
लोकनारायण सुबेदी
आज बिश्वमा रुसी तेलमाथिको प्रतिबन्धले तेल संकट मात्र बढाएको छैन ठूलो चिन्ता पनि उत्पन्न गराएको छ । बिश्लेषकहरु भनिरहेका छन् कि बिश्वले एउटा अर्को ठूलो ‘तेल झट्का’ बेहोर्न बाध्य हुनु पर्ने स्थिति संघारमै आइपुगेको छ । रुस बिश्वमा तेलको सबैभन्दा ठूलो निर्यातक देश हो । अनि यूरोपेली संघ त्यो तेलको सबैभन्दा ठूलो आयातकर्ता हो । यूरोपेली संघले यतिबेला रुसी तेलको सामुद्रिक बाटो भएर हुने निर्यातमाथि प्रतिबन्ध लगाएको छ र डिसेम्बर २०२२ मा यूएस डलर ६० प्रति ब्यारेलको मूल्यमा क्याप लगाइदिएको छ । यो रुसी तेलमा मूल्य क्यापिङ्ग(परिसीमन)का लागि यूएसए, जी–७ र अष्ट्रेलियाका अनुरुप छ भनिन्छ । यसबाट अप्रसन्न र क्रुद्ध भएको रुसले प्रतिरोधी जबाफी कारबाही अघि बढाउँदै १ फेब्रुअरी २०२३ देखि ६ महिनाका लागि १ जुलाई २०२३ सम्म ती देशहरुमा तेलको निर्यातमा प्रतिबन्ध लगाउने भएको छ ।
यो रुसी तेलको झण्डै ८० प्रतिशत निर्यात पानी जहाजबाट हुने गर्दछ । तीमध्ये अधिकांश जहाजहरु बीमा अधिनियम अन्तरगत रहेका छन् जुन अन्तर्राष्ट्रिय समूह (आईजी)द्वारा प्रदान गरिएको हुन्छ । अन्ततः यूरोपेली संघद्वारा यो सामुद्रिक प्रतिबन्धले रुसी तेल स्थानान्तरित गर्नका लागि पश्चिमा पानी जहाज सञ्चालक(शिपर)हरुलाई प्रतिबन्धित तुल्याइदिन्छ । यी दुइवटा कदम या चाल – समुद्रीक बीमा प्रतिबन्ध र मूल्य सीमांकनले अझ कठिन स्थिति पैदा गर्नेछन् ।तेल निर्यात र आयातमाथिका यी प्रतिबन्धकारी गतिबिधिलाई हेर्दा यो बर्ष २०२३ मा बिश्वमा तेलको मूल्यमा थप बृद्धि हुने कुरा निश्चित प्रायः छ । यसको प्रभाव बिश्वमा शतप्रतिशत र आंशिकरुपमा नेपाल लगायत तेल आयात गर्ने सबै देशहरुमा पर्ने कुरा पनि निश्चितै छ । त्यसले मुद्रास्फिति पनि बढाउने र अरु सामानको पनि मूल्य बृद्धि हुनजाने छ ।
तर रुसले मित्र देशहरुलाई तेल आपूर्ति गर्ने बैकल्पिक उपायहरु पनि गरिरहेको छ । उदाहरणका लागि रुसको बीमालाई भारतीय तेल प्रशोधन गर्ने रिफाइनरीहरुले स्वीकार गरिसकेका छन् । त्यसले गर्दा रुसी तेल आपूर्तिकताहरुले आफ्नै पानी जहाजहरु र शिपिङ्ग ब्यबस्थाको उपाय र उपयोग गरेर यूराल तेल परिबहनलाई भारतमा यो ब्यापार आफै सम्हाल्ने प्रयास गरिरहेको बताइएको छ । यसका अतिरिक्त भारत सरकारले पनि नौवटा भारतीय बैंकहरुलाई रुसी बैंकहरुमा वोस्ट्रो खाता खोल्ने अनुमति दिइसकेको छ । यसबाट करेन्सी स्वीपिङ्ग डिलमा रुपैयाँको कारोबारमा रुसी तेलको आयातको समस्या समाधान गर्न सहज हुनजान्छ । भारतीय यूको बैंकले रुसी गजप्रम बैंक र बिटीबी बैंहरुसँग खाता खोलिसकेको कुरा पनि प्रकाशमा आइसकेको छ ।
२०२२÷२३ को ६ महिनाभित्र भारतको रुसबाट तेलको आयात पहिलाकोभन्दा २ प्रतिशत मात्र बढेर १८ प्रतिशत पुगेको थियो । अनि अप्रिल–अक्टोबर २०२२ को क्रममा भारतले रुसबाट २४,१३९ हजार टन तेल आयात गरेको थियो । २०२१ अबधिमा त्यो २,९६८ हजार टन मात्र थियो । यसले रुसबाट भारतको तेल आयातमा ८७.५ प्रतिशतभन्दा बढी बृद्धि भएको दर्शाउँदछ ।
यूरोपेली संघको प्रतिबन्ध पछि चीन र भारत रुसी तेलको सबैभन्दा बढी आयातकर्ता देश बनेर उदाएका छन् । सानो परिबहन मार्गका कारण भारत चीनभन्दा रुसी उरालसिल किन्नका लागि बढी राम्रो स्थितिमा रहेको र भारतका रिफाइनरीहरु रुसी तेल प्रशोधनका लागि बढी उपयुक्त रहेको पनि बताइदैछ ।भारतले रुसद्वारा प्रदान गरिएका जहाज र बीमा कभरहरुलाई मान्यता दिइसकेको छ जुन यतिबेला यूरोमा मान्यता प्राप्त छैनन् ।
तेल पर्यबेक्षकहरुले आकलन गरिरहेका छन् कि रुसबाट तेललाई स्वीकृति या मञ्जुरी दि‘ने देशहरुका बीच हुँदै आएको गोलाबारी र रुसद्वारा फर्काउने कारबाहीले गर्दा भारत र चीनलाई लाभ प्राप्त गर्नमा सहयोग पुगेको छ । रायटरका कथन अनुसार ‘कतिपय सौदाका लागि डिसेम्बर २०२२ मा भारतीय बन्दरगाहमा यूरालको मूल्य, जहाजहरुद्वारा बीमा र आपूर्ति सहीत मासिक सरदरको तुलना गर्दा १२ देखि १५ अमेरिकी डलर प्रति ब्यारेल जतिको मूल्य तल झरेको छ’ ।
रुसी तेलको मूल्य भारतमा आयातित तेलको सरदर बास्केट मूल्य निकै कम थियो । अप्रिल–अक्टोबर २०२२ का बेला, जबकि तेलको औसत टोकरी मा तेलको मूल्य १०२.५ अमेरिकी डलर प्रति ब्यारेल रहेको थियो भने रुसी तेलको औसत मूल ९४.१ अमेरिकी डलर रहेको थियो । अन्य प्रमुख आपूर्तिकर्ताहरुको मूल्य तेलको बास्केट मूल्यभन्दा माथि रहेको थियो । प्रष्ट छ, यसबाट भारतलाई तेल आयात गर्नका लागि गरिने खर्चमा बिदेशी मुद्राको बचत भएर ठूलो लाभ प्राप्त हुन्छ । अप्रिल–डिसेम्बर २०२२ का बेला भारतलाई रुसी तेल आयातमा बृद्धि गर्दै १.५ मिलियन डलर लाभ भएको थियो । यसले प्रदर्शन गर्दछ कि रुसको तेलमा भारतको निर्भरता बढ्ने छ र ओपेक र तेल सम्पन्न देशहरुबाट भन्दा बढी खरित भारतले गर्ने सम्भावना बढन जानेछ ।
रुसमाथि भारतको तेल निर्भरता र एशियामा तेलमा बिबिधता ल्याउने रुसको इरादाको नयाँ प्रक्षेपबक्र भारतको तेल अर्थब्यबस्थालाई दुइटा लाभ प्रदान गर्नेछ । पहिलो यसले भुक्तान सन्तुलन(बीओपी)मा दबाब पैदा गर्ने छ । भारतको कूल आयातको लगभग पच्चौं अंश कच्चा तेलको आयता सामेल छ । बास्केटमा रुसी कच्चा तेलको सबैभन्दा कम मूल्य र रुसी सामुद्रिक बीमा र जहाज सेवाहरु स्वीकार गर्ने भारतीय रिफाइनरीहरुलाई ध्यान दिै तेलमाथि नजर राख्ने भारतलाई रुसबाट तेल आयात बढाउन र बिदेशी मुद्राको बहिर्वाहबाट धेरै लाभ प्राप्त हुने सम्भावना देखिएको अर्थबिज्ञहरु औंल्याउँदछन् । दोश्रो कुरा वास्ट्रो खाता खोलिनाले जुन देशहरुका बीच रुपैयाको ब्यापारको सुबिधा प्राप्त हुन्छ त्यसबाट बिदेशी मुदा्र बहिर्गमनमाथिको दबाब पनि कम हुनेछ ।
यसरी अन्ततः आजको यूक्रेन–रुस युद्धले गर्दा रुसी तेलको प्रबाहमा जसरी परिबर्तन आइरहेको छ त्यसले राजनीतिक आर्थिक सम्वन्धमा पनि उलट फेर ल्याउने स्थिति उत्पन्न हुने देखिएको छ । यसले बिश्वमा नयाँ ध्रुबीकरणको स्पष्ट संकत पनि दिन्छ । देशहरुका बीच नयाँ सम्वन्धले बिश्वको पुनर्संरचना हुने प्रष्ट छ । कूटनीति र परराष्ट्र सम्वन्धमा कुशलतापूर्बक चल्न सके यसबाट नेपालले पनि लाभ लिन सक्ने स्थिति बन्नेछ र परनिर्भरताको पासोबाट बाहिर निस्कने आधार पनि तयार हुन सक्दछ ।