काठमाडौं । ब्राजिलका चर्चित वामपन्थी नेता लुला डि सिल्भाले राष्ट्रपति पदको शपथ ग्रहण गरेका छन् । तेस्रो पटक ब्राजिलको राष्ट्रपति बनेका उनी दिग्गज तथा लाेकप्रिय वामपन्थी नेताको रुपमा चिनिन्छन् ।
यसअघि उनी सन् २००३ देखि २०१० को बीचमा पनि राष्ट्रपति बनेका थिए । लुला भ्रष्टाचारको आरोपमा जेलसमेत परेका थिए । सन् २०२१ मा उनीमाथि प्रतिशाेधमा गलत आराेपमा दिइएकाे सजाय खारेज गरिएको थियो ।
लुलाले गत वर्षको अक्टुबर महिनाको निर्वाचनमा बहालवाला राष्ट्रपति जायर बोलसोनारोलाई हराएर पुनः सत्तामा फर्किएका थिए । शपथ ग्रहण लगत्तै राष्ट्रपति लुलाले देशको पुनर्निर्माणमा ध्यान दिने अभिब्यक्ति दिएककाे बीबीसीले जनाएको छ । तर सत्ता हस्तान्तरणकाे याे समारोहमा भने बोल्सोनारो सहभागी भएनन् । उनी गत शुक्रबार नै अमेरिका गएका थिए ।
लामो समयसम्म सत्ता बाहिर रहेका लुला शपथ ग्रहण समारोहमा भावुक देखिएका थिए । उनले देशको अवस्था खराब हुनुमा अघिल्लो सरकारको गलत नीति जिम्मेवार भएको बताए ।
लुलाको शपथ ग्रहण समारोहमा उल्लेख्य संख्यामा समर्थकहरुको सहभागिता रहेकाे जनाइएकाे छ । समारोहलाई भव्य बनाउन ६० भन्दा धेरै कलाकारहरुले सांगितिक प्रस्तुती दिएका थिए । दुई ठूला मञ्चहरु विशेष रुपमा सजाइएको थियो ।
समाराहकाे बेला सुरक्षा व्यवस्था पनि निकै कडा बनाइएको थियो । शपथ ग्रहण समारोहलाई बोल्सोनारो समर्थकहरुले विथोल्न सक्ने आशंका कारण प्रहरीले विशेष सुरक्षा प्रवन्ध मिलाएको पनि बीबीसीले जनाएको छ । लुलाको स्वागत समारोहमा चक्कु र पटाकासहित घुस्न खोजेको भन्दै एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । साथै राजधानी ब्राजिलियाको विमानस्थल नजिक इन्धन बोकेको ट्यांकरमा विष्फोटक पदार्थ पनि फेला परेको बताइएकाे थियो ।