शनिबार, आश्विन १७ गते २०८३

चालू पुँजी कर्जा मार्गदर्शन भयो संशोधन

पौष २०, २०७९ बुधबार
चालू पुँजी कर्जा मार्गदर्शन भयो संशोधन

नेपाल राष्ट्र बैंकले कार्तिक १ गतेबाट कार्यान्वयनमा ल्याएको चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शनमा संशोधन गरेको छ । 

चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन कार्यान्वयमा आए लगत्तै निजी क्षेत्र त्यसमा आपत्ति जनाउँदै कार्यान्वयन नगर्न दबाब दिँदै आएका थिए । 

राष्ट्र बैंकले उक्त मार्गदर्शन लागू गरेपछि निजी क्षेत्रले विरोध नै गरेको थियो । पछिल्लो समय नेपाल राष्ट्र बैंकले निजी क्षेत्रका उद्योगी तथा व्यवसायी, बैंकिङ क्षेत्रसँग छलफल गरेर संशोधन गरेको हो ।

चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ को पहिलो संशोधन गर्दै सीमाभन्दा बढी लिएको कर्जा ५ किस्तामा तिर्ने व्यवस्था गरेको छ ।

कात्तिक १ गतेभन्दा अगाडि प्रवाह भएका चालु पुँजी कर्जाहरुलाई यो मार्गदर्शन अनुसार पहिलो पटक पुनरावलोकन वा नवीकरण गर्नुपर्दा मार्गदर्शनले तोकेको सीमाभन्दा बढी कर्जा प्रवाह भएमा त्यस्तो रकमलाई २०८२ असार मसान्तसम्म अर्धवार्षिक रुपमा भुक्तानी हुने गरी आवधिक कर्जा शीर्षकमा मिलान गर्नुपर्नेछ ।

त्यसैगरी कुनै पनि ऋणीलाई चालू पुँजी प्रकृतिको आकस्मिक कर्जा एक आर्थिक वर्षमा एक पटकभन्दा बढी आवश्यक परेमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिले निर्णय गर्नुपर्ने छ ।