शनिबार, आश्विन १७ गते २०८३

 अर्थतन्त्र चलायमान बनाउन तीन कुरामा ध्यान दिनुपर्छः अध्यक्ष गोल्छा

पौष २१, २०७९ बिहीबार
 अर्थतन्त्र चलायमान बनाउन तीन कुरामा ध्यान दिनुपर्छः अध्यक्ष गोल्छा


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले रेमिट्यान्स, निर्यात र पर्यटन क्षेत्रबाट विदेशी मुद्रा आर्जन गर्न सके  मुलुकको अर्थतन्त्र  सुध्रिने बताए। आज नेपाल निर्यात परिषद्ले आयोजना गरेको नेपाली निर्यातजन्य वस्तुहरुको प्रदर्शनीमा   बोल्दै अध्यक्ष गोल्छाले रेमिट्यान्स, निर्यात र पर्यटन क्षेत्रलाई चलायमान बनाउन सकेमात्रै मुलुकको अर्थतन्त्र  माथि उठ्ने  बताएका हुन् ।

सरकारले रेमिट्यान्स भित्र्याउने, नेपाली उत्पादित वस्तु विदेशमा निर्यात गर्ने र पर्यटक धेरै भित्र्याएर विदेशी मुद्रा आर्जनका तीन वटै क्षेत्रलाई चलायमान बनाउन जरुरी रहेको  गोल्छाले बताए ।

रेमिट्यान्स मात्रै आएर मुलुकको अर्थतन्त्र सबल बन्न नसक्ने भन्दै उनले निर्यात र पर्यटन क्षेत्रलाई पनि चलायमान बनाउनु पर्नेमा उनको जोड छ । सरकारले विदेशी मुद्रा आर्जनका लागि मौलिक वस्तुको निर्यातका लागि प्रोत्साहन गर्न आवश्यक रहेको  समेत उल्लेख गरे ।

बैंकिङ प्रणालीमा तरलताको अभाव र शोधनान्तर स्थिति कमजोर भएकाले मुलुकको अर्थतन्त्र गम्भीर अवस्थामा पुगेको  बताउदै अध्यक्ष गोल्छाले  अहिले विदेशी मुद्राको आय स्रोत ९० प्रतिशत रेमिट्यान्स मात्रै भएकाले सरकारले निर्यात र पर्यटनमा  ध्यान दिनु पर्ने  जनाए ।

सरकारले निर्यात प्रोत्साहनका लागि नगद अनुदानको व्यवस्था गरेपनि निर्यातकर्ताहरुले सहज रुपमा पाउन नसकेको उनको गुनासो  छ ।

निर्यात परिषद्ले २५औं वार्षिक साधारण सभा तथा निर्यात दिवसको अवसरका दुई दिने नेपाली निर्यातजन्य वस्तुहरुको प्रदर्शनी काठमाडौंको ठमेलमा रहेको छाँया सेन्टरमा सुरु गरेको छ । प्रदर्शनीमा निर्यातजन्य नेपाली उत्पादनका विभिन्न विधालाई समावेश गरिएको छ ।