राष्ट्रिय उपभोक्ता मञ्चले गैर कानुनी ढंगबाट दूधको मूल्य बढाइएको भन्दै डेरी एसोसिएसन लगायत डेरी उद्योगहरुमाथि कारवाही गर्न माग सरकारसँग माग गरेको छ। दैनिक अत्यावश्यक वस्तुको रुपमा रहेको दूध तथा दुग्धजन्य पदार्थको अचाक्ली मूल्यवृद्धि भएकोतर्फ ध्यानाकर्षण गराउँदै मञ्चले प्रधानमन्त्रीलाई पत्र नै लेखेको हो। पत्रमा नेपाल डेरी उद्योग संघ र संघ आबद्ध डेरीहरुले लिटरमै १४ रुपैयाँ भाउ बढाएकाले उपभोक्तालाई ठूलो आर्थिक भार पर्न गएको उल्लेख छ।
पत्रमा भनिएको छ '२०७८ माघ महिनामा ६० रुपैयाँबाट प्रतिलिटर ८६ रुपैयाँ पुर्याएको एक वर्ष पनि नबित्दै फेरि लिटरमा १४ रुपैयाँ बढाउने निजी क्षेत्रको काम राष्ट्रिय दुग्ध ऐन र नीति नियमविपरीत हो। एक पटक मूल्य बढाएको मितिले कम्तीमा दुई वर्ष मूल्यवृद्धि गर्न नपाउने नियम निजी क्षेत्रले उल्लंघन गरेको छ। यस मूल्यबृध्दिले आम उपभोक्तालाई अत्यन्त ठूलो आर्थिक भार पर्ने निश्चित छ नै यो भन्दा पनि ठूलो कुरा नयाँ सरकारलाई नकारात्मक चुनौती दिने काम समेत गरेको हामीले महसुस गरेका छौं ।'
मञ्चले राष्ट्रिय दूग्ध उत्पादक सहकारी संघ राष्ट्रिय दुग्ध विकास बोर्ड तथा अन्य सरोकारवाला निकायहरुलाई कुनै जानकारी नदिइ एक्कासि नेपाल डेरी उद्योग संघले उपभोक्ता मूल्य प्रतिलिटर १०० रुपैयाँ कायम गर्नुलाई गैरकानुनी भनेको छ। मञ्चले यस मूल्यवृद्धि तत्काल फिर्ता लिन लगाउन र गैरकानुनी काम गरेकोमा आवश्यक कानुनी कारवाही गर्न समेत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ।