएका छन् ।
ब्राजिलकाे दक्षिणपूर्वी शहर अराराक्वारामा गम्भीर बाढीले प्रभावित क्षेत्रको भ्रमण गरेका लुलाले ब्राजिलियामा संघीय हस्तक्षेप घोषणा गर्दै आफ्नो सरकारलाई राजधानीमा कानून र व्यवस्था पुनर्स्थापना गर्न विशेष अधिकार दिएकाे बताइएकाे छ ।