शुक्रबार, कार्तिक ७ गते २०८३

सबका दिलले अब देश चिनोस् !

पौष २४, २०७९ आइतबार
सबका दिलले अब देश चिनोस् !
Hawkins.jpg
 
तोटक छन्द
----------------------------------------------------------------
जब मानव आउँछ टेक्न यहाँ
अनि थाल्दछ जीवन लेख्न यहाँ
प्रिय सुन्दर कर्म गरेर हिँडोस्
सबका दिलले अब देश चिनोस्।१।
 
जल अन्न सधैँभरि मिल्छ जहाँ
अनि जीवन फुल्छ र फल्छ जहाँ
त्यसको उपयोग बराबर होस्
सबका दिलले अब देश चिनोस्।२।
 
अति भार र निर्मम दोहनले
क्षय गर्नु हुँदैन रुखोपनले
अपराध गरेर धरा नगुमोस्
सबका दिलले अब देश चिनोस्।३।
 
शिर पाउ लुकाउन देश रहे
सुख शान्ति हुने परिवेश रहे
धरतीसँग बन्धन त्यो नछिनाेस्
सबका दिलले अब देश चिनोस्।४।
 
अपवित्र विचार कुभाव नहोस्
दिलदार उदार सुवास बहोस्
रिस राग मनुष्य लिँदै नलियोस्
सबका दिलले अब देश चिनोस्।५।
 
मत एक र मेलमिलाप जुटोस्
अनि उन्नति मूल बनेर फुटोस्
भव कल्मषहीन विशुद्ध बनोस्
सबका दिलले अब देश चिनोस्।६।
 
दुनियाँ अति सज्जन बन्न सकून्
जय देश झुकीकन भन्न सकून्
ममतामय चिन्तन चेत बनोस्
सबका दिलले अब देश चिनोस्।७।
 
सब जात र धर्म अनेक कला
सँग जोडिनु पर्दछ हात गला
अनि तागत बढ्दछ कष्ट छिनोस्
सबका दिलले अब देश चिनोस्।८।
 
मतभेदविहीन समाज बनोस्
जननी समतुल्य छ राष्ट्र भनोस्
अभिमान अवाञ्छित दूर रहोस्
सबका दिलले अब देश चिनोस्।९।
 
रमणीय र सुन्दर राख्न धरा
पसिनासँग मिच्न र गाल्न गरा
कर कौशलले व्यवधान छिनोस्
सबका दिलले अब देश चिनोस्।१०।
--------------------------------------------------------------------
समस्या स्रोत : मेकासाम
5
 
4 comments
 
Like
 
 
 
Comment