
इन्द्रनारायण सुबेदी
घाँटी जोड्न हतार भो अति छिटै सत्ता लिने दाउमा
यौटै भो तन छोडिए परपरै खुट्टा दुबै नाउमा
त्यस्तो कृत्रिम नाटकीय नमुना टिक्दै नटिक्ने कुरा
झुक्याई जब बेचियो पसलमा बिक्दै नबिक्ने कुरा।१।
धन्दा यौन अबैध कर्तुत थियो बेमेलको केवल
हत्या त्यो भ्रुणको सुनिश्चित थियो लाग्दै नलागी फल
आयो त्यो परिणाम बाहिर यता बोकेर कालो दिन
ढुङ्गा पत्थर बालुवा जलधिमा घोलेर घुल्थ्यो किन।२।
एकैसाथ सुहागरात पछिको सम्बन्ध विच्छेदन
आफैँ बाहिरियो बनेर रजनी बोकेर कालो पन
यो अन्भाउन खर्चियौ मुलुकको व्यर्थै उडायौ धन
केमा चित्त बुझाउँछन् र जनता केमा अडिन्छन् मन।३।
के को बैठक बस्तछौ दिनदिनै यो देशको नाउँमा
के माग्छौ मतदान बेसरम भै छिर्छौ यता गाउँमा
के विश्वास दिलाउँछौ मुलुकमा बाँकी अझै के छ र
फाँसीमा चढ भन्छ आज जनता मान्दैन तिम्रो भर।४।
आफ्नै गर्भ तुहाउँछौ र घरमा आगो स्वयं झोस्दछौ
भोकै छन् जनता र गाँस उनको निर्लज्ज भै खोस्दछौ
प्रायश्चित्त गरेर यो मुलुकमा सन्यास लेऊ अब
आफैँ सक्षम बन्दछन् र जनता राख्छन् नयाँ गौरव।५।