श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सातवटै प्रदेशबाट श्रम स्वीकृति सेवा प्रदान गर्ने भएको छ। पौष २४ गतेबाट श्रम तथा रोजगार कार्यालय विराटनगर र जनकपुरबाट संस्थागत र व्यक्तिगत श्रम स्वीकृति प्रदान हुने मन्त्रालयले जनाएको छ। हालसम्श्रम म स्वीकृति सेवा काठमाडौंबाट प्रदान गरिन्थ्यो ।
यसअघि पुनः श्रम स्वीकृति मात्रै हुँदै आएका ती कार्यालयबाट यही पुस २४ गतेदेखि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति पनि प्रदान हुने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिए। उनका अनुसार वैदेशिक रोजगार कार्यालय पोखरा र बुटवलबाट केही समयअघि देखि नै संस्थागत, व्यक्तिगत र पुनः श्रम स्वीकृति सेवा प्रदान हुँदै आएको छ।
मन्त्रालयले एक प्रेस विज्ञप्ति प्रकाशित गरि श्रम स्वीकृति लिनका लागि भौतिक रुपमा कार्यालयमै उपस्थित हुनुपर्ने र विभिन्न झन्झट हुने समस्यालाई हटाउँदै अनलाइनमार्फत नै सबैखाले श्रम स्वीकृति लिन सकिने व्यवस्था भएको जनाउँदै श्रम कार्यालय विराटनगर र जनकपुरबाटसमेत सहज रुपमा सेवा लिन अनुरोध गरेको छ।
कम्प्युटर प्रणालीबाट नै निर्धारण हुने मिति र समयका आधारमा स्वीकृति प्रदान गर्ने प्रणाली भएकाले समयमै आवेदन नदिने र अन्तिम समयमा श्रम स्वीकृति लिन खोज्दा समस्या हुँदै आएको छ। त्यसैले श्रम स्वीकृतिका लागि समयमा नै अनलाइन आवेदन दिएर बिना झन्झट सेवा लिन मन्त्रालयद्वारा प्रकाशित उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ। पछिल्लो समय श्रम मन्त्रालय र यस मातहतका निकायबाट प्रदान हुने सेवालाई छिटो र सरल रुपमा लिन मिल्ने गरि अनलाइन प्रणालीको विकास गरिएको जनाइएको छ।