शनिबार, आश्विन १७ गते २०८३

“अर्थतन्त्रको पुनरूत्थान पहिलो प्राथमिकता” – प्रधानमन्त्री

पौष १२, २०७९ मंगलबार
“अर्थतन्त्रको पुनरूत्थान पहिलो प्राथमिकता” – प्रधानमन्त्री

 

नवनियुक्त प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको पुनरूत्थान आफ्नो पहिलो प्राथमिकता रहेको र मन्त्रिपरिषद्को पहिलो बैठकबाट यस सम्बन्धमा विशेष निर्णय समेत भइसकेको जनाएका छन् । 

नवनियुक्त प्रधानमन्त्रीलाइ बधाइ दिन मंगलबार बिहान प्रचण्ड निवास पुगेको नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी प्रतिनिधिमण्डलसँगको भेटमा अर्थतन्त्रको संवेदनशील अवस्थाका सम्बन्धमा निजी क्षेत्रको चासो र चिन्तालाई आफूले सम्मान गर्ने प्रधानमन्त्रीले बताए । 

‘महासंघ अर्थतन्त्र जोगाऔं भन्ने अभियानमा लागेको छ, यति विहानै भेटघाटका लागि आउनु भयो, त्यही विषयमा तपाईहरु चिन्तित हुनुहुन्छ र समस्या समाधानका लागि भनिरहनु भएको छ, सरकारले यसलाई गम्भीर रुपमा लिन्छ’, प्रधानमन्त्रीले भने । 

महासंघकातर्फबाट यसअघि दिइएको सुझाव अध्ययन पनि गरिरहेको र यस विषयमा अर्थमन्त्रालय, राष्ट्र बैंक र निजी क्षेत्रलाई पनि राखेर छिट्टै समस्या समाधानमा पहल गर्ने विश्वास उनले दिलाए । 

प्रधानमन्त्री आफैँ पनि मुलुकको आर्थिक अवस्था, उद्योग व्यवसायको अवस्थाका बारेमा जानकार रहेको र महासंघले यसअघि पनि अर्थतन्त्रको संवेदनशीलताका विषयमा जानकारी गराएको महासंघका अध्यक्ष शेखर गोल्छाले स्मरण गराएका थिए । 

अध्यक्ष गोल्छाले उद्योग व्यवसाय संचालनमा सवैभन्दा बढी समस्याको रुपमा देखापरेको चालूपूँजी कर्जा मार्ग निर्देशन कम्तीमा दुई वर्ष स्थगन गर्न र हाल देखिएको तरलता संकुचनको समस्या समाधान गर्न केन्द्रीय बैंकले सबै मौद्रिक उपकरणको प्रयोग गर्नुपर्ने सुझाव सो अवसरमा राखे ।  अरु विषय भन्दा पनि मुलुकको अर्थतन्त्र अति संवेदनशील अवस्थामा रहेकाले नवगठित सरकारको सिंगो ध्यान अर्थतन्त्रको पुनरुत्थानमा जानुपर्नेमा अध्यक्ष गोल्छाले जोड दिएका थिए ।