शनिबार, आश्विन १७ गते २०८३

मध्यस्थता र मेलमिलापबाट विवाद समाधानलाई सबलिकरण गर्दै लान्छौंः वरिष्ठ न्यायाधीश खतिवडा  

पौष १२, २०७९ मंगलबार
मध्यस्थता र मेलमिलापबाट विवाद समाधानलाई सबलिकरण गर्दै लान्छौंः वरिष्ठ न्यायाधीश खतिवडा  

 

काठमाडौं । नेपाल इन्टरनेशनल एडिआरसेन्टर को आयोजनामा मध्यस्थता र मेलमिलापका माध्यमबाट हुने बिवाद समाधानमा देखिएका समस्याहरु र समाधानका उपायहरुका बिषयमा छलफल कार्यक्रमको आयोजना भएको छ । कार्यक्रममा न्याय तथा कानून, ईन्जिनियरिङ्ग, लेखा तथा ब्यवस्थापन एवं प्रशासनिक क्षेत्रका विज्ञहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश ईश्वर प्रसाद खतिवडाले अदालतले आफ्नो क्षेत्र र जिम्वेवारी पहिचान गरेको बताए । विवाद समाधानका प्रभावकारी  माध्यमहरु मध्यस्थता र मेलमिलापलाई सबलिकरण गर्दै लगिने उनले प्रतिबद्धता ब्यक्त गरे।  सर्वोच्च अदालतका अर्का न्यायाधीश अनिल कुमार सिंन्हाले मध्यस्थता प्रकृयालाई प्रभावकारी बनाउन यसमा देखिएका समस्याहरुमा केन्द्रित भई काम गर्नु आवश्यक रहेको उल्लेख गरे। 

कानून न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका सचिव उदयराज सापकोटोले सरकारका तर्फबाट गर्नु पर्ने प्रयासलाई निरन्तर जारी राखिने बताउनु भयो । कार्यक्रममा आयोजक संस्थाका तर्फबाट उच्च अदालतका पूर्ब मुख्य न्यायाधीश केशरीराज पंडितले  मध्यस्थता र मेलमिलापका क्षेत्रमा गर्नु पर्ने सुधारका क्षेत्रहरु उल्लेख गर्दै मनतब्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रमको अध्यक्षता गर्नु भएका डा। मुक्ति रिजालले कार्यक्रमको उपदेयतामा प्रकाश पार्नु भएको थियो ।  

कार्यक्रममा मध्यस्थतामा देखिएका र समाधान गर्नु पर्ने समस्या र समाधानका उपायहरुमा कार्यपत्र प्रस्तुत गर्दै वरिष्ठ अधिवक्ता मातृका निरौलाले मध्यस्थता र मेलमिलापका बिषयमा अध्ययन र बुझाईको कमी रहेको उल्लेख गरे। मध्यस्थकर्ताहरुले उन्नत र स्तरिय फैसला आउन ठप्प भयो, यसका पछाडि विभिन्न प्राविधिक समस्या रहेको उनको भनाई थियो ।

मध्यस्थतामा देखिएका समस्यातर्फ लक्षित गर्दै मध्यस्थता सत्रको अध्यक्षता गरेका सर्वोच्च अदालतका अनिल कुमार सिंन्हाले प्रस्तोताले औंल्याएका समस्याहरुमा कुनै  दुइमत नरहेको भन्दै नीति परिवर्तनमा भन्दा पनि नीति कार्यान्वयनमा बढी ध्यान दिन पर्ने र सफा नियतका साथ काम गरे कार्यान्वयन पनि सफल हुने जनाए। मध्यस्थता कानुनमा दक्ष सिंन्हाले विदेशमा मध्यस्थताको अभ्यास र हाम्रो देशमा हुने गरेको अभ्यासमा धेरै अन्तर रहेको भन्दै न्यायिक प्रतिष्ठान  मार्फत पनि थप तालिम दिने दिलाउने ब्यवस्था मिलाई भएका समस्या समाधानका लागि सर्वोच्च अदालतले आवश्यक पहल गर्ने आश्वासन समेत दिए । 

news 2.jpg

कार्यक्रमको दोश्रो सत्र मेलमिलापका विषयमा केन्द्रित थियो । त्यसै अवसरमा न्यायाधीश खतिवडाले वरिष्ठ अधिवक्ता डा कुमार शर्मा आचार्यद्वारा लिखित मेलमिलाप सम्बन्धी पुस्तक विमोचनबाट सुरु भएको थियो । मेलमिलापका विभिन्न विधा र वुँदामा केन्द्रित पुस्तक विमोचन पश्चात डा आचार्यले मेलमिलापमा पद्धतिमा देखिएका समस्याहरु प्रस्तुत गरेका थिए । उच्च अदालतका पूर्व मुख्य न्यायधीश  केशरराज पंडितले समस्याको समाधानका उपायहरु प्रस्तुत गरेका थिए ।

आयोजक संस्थाका तर्फबाट पूर्व न्यायाधीश बिनोद प्रसाद शर्माले, आयोजक संस्था राष्ट्रिय तथा क्षेत्रीय रुपमा मध्यस्थता र मेलमिलाप सेवा प्रदान गर्दै आएको, एशिया प्रशान्त क्षेत्रमा स्थापित एशिया प्याशिफिक सेन्टर फर आर्विट्रेशन एण्ड मिडिएशनको संस्थापक सदस्यको हैसियतले समेत काम गरिआएको, तालिम तथा बिभिन्न कार्यशाला संयुक्तरुपमा संचालन गरी आएको, हाम्रा बिशेषज्ञहरु अन्य मुलुकमा गएर सेवा प्रदान गर्न समेत सक्षम रहेको जानकारी गराए । 

सर्वोच्च अदालत बार एशोसिएशनका सचिव ऋषिराम घिमिरे तथा नेपाल बार एशोसिएशनका महासचिव अन्जिता खनालले समस्याको समाधाका लागि सकेको योगदान गर्न प्रतिवद्ध रहेको बताउदै कार्यपत्रमाथि समीक्षात्मक टिप्पणी गरेका थिए । 

कानून मन्त्रालयका सचिव सापकोटाले मध्यस्थता र मेलमिलापको क्षेत्रमा पुराना कानुनी दस्तावेजहरु संशोधनको प्रकृयामा रहेको र संस्थागत व्यवस्थापन गर्न सकृय भई आवश्यक कानूनी सुधारका लागि प्रयत्न गर्ने आश्वाशन दिए ।  कानून न्याय क्षेत्र, इन्जिनियरिङका विभिन्न क्षेत्र, प्रशासन तथा लेखा समेतका क्षेत्रगत विशेषज्ञहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा छलफलमा भाग लिदैँ ई किशोर कुमार झा, राजेश थापा, टुकलाल अधिकारी, तिमिला यमी, राजेश थापा,  वरिष्ठ अधिवक्ताहरु टंक दुलाल, रामकृष्ण काफ्ले डा अवतार न्यौपाने, अधिवक्ताहरु पुर्णिमा गुरागाई लगायतले टिप्पणी गरेका थिए ।