शनिबार, आश्विन १७ गते २०८३

सिभिल क्यापिटलको अवस्था नाजुक, साधारणसभामा ३२ मध्ये ६ जना शेयरधनी मात्र उपस्थित

पौष १, २०७९ शुक्रबार
सिभिल क्यापिटलको अवस्था नाजुक, साधारणसभामा ३२ मध्ये ६ जना शेयरधनी मात्र उपस्थित

 

सिभिल क्यापिटलको १४औं वार्षिक साधारणसभा ३२ शेयरधनी मध्ये सञ्चालक ५ जना बाहेक अन्य ३ जना शेयरधनीे मात्र सभामा उपस्थिति भएका छन् । यसरी कम्पनीको वार्षिक साधारणसभामा ६ जना मात्र शेयरधनी उपस्थित हुनुले क्यापिटलको साख गिर्दै गएको छ भन्ने संकेत गर्छ । संस्थाको केन्द्रिय कार्यालय सीटीसी मलमा मंंसीर २९ गते भएको सभामा सिभिल बैंकका अध्यक्ष प्रतापजंग पाण्डे  प्रमुख अतिथि र सिभिल बैंकका सिइओ सुनिल कुमार पोखरेल विशेष अतिथि रहेका थिए । 

क्यापिटलले आर्थिक वर्ष २०७६।७७ मा ५ प्रतिशत लाभांश बाँडेकोमा आ.व. २०७७।७८ मा १५ प्रतिशत लाभांश बाँड्ने क्षमता भएपनि वितरण गरेन । यता आ.व. २०७८।७९ मा भने कम्पनीले नाफा नै कमाउन सकेन । 

गत आवमा कम्पनीले नाफा कमाउन नसक्नुमा कम्पनीको प्रमुख कार्यकारी परिवर्तन मुख्य कारण देखिन्छ । तत्कालिन प्रमुख कार्यकारी अधिकृत झनकराज ढुंगेलले व्यक्तिगत कारण देखाउँदै राजिनामा दिएपछि सिभिल बैंककै एक कनिष्ठ कर्मचारी शोभना घिमिरे हाल क्यापिटलको का.मु. सिइओको रुपमा कार्यरत रहेकी छिन्। जबकी बैंकमा उनीभन्दा क्षमतावान् उच्च तहका सक्षम कर्मचारी प्रशस्त थिए । 

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलको स्वेच्छाचारिता हावी हुनु र बैंकका कम्पनी सचिव हिराकाजी बस्नेतको गलत सल्लाहको शिकार सिभिल क्यापिटल हुन पुगेको छ ।

बैंकले जुनियर कर्मचारीलाई पठाउँदा सिभिल क्यापिटलमा कार्यरत सिनियर स्टाफमा व्यापक गुनासो रहेको कम्पनीका एक पूर्व सञ्चालक बताउँछन् । 

सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ २०७८ आश्विन १८ गते सिआइबीको फन्दामा परेपछि बैंकका सिइओ पोखरेलले आफ्नो निजी कम्पनी सरह बैंक र क्यापिटलमा एकलौटी हालीमुहाली गरिरहेको उनले बताए । 

क्यापिटलकी का.मु. सिइओ बनाइएकी घिमिरे २९ वर्षकी छिन् भने उनको बैंकिङ क्षेत्रको अनुभव ५ वर्ष भन्दा कम रहेको छ । १४ वर्ष अघि स्थापना भएको मुलुककै अग्रणी क्यापिटल मर्चेण्ट कम्पनी चलाउन उनलाई जिम्मेवारी दिइनु नै हास्याँस्पद देखिन्छ । 

बैंक तथा वित्तीय संस्थाको कमाण्ड लिन त्यस क्षेत्रमा न्यूनतम पनि १५ वर्षको अनुभव आवश्यक मानिन्छ । सिइओ पोखरेलको सनकको भरमा एउटा विभागको सहायक भइ काम गरेकी व्यक्तिलाई क्यापिटलको प्रमुखको रुपमा जिम्मेवारी दिनु नै अहिले संस्थाका लागि बिडम्बना बन्न पुगेको कम्पनीका पूर्व सञ्चालकले जिकिर गरे । 

अर्कोतर्फ सिभिल बैंक हिमालयन बैंकसँग मर्जरको अन्तिम घडीमा रहेको छ । सिभिल बैंकले मर्जर हुँदा १००ः८० को स्वाप पाउने जनाइएको छ भने क्यापिटले ६० को स्वाप रेशियो समेत पाउन मुश्किल देखिन्छ । 

त्यसैगरी क्यापिटलको साँवा र ब्याज गरी करिब १३ करोड रुपैया सिभिल सहकारीमा फसेको छ । सहकारीमा मुद्धतीको रुपमा रहेको उक्त रकम फिर्ता नआएसम्म सिभिल क्यापिटलको नेटवर्थ उँभो नलाग्ने पूर्व सञ्चालकले बताए । उनका अनुसार शुरुमा बैंकले क्यापिटल किन्दादेखि नै इच्छाराज तामाङको एकलौटी राज रहेको थियो । शुरुवातमा तामाङ आँफै क्यापिटलको समेत अध्यक्ष थिए । पछि उनी सभासद बन्न पुगे । त्यसपछि आफ्ना विश्वासपात्रलाई अध्यक्षको जिम्मेवारी सुम्पिए । केहि समय अघि त तामाङले आफ्नी श्रीमति सृजना शाक्य (तामाङ) लाई नै अध्यक्ष पद सुम्पेका थिए । 

क्यापिटलमा हाल करिब ३० जना कर्मचारी कार्यरत रहेका भएपनि ७ वर्ष पुराना कर्मचारीहरु प्रायजशो इच्छाराज तामाङका आसेपासे नै रहेका छन् । पारिवारिक सदस्य, राजनीतिक नातागोता र बैंक कर्मचारीका आफन्त मात्र रहेका छन् । 

विगत केहि वर्षयता देखि सक्षम कर्मचारी भर्ना गरिएको भएतापनि पुराना कामचलाउ कर्मचारीले गर्दा काम गर्ने बातावरण नरहेको पाइन्छ । दशपाँच बजाउने र मासिक तलब पचाउने मेसो मात्र क्यापिटलमा कायम रहेको ती सञ्चालकले बताए । 

कार्यवातावरण नै अत्यन्त जीर्ण अवस्थामा रहेको कम्पनीमा हाल न्यून अनुभव र योग्यता नै नभएकी व्यक्तिलाई प्रमुखको जिम्मेवारी दिइएपछि झनै भद्रगोल बढेर गएको त्यहाँका एक पूर्व कर्मचारीले बताए । आफुलाई मन नपरेपछि सक्षम कर्मचारीलाई समेत अनावश्यक मानसिक तनाव दिइ कम्पनी छाड्न बाध्य पारेको ती पूर्व कर्मचारीले बताए । 

क्यापिटलको अहिलेकै व्यवस्थापन रहिरहे केहि महिनामा कम्पनीको आरटीएस व्यवसाय नै चौपट हुने अवस्था आउने देखिन्छ । बाँदरलाई पौडी खेल्न लगाएर माछालाई रुख चढ्न लगाइएको जस्तो अवस्था कम्पनीमा सिर्जना भइसकेको छ  । 

“क्यापिटलका लगानीकर्ताले बेलैमा विचार नगरे कम्पनीको व्यवसाय र व्यवसायिक सम्बन्ध दिनदिनै खस्किँदै जाने अवस्थामा पुगेको छ,” पूर्व सञ्चालक र पूर्व कर्मचारी दुवैले एकै स्वरमा भने ।