शनिबार, आश्विन १७ गते २०८३

गैरकानूनी शेयर कारोवार गरेको ठहर गर्दै धितोपत्र बोर्डले गर्यो न्यौपाने र प्रधानलाई कारवाही

पौष १, २०७९ शुक्रबार
गैरकानूनी शेयर कारोवार गरेको ठहर गर्दै धितोपत्र बोर्डले गर्यो न्यौपाने र प्रधानलाई कारवाही


नेपाल धितोपत्र बोर्डले लगानीकर्ता गुरू प्रसाद न्यौपाने र ज्ञानेन्द्र लाल प्रधानलाई कारबाही गर्ने निर्णय गरेको छ। बोर्डको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले न्यौपाने र प्रधानलाई कारवाही गर्ने निर्णय गरेको हो । 

रिडी हाइड्रोपावर कम्पनीमा अध्यक्ष रहेकै समयमा न्यौपानेले २०७७ चैतदेखि २०७८ भदौको पहिलो सातासम्म कम्पनीको सेयर किनबेच गरेका थिए। त्यस्तै नेपाल हाइड्रोवापर लिमिटेडको अध्यक्ष रहेकै समयमा प्रधानले  आफ्नो श्रीमती बिमला श्रेष्ठ प्रधान, छोरा चेतन प्रधान र छोरी निभिता प्रधानको नाममा रहेको सेयर कारोबार गरेका थिए। 

धितोपत्र दर्ता तथा निस्कासन नियमावली २०७९ अनुसार संगठित संस्थाको सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव वा संगठित संस्थाको व्यवस्थापन वा लेखा सम्बन्धी कार्यमा प्रत्यक्ष रूपले संलग्न व्यक्तिले यस्तो पदमा बहाल रहँदासम्म वा पदबाट अवकाश लिएको एक वर्षसम्म त्यो संस्था वा त्यसको सहायक कम्पनीको सेयर किनबेच तथा हस्तान्तरण गर्न नपाउने कानुनी व्यवस्था रहेको छ । यी पदमा रहने व्यक्तिको आफ्नै वा उसको स्वामित्व रहेको फर्म, परिवारको नाममा रहेको सेयर समेत किनबेच गर्न नपाउने व्यवस्था छ।

यस्तो कसुरमा  २५ देखि ७५ हजारसम्म जरिवाना र कुनै पनि सूचीकृत कम्पनीमा १० वर्षसम्म सञ्चालक समिति लगायतका महत्वपूर्ण पदमा नियुक्ति लिन  नपाइने कानुनी व्यवस्था छ । अपराध भएको आशंका लागेमा धितोपत्र बोर्डले अनुसन्धान अधिकृत तोकेर अध्ययन गराउने व्यवस्था छ। सोही अनुरुप बोडले रिडीमा न्यौपानेले गरेको गरेको कारोबारको अध्ययनका लागि बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी र नेपाल हाइड्रोवापरमा प्रधानले गरेको कारोबारको अध्ययन गर्न कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठलाई अनुसन्धान अधिकृत तोकिएको पाईएको छ । बोर्डको सञ्चालक समितिले ४५ दिन भित्र अध्ययन प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ ।